Logo

खाने तेलमा नेपाली ग्राहकमाथि ठगी : अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा बढिहाल्छ, घट्दा भने घट्दैन

खाने तेलमा नेपाली ग्राहकमाथि ठगी : अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा बढिहाल्छ, घट्दा भने घट्दैन



काठमाडौं । पछिल्लो समय विश्व बजारमा हालसम्मकै उच्च रुपमा बढेको खाने तेलको मूल्य ओरालो लागिरहेको छ । गत अप्रिलमा अन्तराष्ट्रिय बजारमा २ हजार ५ सय ३६ डलर प्रतिमेट्रिक टन पर्ने सुर्यमुखी तेल हाल घटेर का १ हजार ५ सय डलर को हाराहारीमा छ । अर्थात पछिल्लो ६ महिनामा मात्रै खानेतेलमा करिव ४० प्रतिशतको गिरावट आएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले पनि गत अप्रिलमा २ सय ५२ पुगिसकेको खातेतेलको मूल्य सूचकांक हाल घटेर १ सय ५० आसपास पुगेको बताएको छ । यता खानेतेलका लागि आवश्यक कच्चा पदार्थ मानिने पिना र बियाँको मूल्य सूचकांकमासमेत पछिल्लो ६ महिनामा करिव ५० प्रतिशत बढीको गिरावट आइसकेको खाद्य पदार्थको मूल्य विश्लेषण गर्ने संस्था फ्रेडले बताएको छ ।

विश्वभर फैलिएको कोरोना महामारी र यसले निम्त्याएको उत्पादन संकुचनले विश्व बजारमा नै खानेतेलको अभाव भएको थियो । त्यसमाथि खानेतेलेको प्रमुख कच्चापदार्थ सुर्यमुखी र तोरी उत्पादन गर्ने दुई प्रमुख राष्ट्र युक्रेन र रुस युद्धमा होमिँदा विश्वभर यसको अभावको डरले गत अप्रिल महिनामा विश्वभर खानेतेलको मूल्य कीर्तिमानी उचाईमा पुगेको थियो । त्यसताका नेपालमा पनि तेल उत्पादकहरुले बाहिरबाट कच्चापदार्थ मगाउँदा महंगो भएको भन्दै खानेतेलको मूय प्रतिलिटर साढे ३ सय रुपैयाँसम्म पुर्याएका थिए ।

तर, त्यसपश्चात पुनः बजारमा खानेतेलको मूल्य विस्तारै ओरालो लागिरहेको छ । ब्राजिल, अर्जेन्टिना, इन्डोनेसियालगायतमा देशहरुमा तेलहनको उत्पादनमा वृद्धि, युद्धको न्युन त्रासलगायतका क्रियाकलापले विश्वबजारमा खानेतेलको मूल्य लगातार घटिरहेको छ । तर, नेपालमा भने उपभोक्ताले त्यसको महशुस गर्न पाएका छैनन् । अर्थात नेपाली उपभोक्ताहरु पहिलेकै जसरी उच्च मूल्य तिरेर खानेतेल उपभोग गर्न बाध्य छन् । तेल उत्पादकहरुले मूल्य बढेकै बेलाको कच्चापदार्थ भन्दै महंगो मूल्यमा नै बजारमा खानेतेल पठाइरहेका छन् ।

विश्वबजारमा तोरी, भटमास, सुर्यमुखीलगायतका गेडाको मूल्य ओरालो लागेसँगै प्रशोधित तेलको मूल्य पनि घटेको थियो । नेपालमा दशैं अघिसम्म प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म तेलको मूल्य घटाएर विश्वबजारको मूल्यको झल्को दिएका उद्योगीहरुले पुनः बजारमा तेलको मूल्य बढाएर पठाइरहेका छन् । जसका कारण उपभोक्ताहरु महंगो मूल्य तिरेरै तेल उपभोग गर्न बाध्य छन् । पछिल्लो समय बजारमा भटमासको तेल प्रतिलिटर २ सय ४५ देखि २ सय ५० रुपैयाँसम्ममा विक्री भइरहेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् । यो मूल्य आजभन्दा ६ महिना अघिकै मूल्य हो ।

अर्थात विश्वबजामा खाना पकाउने तेलको मूल्य उच्च पुगेको गत जेठ महिनामा नेपालमा यहि मूल्यमा तेल विक्री भइरहेको थियो । उनका अनुसार उद्योगबाटै तेलको मूल्य महंगो परेपछि खुद्रा व्यापारीहरु पनि महंगो मूल्यमै तेल बेच्न बाध्य हुनुपरेको छ । यता उद्योगीहरुले भने नेपालमा अझै खानेतेलको मूल्य घटाउने संकेत दिएका छैनन् ।

राष्ट्रसंघका अनुसार तेलहत उत्पादन गर्ने विभिन्न राष्ट्रहरुमा आगामी बर्ष तेलहनको उत्पादन उच्च हुनेछ । जसमध्ये आगामी बर्ष अर्थात २०२३ मा विश्वभर भटमासको उत्पादन मात्रै ३३ लाख टनले बढ्ने अपेक्षा गरिएको छ । यस्तै यस अवधिमा ब्राजिल, अर्जेन्टीना, पाराग्वे, उरुग्वेलगायतका देशहरुमा पनि भटमासको उत्पादन ३२ लाख टनले वृद्धि हुने बताइएको छ । खासगरी यी देशहरु भटमास उत्पादनका लागि प्रख्यात छन् ।

यस्तै तेलहनको उत्पादनसँग विश्वबजारमा पिनाको उत्पादन बढ्ने र खानेतेलको मूल्यमा क्रमानुगत गिरावट आउने राष्ट्रसंघको प्रक्षेपण छ । तर, नेपालमा भने खानेतेलको मूल्यमा विश्वबजारको प्रभाव देखिनेमा व्यापारीसमेत शंकित छन् । विश्वबजारमा पछिल्लो समय लगातार खानेतेलको मूल्य घटिरहेको भएपनि नेपालका उद्योगीहरुले भने त्यसो नगरेको खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् । उनका अनुसार विश्वबजरमा खानेतेलको मूल्य घटेको रेसियोमा नेपालमा घटेको छैन । ‘गत बैशाख जेठको तुलनामा नेपालमा पनि केही हदसम्म त खानेतेलको मूल्य घटेकै हो,’ उनले भने, ‘तर, जति घट्नुपर्ने हो त्यति घटेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL