Logo

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी



काठमाडौं । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । ५६ वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । ‘कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु’, पुनले भने ।

विसं २०७५मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भने जस्तो व्यापार हुन सकेको थिएन । ‘जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम सुरु गरें’, उनले भने, ‘बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।’

गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उनले बताए । ‘कोरोना सुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो’, पुनले जोड दिए, ‘तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो । गत वैशाखदेखि भने राम्रै भएको छ ।’

पछिल्लो समय उनले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आएका छन् । पछिल्लो समय कोइला बेचेर मात्रै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिँदै उनले अहिले तीन मजदुरलाई काम पनि दिएका छन् । ‘कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढि बचत हुन्छ’, पुनले भने ।

उनको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुशी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताए । ‘गाउँमा उद्योग चल्नु गौरवको कुरा हो । जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ’, उनले भने, ‘यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।’

गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताए । दुईवटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाडौँलगायत अन्य सहरमा निर्यात हुने गरेको उनले जानकारी दिए । ‘विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ’ पुनले भने, ‘बजारको कुनै समस्या छैन । पछिल्लो समय त माग धान्नै गाह्रो छ ।’

बजारको माग धान्नका लागि अझै तीनवटा भट्टी थप्ने उनको योजना छ । पाँचवटा भट्टीको कोइला बिक्रीबाट मासिक रु एक लाखभन्दा बढी रकम बचत गर्ने उद्देश्य लिएका पुनले कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरुलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL