Logo

बैंकको किस्ता तिर्ने समय सार्न होटल संघको माग, संचालन खर्च धान्नै कठिन

बैंकको किस्ता तिर्ने समय सार्न होटल संघको माग, संचालन खर्च धान्नै कठिन



काठमाडौं । होटल संघ नेपालले बैंकको ब्याजदर र किस्ता तिर्ने समय सार्न माग गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै संघले पछिल्लो समय घटेको पर्यटन आवागमनका कारण संचालन खर्च नै धान्न मुस्किल भएपछि बैंकको किस्ता र ब्याज तिर्न गाह्रो भएको बताएको हो । संघले विज्ञप्तिमा पर्यटन गतिविधिमा आएको ह्रासकै कारण होटलको संचालन खर्च नै धान्न नसकिने अवस्थामा बैंकका ब्याज र किस्ता तिर्न नै धौ धौ भएको बताएको छ ।

laxmi

कोरोना महामारीका कारण तहसनहस भएको होटल तथा पर्यटन उद्योगमा केहि सहजता देखिएपनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको विज्ञप्तिमा उल्लेख छ । जसका कारण व्यवसायीहरुले दैनिक रूपमा घाटामा होटल सञ्चालन गरिरहनु परेको विज्ञप्तिमा जनाईएको छ । ‘सन् २०१९ मा झन्डै १२ लाखको सङ्ख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन सकेको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

संघका अनुसार कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रूपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पुर्‍याएको छ । यसमाथि पर्यटक बढी आउने यस समयमा आसन्न निर्वाचनले समेत परोक्ष रूपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने निश्चित छ ।

चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागिपरेको भए तापनि राज्यबाट कुनै सुनुवाइ नभएकोले व्यवसायीलाई समस्या भएको जनाएका छन् । व्यवसायीहरू स्वयम् सरोकारवाला मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य निकायमा दिनहुँ पहल गरी विभिन्न सुझावहरू प्रस्तुत गरी निरन्तर पुनरुत्थानको लागि प्रयासरत रहेको जनाएका छन् ।

‘आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले हामीलाई बैंकको बढ्दो ब्याजदर र समय सीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता नै हो । अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समय सीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनःतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ’, संघले भनेको छ ।

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरू जारी रहेकोले हालको समयमा पनि निरन्तरता दिइनुपर्ने व्यवसायीको माग रहेको छ । यसका साथै बैंकहरुबाट लागू गरिएको हालको बढ्दो ब्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने होटल व्यवसायीको माग छ ।

संघले भनेको छ, ‘पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरूले सार्वजनिक रूपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको छ । यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरूले पनि भोग्नुपरेको हुँदा माथिका विषयहरू राज्यबाट अविलम्ब सम्बोधन नहुने हो भने होटल उद्योगहरु बैंकको साँवा र व्याज बुझाउन नसकेर क्रमिक रूपमा बन्द गरिनुपर्ने बाध्यता आएको हुँदा बैंकको साँवा व्याज भुक्तानीको समय सीमा बढाउन माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL