Logo

अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन, व्यापारी भने दशैँमा व्यापार हुनेमा ढुक्क

अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन, व्यापारी भने दशैँमा व्यापार हुनेमा ढुक्क



काठमाडौं । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँए पनि भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ ।

laxmi

सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले भने, “ खुला बजारमा दशैँका लागि किनमेल गर्नेको चहल पहल छैन । विभिन्न अवरोह पार गर्दै अहिले परिवार पाल्न सक्ने अवस्थामा व्यापारी छन् । व्यापारी उत्साहित नै छन् ।”

दैनिक २० देखि ३० हजार ग्राहक आउने बजारमा विशेषगरी दशैँ आउन १५ दिन बाँकी हुँदामात्रै व्यापार सुरु हुने उहाँको तर्क छ । गत दुई वर्ष कोरानाका कारण खासै धेरै चहलपहल नभए पनि यस वर्षको दशैँमा व्यापार हुनेमा उनी ढुक्क छन् ।

पछिल्लो वर्ष हरेक सामानको मूल्यवृद्धि भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले कच्चा पदार्थको मूल्य बढ्नुको असर सामानमा परेको स्पष्ट पारे। उनले भने“ सवारीसाधन पार्किङस्थल नहुँदा व्यापारमा असर परेको छ । बजारमा शौचालय अपुग छ । ”

काठमाडौँको पुरानो खुद्रा बजारका रूपमा परिचित सो खुला बजारका अधिकांश व्यवसायी उपत्यका बाहिरका छन् । साना व्यवसायीले थोरै पूँजीबाट जीविकोपार्जन गर्दै आएका छन् । विगत तीन वर्ष कोरोना महामारीले गर्दा व्यापार नभए पनि अहिले भने व्यापारले गति लिएको १२ वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका सूर्य पौडेलले बताए । “व्यापार नभएर कोरोनाकालमा परिवार पाल्नै मुस्किल थियो, अहिले भने व्यापारले गति लिएको छ ।” उनले भने, “अब चाडबाड नजिक आए व्यापार धेरै हुनेमा उत्साहित छौँ ।”

पछिल्लो वर्षमा चीनबाट सामान आयात नहुँदा पनि व्यवसायमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । अहिले नेपालमै उत्पादन भएका कपडा ग्राहकलाई बिक्री गरिरहेको र ग्राहकले मन पराइरहेको पनि व्यारीको भनाइ छ । कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने खुला बजारमा एक हजार २ सय ६५ ‘स्टल’ छन् भने अधिकांश व्यापारीले दुई स्टल प्रयोग गर्दै आएका छन् । बजारभित्र आठ सय ४४ पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित छन् । स्टल भाडासँगै व्यवसायीले सरसफाइ, बिजुली र सुरक्षाको पैसा पनि तिर्नुपर्छ । बजारभित्र कपडा, जुत्ताचप्पल, कस्मेटिक, भाँडाकुँडा, खेलौना, झोला, रेडिमेड कपडालगायतका व्यवसाय सञ्चालनमा छन् ।

लामो समय कोरोना महामारीले भृकुटीमण्डप बजार पनि सुनसान बनेको थियो । व्यवसायीको राहतका लागि समाज कल्याण परिषद्ले एक महिनाको भाडा पनि छुट दिएको थियो । व्यवसायीले प्रत्येक महिनाको स्टल भाडा समाज कल्याण परिषद्लाई र हरेक वर्ष काठमाडौँ महानगरपालिकालाई कर तिर्दै आएका छन् । महानगरलाई प्रत्येक व्यापारीले रु तीन हजार आठ सयदेखि सात हजार पाँच सयसम्म कर तिर्दै आएको उपाध्यक्ष पौडेलले जानकारी दिए । उनले भने, “हाम्रो बजारमा कुनै पनि बेरुजु छैन, हरेक महिनाको १५ गतेभित्र भाडा समाज कल्याण परिषद्लाई तिर्दै आएका छौँ ।” मध्यम तथा निम्न वर्गले किनमेल गर्ने बजारलाई थप व्यवस्थित गर्न २४सै घण्टा सुरक्षागार्ड पनि खटाइएको छ । सुरक्षागार्डलाई पनि निम्न वर्गीय व्यवसायीले नै तलब सुविधा दिँदै आएका छन् ।

परिषद्ले बजारलाई सुन्दर र व्यवस्थित गर्न सेमी परमानेन्ट (ढलानसहितको जस्तापाताले छाउने) यसअघि नै निर्णय गरिसकेको छ । तर कामले भने अझै गति लिन सकेको छैन । बजारलाई सेमी परमानेन्ट गर्न सुरु गरेर उद्घाटनसमेत गरिएको भए पनि अर्थाभावले काम अघि बढ्न नसकेको परिषद्का प्रशासन प्रमुख तथा सूचना अधिकारी सञ्जयकुमार मल्लिकले जानकारी दिए ।

“पालमुनि लामो समय बस्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था हेरेर परिषद्ले स्टल बनाउने विगतमा नै निर्णय गरिसकेको छ, त्यसको उद्घाटनसमेत भइसकेको छ”, उनले भने । अब नीति तथा कार्यक्रमअन्तर्गत बजेट भए काम अघि बढाउने परिषद्को योजना रहेको उनले बताए । सूचना अधिकारी मल्लिकले बजारमा ढल व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै तत्काल बजारको व्यवस्थापन गर्न तीन–चारवटा परिषद्ले योजना बनाएको सुनाए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL