Logo

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति



काठमाडौं । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिए।

महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उनले बताए । आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ ।

लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर जलेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL