Logo

लामो समयदेखि बन्द रहेको बैतडीकाे हवाई सेवा पुनः सञ्चालनमा, समिट एयरले नियमति उडान गर्ने

लामो समयदेखि बन्द रहेको बैतडीकाे हवाई सेवा पुनः सञ्चालनमा, समिट एयरले नियमति उडान गर्ने



काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो ।

यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । असोज ८ गतेदेखि शनिबार नियमित रुपमा उडान हुने भट्टको भनाइ छ ।

“दसैँ तिहारको बेला यात्रु नियमित चाप हुन्छ”, उनले भने, “असोज ८ गते शनिबार यहाँ फ्लाइट हुने जानकारी आएको छ, त्यसपछि नियमित रुपमा उडान हुन्छ ।” यसअघि बिहीबार हुँदै आएको हवाइ सेवा असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको छ ।

नियमित रुपमा यहाँ हवाई उडान हुने भएपछि यहाँ नागरिक खुसी भएका छन् । हवाई उडान नियमित हुँदा आकस्मिक रुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान सहज हुने स्थानीय कपिल केसीले बताए । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा ८ घण्टा लाग्ने गर्दछ । यसअघि यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भए पनि अब नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

बैतडी–धनगढी हवाई भाडा अबदेखि रु पाँच हजार कायम गरिएको छ । यसअघि रु चार हजार छ सय रहेको थियो । गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा रु चार हजार छ सय थियो । बैतडीबाट धनगढी १७ मिनेटमा पुगिन्छ ।

हवाइ कम्पनीले तोकेको भाडा महँगो भएको यात्रुहरुको गुनासो गरेका छन् । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागरथी भट्टले बताए । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनःसञ्चालनमा आएको हो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाई सेवा सुरु भएको थियो । पछि विसं २०५२ देखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL