Logo

हामीले ‘पहलमान’ धेरै पायौं अब उद्योगी व्यवसायीको समस्या समाधान गर्न ‘हलमान’ चाहिएको छ : उमेशलाल श्रेष्ठ

हामीले ‘पहलमान’ धेरै पायौं अब उद्योगी व्यवसायीको समस्या समाधान गर्न ‘हलमान’ चाहिएको छ : उमेशलाल श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले अहिले उद्योगी व्यवसायीहरु ठूलो समस्यामा परेको र कसैले पनि त्यसको समाधान गर्न चासो नदिएको बताएका छन् । उद्योग वाणिज्य संघ सुर्खेतको ३९ औं वार्षिक साधारणसभालाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै उनले अहिले व्यवसायीको हकहितका लागि काम गर्नु पर्ने नेतृत्व चाहिएको तर महासंघको नेतृत्वले उक्त काम गर्न नसकेको बताए ।

‘हामीले अहिले पहलमान (व्यवसायीका कुनै पनि काम गर्न पहल गरिरहेको छु भनेर आश्वासन दिने) मात्र पाएका छौं तर हलमान (व्यवसायीका समस्या समाधान अर्थात हल गरिन दिने) पाएका छैनौं,’ उनले भने, ‘अहिले व्यवसायीहरु मृत्युको मुखमा पुगेको अवस्थामा सरकार र हामी व्यवसायीहरुको अभिभावक नेपाल उद्योग वाणिज्य महासंघले कुनै चासो दिएन ।’


अहिलेको महासंघ नेतृत्वले विभिन्न मन्त्री, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, राष्ट्र बैंकका गभर्नरलगायतलाई भेटेर पहल गरिरहेको बताएका छन् तर ती सबै आश्वासनमा सिमित भएको छ । ‘हामी उद्योगी व्यवसायीलाई आश्वासन मात्रै चाहिएको होइन,’ उनले भने, ‘अहिले उद्योगी व्यवसायीको समस्या दिनानुदिन जटिल बन्दै गएको छ तसर्थ तत्काल समस्या समाधान हुनुपर्छ ।’

साथै निजी क्षेत्रले बैंकको चर्को व्याजका कारण देह त्याग गरिरहेको अवस्थामा समेत सम्बन्धित निकायले चासो नदिएको उनको भनाई थियो । ‘चर्को व्याज धान्न नसकेर देशभरबाट अहिलेसम्म ४ जना व्यवसायीले देह त्याग गरिसकेको अवस्थामा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ, योभन्दा लाजमर्दो कुरा के हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा हाम्रो महासंघ किन निकम्मा भएर बसिरहेको छ ?’

यसैगरी राष्ट्र बैंकले पनि ठूला र हुनेलाई पोस्ने तर साना मझौला र नहुनेलाई बढी पेल्ने गरेको उनको आरोप थियो । ‘राष्ट्र बैंकले पनि खराब अवस्था वा जोखिममा भएकाहरुलाई निकै महंगो प्रिमियम जोड्ने नीति लिएको र बैंकले त्यस्ता उद्योगी व्यवसायीसँग ७ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ,’ उनले भने, ‘तर राम्रो अवस्थामा भएका र पहुँचवाला व्यवसायीहरुलाई ०.५ प्रतिशत मात्रै प्रिमियको व्यवस्था गरिएको छ जुन एकदमै विरोधाभाष छ ।’ अहिलेको राष्ट्र बैंकको नीतिले गरिबलाई अझ गरिब बनाउने र धनीलाई अझ बढी धनी बनाउने काम गरेको समेत उनको आरोप थियो । सरकारले लिएका यस्ता नीतिले संविधानमा उल्लेखित समाजबादमा कतापि पनि पुग्न नसकिने समेत उनको तर्क थियो ।

साथै जिल्लाहरुले गरेको आन्दोलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले समर्थन र अवरोध केही पनि नहुनेजस्ता विरोधाभासपूर्ण अभिव्यक्ति दिएर जिल्ला नगर उद्योग वाणिज्य संघलाई वेवास्ता गरेको समेत उनको आरोप थियो । यदि महासंघका अध्यक्षले अहिलेको अवस्था दोधारे कुरा गर्ने हो भने उहाँलाई महासंघमा बस्ने कुनै नैतिक अधिकार नभएको समेत उनले बताए । अबका दिनमा उद्योगी व्यवसायीलाई बचाउन समेत व्यवसायीहरु आन्दोलनमा उत्रनुको विकल्प नभएको उनको धारणा थियो ।

यसैगरी देशको अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिने निजीक्षेत्रलाई सरकारले गर्ने व्यवहार सम्मानजनकन नरहेको र साना तथा मझौला उद्योगीहरुलाई बैंकहरुले समेत बढी दुःख दिइरहेको उनले जानकारी दिए । कोभिडको समयमा बैंकलाई समस्या पर्दा व्यवसायीले कर्जा लिएर सहयोग गरेको र अहिले व्यवसायीलाई समस्या पर्दा बैंकले केही सहजता कायम गरिदिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्
MBL