Logo

पश्चिम सेती र सेती नदी एसआर६ परियोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर, लगानी बोर्डले आवश्यक सहजीकरण गर्ने

पश्चिम सेती र सेती नदी एसआर६ परियोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर, लगानी बोर्डले आवश्यक सहजीकरण गर्ने



काठमाडौं । पश्चिम सेती र सेती नदी एस आर ६ परियोजना सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसीबीच उक्त सम्झौता पत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले नेपालका प्रधानमन्त्री, उर्जा मन्त्री, अर्थ मन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, सुदूरपश्चिमका मुख्यमन्त्रीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले उक्त परियोजना सुदुरपश्चिम सहित देशकै आर्थिक समृद्धि र विकास लागि कोषे ढुङगा सावित हुने बताए । यसका साथै उनले पश्चिम सेती जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सबैको साथ जरुरी रहेको बताए ।

समझदारीपत्र अनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी ६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।

एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिंहले पश्चिम सेती निर्माणका लागि बिहिबार भएको सम्झौता ऐतिहासिक भएको बताएका छन । उनले भने एनएचपीसी जलविद्युत आयोजना विकासमा अनुभवी कम्पनी भएकाले समयमै काम सक्ने छ । यसका लागि सबैको साथ जरुरी रहेको उनको जोड थियो । लगानी बोर्डका सीईओ भट्टले जलविद्युत आयोजना सम्वन्धी अनुभवी कम्पनी एनएचपीसीले यी आयोजना समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन ।

समझदारीपत्र अनुसार सर्वेक्षण अनुमति पाएको दुई वर्ष भित्र वित्तीय स्रोतको उपलब्धता, बजार सुनिश्चितता, परियोजनाको अनुमानित लागत अनुमान, परियोजना कार्यान्वयनको तरिका वारे विस्तृत अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने समझदारीपत्रका विशेषता रहेका छन ।

परियोजना विकास सम्झौताको निम्ति दुई पक्षबीच वार्ता हुने र लगानी बोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने एमओयुमा उल्लेख भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL