Logo

१५ औं राष्ट्रिय निर्माण दिवस मनाइयो, पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीको सहकार्यमा जोड

१५ औं राष्ट्रिय निर्माण दिवस मनाइयो, पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीको सहकार्यमा जोड



काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक भएको बताएका छन् ।

laxmi

सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने धारणा मन्त्री चौधरीले राखे । १५ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले विहिवार राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको स्विकार गरे ।

भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीहरूलाई सुझाव दिए।

‘व्यवसायीहरूले पाउनु पर्ने रकम निकासा भएको छैन, कानून नै संशोधन गरेर भएपनि यस्तो समस्या समाधान गर्नुपर्छ’ मन्त्री चौधरीले भने। र्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथी भएको बताए ।

मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायीहरू अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको अध्यक्ष सिंहले बताए । ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन’ अध्यक्ष सिंहले भने । विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको उनले बताए ।

अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ थियो । महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखे। सोही अवसरमा मन्त्री चौधरीले महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरे भने महासंघ अध्यक्ष सिंहले मन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए । मन्त्री चौधरी समेत सहभागी भएको बाजागाजासहितको प्रभात फेरि दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुङगिएको थियो ।

१५ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल लगायतले प्रमाणपत्र वितरण गरे । यसैबीच प्रदेश महासंघहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी १५ औं निर्माण दिवस मनाएको महासंघका प्रवक्त समेत रहृका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL