Logo

सुकुम्बासी बस्ती हटाउने बालेनको कदममा प्राधिकरणको साथ, ३५ दिनभित्र हटाउन निर्देशन

सुकुम्बासी बस्ती हटाउने बालेनको कदममा प्राधिकरणको साथ, ३५ दिनभित्र हटाउन निर्देशन



काठमाडौं । पछिल्लो समय थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने कदमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) चर्चामा छन् । यसअघि ४५ दिनको म्याद दिएर हट्न आग्रह गरेसँगै सुकुम्बासीले नमानेपछि डोजर लिएरै महानगरले सुकुम्बासी बस्ती हटाउने प्रयास गर्याे । तर, सुकुम्बासीहरु उनको यो कदमको अवज्ञा गर्दै हिंस्रक भए ।

केहि बाधा भएपनि महानगर सुकुम्बासी बस्ती हटाउने पक्षमा हुँदैगर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि महानगरलाई साथ दिने भएको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै खोलानाला अतिक्रमण गरी बनाएका घरटहरा, सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन निर्देशन दिएको छ ।

३५ दिनको म्याद राखेर दिईएको निर्देशनमा काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने उल्लेख छ ।

अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत उक्त निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL