Logo

उच्च निर्यात हुने वस्तुको ३३ औं स्थानमा यार्सागुम्बा, तीन महिनामा २३ करोडको निर्यात

उच्च निर्यात हुने वस्तुको ३३ औं स्थानमा यार्सागुम्बा, तीन महिनामा २३ करोडको निर्यात



काठमाडौं । नेपालको उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बाको विश्वव्यापी माग बढ्दो छ । जसका कारण पछिल्लो समय नेपाली यार्सागुम्बाको निर्यात बढदै गएको छ । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट हुने यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा मात्रै २३ करोड ४८ लाख ८९ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको छ ।

laxmi

यो परिमाण गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव १० करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालबाट विभिन्न देशमा १३ करोड ४९ लाख १४ हजार रुपैयाँ बराबरको २ सय १८ किलो यार्सागुम्बा निर्यात भएको थियो । चालु आवको ३ महिनामा भने नेपालले ३ सय ८२ किलो यार्सागुम्बा निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यससँगै चालु आवको पहिलो ३ महिनामा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको ३३ औं स्थानमा यार्सागुम्बा परेको छ ।

बहुमूल्य जडिबुटी मानिने यार्सागुम्बा नेपाल भारत, भुटानसहित तिव्वतको ३ हजारदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइन्छ । नेपालका दार्चुला, डोल्पा, मुगुलगायतका जिल्लामा पाईने यो जडिबुटी संकलनका लागि उक्त क्षेत्रका मानिसहरु घर छोडेर १ महिनासम्मै लेकतिर बस्ने गर्छन् । जिविकोपार्जनको आधार नै यार्सागुम्बा हुने भएकाले सम्बन्धित स्थानका बुढापाका, बालबालिका, वयस्क सबै विद्यालय बन्द गरेरसमेत संकलनका लागि लेकतिर लाग्छन र संकलन गरेर बेच्छन् । यसरी संकलन गरेको यार्सागुम्बा नेपालबाट कम्बोडिया, हंगकंग, भियतनाम, अमेरिका, मलेसियालगायतका देशमा निर्यात हुन्छ ।

भन्सार विभागको तथ्यांकलाई हेर्दा पछिल्लो ३ महिनामा नेपालबाट हंगकंगमा सबैभन्दा बढी यार्सागुम्बा निर्यात भएको देखिन्छ । यस अवधिमा नेपालले हंगकंगमा मात्रै ९ करोड ९५ लाख रुपैयाँ बराबरको १ सय ५८ किलो यार्सागुम्बा पठाएको छ । यस्तै कम्बोडियामा ८ करोड ७५ लाख ४६ हजार रुपैयाँ बराबरको १ सय ३८ किलो यार्सागुम्बा पठाईएको भन्सार विभागले जानकारी दिएको छ ।

यस्ता जडिबुटी भन्सार पास गर्दा वन पैदावारसम्बन्धी अनुमतिपत्र भएपछि मात्रै जाँचपास गरिने विभागका सूचना अधिकारी पुण्ड्य विक्रम खड्काले बताए । बैशाखदेखि साउन अन्तिमसम्मलाई यार्सागुम्बाको सिजन मानिन्छ । यो सिजन फलदायी भएकाले अन्य बर्षको तुलनामा यो बर्ष पहिलो ३ महिनामै यार्सागुम्बाको निर्यात बढेको उनको भनाई छ ।

गत आर्थिक बर्षभर नेपालबाट विभिन्न देशमा जम्मा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँ बराबरको ५ सय ३ किलो यार्सागुम्बा निर्यात भएको थियो । अर्थात गत बर्षभर चालु आवको ३ महिनामा निर्यात भएको यार्सागुम्बाभन्दा जम्मा ७ करोड रुपैयाँ मात्रै बढीको निर्यात भएको थियो ।

यता अघिल्लो आर्थिक बर्ष २०७७-७८ मा भने नेपालले १५ करोड ७६ लाल २४ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेकोमा आव २०७६-७७ मा २० करोड २२ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको थियो । त्यस्तै त्यसको अघिल्लो आव अर्थात आव २०७५-७६ मा नेपालले १७ करोड ९४ लाख र २०७४-७५ मा १३ करोड २८ लाख रुपैयाँ बराबरको यार्सागुम्बार निर्यात गरेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रको तथ्यांकअनुसार नेपालबाट सबैभन्दा बढी यार्सागुम्बा हंगकंग र कम्बोडियासँगै भियतनाम, अमेरिका र मलेसियामा पनि निर्यात हुन्छ । तथ्यांकअनुसार हालसम्म नेपालले १४ देशसँग यार्सागुम्बाको निर्यात व्यापार गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा पहिलो पटक यार्सागुम्बाको संकलन पोलुनिन् साइकस र विलियम्स्ले सन १९५२ मा जुम्लाको चाकुरे लेकबाट गरेका थिए । त्यसपछि जडीबुटी विभाग, थापाथली र निर्मलकुमार भट्टराईले मुगुबाट यसको संकलन गरेको एक अध्ययनमा देखिएको छ । डोल्पामा वि.सं. २०४५ देखि यार्सागुम्बाको कारोवार हुन थालेको हो । त्योभन्दा पहिला स्थानीय वासिन्दालाई यसबारे खासै थाहा थिएन । वि.सं. २०४५ तिर यार्सागुम्बा प्रति किलो ७ सय रुपैयाँमा विक्री हुने गथ्र्याे ।

२०६६ सालतिर अन्तरराष्ट्रिय बजारमा यार्सागुम्बाको मूल्य एक्कासी आकासिन पुग्यो । त्यतिखेर यार्सागुम्बाको मूल्य प्रति किलो २ लाख देखि साढे ३ लाखसम्म पुग्यो । यो मूल्यले गर्दा स्थानीयवासीहरु यार्सागुम्बा संकलनको लागि निकै आकर्षित भए । त्यसयता प्रत्येक वर्ष जेठ र असार महिनामा हजारौं मानिसहरु यसको संकलनमा लाग्ने गरेका छन् । अझ कतिपय गाउँहरुमा छोराछोरीसहित गाउँलेहरु सबै नै यार्सागुम्बा संकलन गर्न लेकतिर जाँदा थुप्रै विद्यालयहरु यार्सागुम्बाको सिजनमा विद्यार्थी शून्य भई बन्द हुने गरेका छन् ।

नेपाल सरकारले बेलाबेलामा यसको संकलन र पैदावारमा रोक लगाउँदै आएपनि २०५८ मा वन नियमावलीमा संशोधन गरी यार्सागुम्बाको संकलन, ओसारपसार र प्रयोगमा फुकुवा गरियो । त्यसबेला यार्सागुम्बाको व्यापार फुकुवा मात्रै नभइ प्रति किलो २० हजार रुपैयाँका दरले राजस्वसमेत तोकियो । यद्यपि, यार्सागुम्बाको प्रशोधनको व्याख्या स्पष्ट नभएको हुँदा २०६१ मा विना प्रशोधन पनि विदेश निर्यात गर्न पाइने व्यवस्था कायम गरियो । २०६२ मा यार्सागुम्बाको राजस्व घटाएर प्रति किलो १० हजार कायम गरियो । पुनः २०७२ कार्तिकदेखि लागू हुने गरी हाललाई यार्सागुम्बाको राजस्वको दर प्रतिकिलो २५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित व्यक्तिले संकलन भएको यार्सागुम्बा भन्सार पास गर्नेबेलामा प्रतिकिलो २५ हजार रुपैयाँका दरले राजस्व तिरेर भन्सार जाँचपास गर्नुर्छ । विश्व बजारमा यार्सागुम्बा प्रतिकिलो २ लाख ५० हजारदेखि २५ लाख रुपैयाँसम्म विक्री हुनेगरेको तथ्य फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL