Logo

कर्णाली सरकारले गर्याे जगदुल्ला जलविद्युत आयोजनामा लगानी, ११ लाख ७१ हजार कित्ता सेयर खरिद

कर्णाली सरकारले गर्याे जगदुल्ला जलविद्युत आयोजनामा लगानी, ११ लाख ७१ हजार कित्ता सेयर खरिद



काठमाडौं । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार ५ सय कित्ता सेयर खरिद गरेको छ ।

प्रदेश सरकारले आयोजनाको ५ प्रतिशत सेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार ५ सय कित्ता सेयरको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युत्को प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए ।

‘गत साउनमै प्रदेश सरकारले आयोजनाको ५ प्रतिशत कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘सेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ ।’ प्रदेश सरकारले प्रतिसेयर १ सयका दरले ११ करोड ७१ लाख ५० हजार रुपैयाँ सेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले बताए ।

प्रदेश सरकारले करिब ३६ करोड रुपैयाँ रकम खर्चनु परेको भन्दै त्यसबाट आउने राजस्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने उनले बताए । उनले भने, ‘आयोजनाले प्रतिदिन १ करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले ५ प्रतिशतका दर ५ लाख रुपैयाँ मासिक रुपमा १ करोड ५० लाख रुपैयाँ कमाउँछौँ ।’ सेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन स्रोत हुने उनको भनाइ छ ।

आयोजना प्रमुख सापकोटाले कर्णाली प्रदेश सरकारले खरिद गरेको सेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताए । आयोजनाको विद्युत्गृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनामा अनुमानित १९ अर्ब ९० करोड रुपैयाँ लगानी हुनेछ भने भने आयोजनाले १ सय ६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL