Logo

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी, नौ जनामा सङ्क्रमण पुष्टि

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी, नौ जनामा सङ्क्रमण पुष्टि



काठमाडौं । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

laxmi

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा सङ्क्रमण देखिएको हो । साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको हो । यहाँ परीक्षण गर्दा नमूनामा सङ्कास्पद देखिएपछि नमूनालाई काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार सङ्क्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालको सघन उपचार उपचार भइरहेको छ । माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको उनले जानकारी दिए । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको प्रमुख चापागाईंले बताए । हाल उक्त रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् । देशभर सङ्क्रमितको सङ्ख्या ४५ छ । उनका अनुसार बागमती प्रदेशमा यो सङ्ख्या १८ पुगेकामा नौ जना चितवनमा देखिएको हो ।

सन् २०२० र २०२१ मा जिल्लामा यो सङ्ख्या एक एक जना थियो । सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य सङ्गठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानितभन्दा बढी जापानीज इन्सेफ्लाइटिसका बिरामी देखिएमा त्यसलाई महामारी भन्ने गरेको छ ।

नेपालको इतिहासमा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो । सन् २००४ मा देशव्यापी रुपमा खोजपडताल अभियान गरिएको थियो । सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय रुपमा अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम (क्याम्पियन) गरिएको थियो । सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाइँदै आइएको छ । रोग देखिएका बिरामीमध्ये एक तिहाईको निको हुने, एक तिहाई अपाङ्ग हुने र एक तिहाइको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ ।यो रोग अप्रिल÷मे देखि सेप्टेम्बर/अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए । मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।

अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिएयो । क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।

जापानीज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावरलाई व्यस्थित ढङ्गले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL