Logo

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा, सात दशमलव एक मेगावाट विद्युत् उत्पादन हुने

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा, सात दशमलव एक मेगावाट विद्युत् उत्पादन हुने



काठमाडौं । जाजरकोटको ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए ।

नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डिपिआर सन् २०१६ देखि सुरु भएको थियो । डिपिआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौंले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो ।

सात वर्षसम्म डिपिआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डिपिआरको ड्राफ्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए । आयोजनाले उक्त ड्राफ्ट अध्ययनपश्चात कन्सलटेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ ।

सुरुमा चार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भनिए पनि अहिले सात दशमलव एक मेगावाट विद्युत् उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझै डिपिआर सकिएको छैन ।

भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डिपिआर सम्पन्न नगर्दा यहाँका स्थानीय आक्रोशित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागे पनि नलगाड जलविद्युत आयोजनाले प्रदेशलाई दिएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ ।

उता ३३ केभी प्रशारण लाइन अन्तर्गत ११ केभी प्रशारण लाइनको सव स्टेशन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुनगइरहेको छ । चौखामा निर्माण हुने उक्त सव स्टेशनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत् आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL