Logo

महानगरले विद्युत प्राधिकरणलाई थमायो २६ करोड १९ लाख कर विवरण, दुई महिनामा ९५ करोड राजस्व असुल

महानगरले विद्युत प्राधिकरणलाई थमायो २६ करोड १९ लाख कर विवरण, दुई महिनामा ९५ करोड राजस्व असुल



काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई करको नयाँ विवरण पठाएको छ । यसअघि १४ करोड रुपैयाँको मात्रै विवरण देखाएको महानगरपालिकाले पुनः कुल २६ करोड १९ लाख रुपैयाँ बराबरको कर तिर्नका लागि ताकेता गर्दै विवरण थमाएको हो ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक संस्थाहरुले १० दिनभित्रै बुझाउनुपर्ने सम्पत्ति कर तिर्न १७ संस्थालाई ताकेता गरेको थियो । जसमा नेपाल विद्युत प्राधिकरण पनि परेको थियो । अन्य केही संस्थाले महानगरपालिकालाई तिर्नुपर्ने कर तिरेपनि प्राधिकरणले भने हिसाव मिलान बाँकी रहेको भन्दै हालसम्म तिरेको छैन ।

प्राधिकरणले २०७१ सालदेखि महानगरापालिकाले सडकमा बालिरहेको सडक बत्तीको शुल्क हालसम्म नपाएको दावी गरेको छ । तर, महानगरपालिकाले भने सडक बत्तीको एकिकृत शुल्कको विवरण बुझाए पैसा बुझाउने बताइरहँदा प्राधिरकणले विवरण हालसम्म बुझाउन सकेको छैन । यसै विषयमा विवाद हुँदा न महानगरपालिकाले प्राधिरकणलाई शुल्क तिर्न सकेको छ न प्राधिकरणले महानगरपालिकालाई कर तिरेको छ ।

महानगरपालिकाका अुनसार नेपाल विद्युत प्राधिकरणले महानगरपालिकालाई २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणले महानगरलाई तिर्नुपर्ने सम्पत्ति कर २०४९÷५० सालदेखि नै तिरेको छैन । हालसम्मको हिसावलाई हेर्दा महानगरलाई प्राधिकरणले तिर्नुपर्ने रकम २६ करोड १९ लाख रुपैयाँ पुगेर सोही विवरण पठाएको महानगरपालिका राजश्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । उनका अनुसार सरकारले जसरी पनि कर उठाउनुपर्ने हुनाले प्राधिकरणले महानगरपालिकालाई कर तिर्नैपर्छ । तर, प्राधिकरणले पाउनुपर्ने विद्युत महशुलको बारेमा भने एकपटक छलफल गर्नुपर्ने उनको भनाई छ ।

सबै क्यासिनोले तिरे राजश्व

काठमाडौँ महानगरपालिकाले ७ दिनभित्र कर बुझाउन ७ क्यासिनोलाई भदौमा ताकेता गरेको थियो । त्यसयता सबै क्यासिनोले आफुले तिर्नुपर्ने कर बुझाइसकेको महानगरपालिकाका राजश्व विभागका निर्देशक अधिकारी बताउँछन् ।

उनका अनुसार एक हप्ताको अल्टिमेटम दिएपछि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले कर बुझाएका हुन् । यी क्यासिनोहरुले आर्थिक वर्ष २०७५÷०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको गरिएको थियो ।

२ महिनामा ९५ करोड राजस्व असुल

महागरपालिकाले चालु आर्थिक बर्षको पहिलो २ महिना, साउन र भदौ महिनाभरी ९५ करोड बढी कर उठाएको बताएको छ । महानगरापलिकालाई कर तिर्न अटेर गर्ने विभिन्न संघसंस्थालाई ताकेता गरेपछि यतिसम्म कर उठेको राजस्व विभागका निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार यो राजस्व गत आर्थिक बर्षको पहिलो २ महिनाको तुलनामा बढी हुन आउँछ । तर, हालसम्म एकीकृत तथ्यांक नआईसकेकाले यति नै बढी हो भनेर भन्न नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL