Logo

उधारोको सामान सस्तोमा बेचेर व्यापारी भाग्दा डिलर र होलसेलर तनावमा : हराउँदै विश्वासको वातावरण, प्रहरीमा सयौ उजुरी

उधारोको सामान सस्तोमा बेचेर व्यापारी भाग्दा डिलर र होलसेलर तनावमा : हराउँदै विश्वासको वातावरण, प्रहरीमा सयौ उजुरी



काठमाडौं । कोरोनापछि पनि आर्थिक गतिविधि चलायमान नहुँदा व्यापारीहरु भाग्ने क्रम बढेको छ । केही ठूला व्यापारीहरुले क्यापिटल फ्लाइट गरिरहेको भनिएपनि पछिल्लो समय सटरवाला साना व्यापारी भाग्ने क्रम बढेको हो ।

सहकारीले निक्षेपकर्ताको पैसा उठाएर भागेको, बैंकको लोन तिर्न नसकेर व्यापारी भागेका समाचार बेलाबेलामा सुन्न पाइन्छ । तर, पछिल्लो समय व्यापारीले व्यापारीलाई नै ठगेर भागेका थुप्रै घटना बढेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।

विशेषगरी पछिल्लो समय ठुला डिलर वा उद्योगीसँग उधारोमा सामान उठाएर खरिद गरेकोभन्दा सस्तो मूल्यमा सामान बिक्री गरी बजारबाट पैसा उठाएर भाग्ने प्रवृत्ति बढेको नेपाल चेम्बर अफ कर्मका केन्द्रीय सदस्य एवं प्रचार तथा अतिथि सत्कार प्रमुख सन्तोष पाण्डेले बताए । ‘कुनै व्यापारीहरुले डिलरहरुसँग उधारोमा सामान उठाउँछन्,’ उनले भने, ‘ठग्ने वा भाग्नेनै मनिस्थिति रहेको व्यापारीले चाल चलेरै डिलर वा होलसेलबाट सस्तो मूल्यमा सामान उठाउने र सोही सामान आफुले खरिद गरेकोभन्दा कम मूल्यमा बिक्री गरेर डिलरको पैसा नतिरिकनै भाग्ने प्रवृति बढेको छ ।’

उनका अनुसार धेरैजसो डिलरवाला तथा उद्योगीहरु नै बजारबाट पैसा नउठ्ने समस्याले प्रताडित छन् । ‘एकै व्यापारीले करोडौं मूल्यको सामान उधारोमा उठाउँछ र सस्तोमा बेच्छ,’ उनले भने, ‘सस्तोमा बेच्छ भन्ने जानकारी हुँदा हुँदै पनि डिलरवाला र उद्योगीले केहि बोल्न सक्दैनन् तर केही दिनमै त्यस्ता व्यापारी पसलनै बन्द गरेर भागिसकेका हुन्छन ।’

यस्तै मदिरा व्यवसायी संघ काठमाडौंका निवर्तमान अध्यक्ष गोविन्द बराल पनि काठमाडौंमा डिलर वा उद्योगीसँग उधारोमा सामान लिएर बजारमा सस्तोमा बिक्री गरेर भाग्ने क्रम बढेकोे बताउँछन् । धेरैजसो डिलरहरुबाट होलसेलरले उधारोमा सामान उठाउँछन् । तर, सबै सामान बेचेर पनि पैसा नदिइकन भाग्ने क्रम बढेसँगै डिलरवालाले करोडौं रुपैयाँ गुमाएका घटना धेरै निम्तिएको उनको भनाई छ । ‘नेपाली व्यापारीहरुले नै नेपालीलाई ठगेर भागेका घटना धेरै छन्,’ उनले भने, ‘पछि त्यस्ता मान्छे न आफै सम्पर्कमा आउँछन् न प्रहरीले नै खोजी गरेर पत्ता लगाउन सक्छ ।’

यता खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर भने खुद्रा व्यापारीबाट यस्तो समस्या कमै आउने गरेको बताउँछन् । तर, खुद्रा व्यापारीले बजार मूल्यभन्दा कममा होलसेल पसलमा सामान पाउँदा भने अच्चम्म लाग्ने गरेको उनको अनुभव छ । ‘खुद्रा व्यापारमा यस्तो समस्या ज्यादै न्यून नै आउँछ अर्थात आउँदै आउँदैन भन्दा पनि हुन्छ,’ उनले भने, ‘बरु होलसेलर र डिलरहरुले भने उद्योगीबाट पाएको उधारोको सामान सस्तोमा बेचेर भाग्ने गरेका घटनाहरु धेरै छन् ।’

नेपाल खुद्रा व्यापार संघका प्राय सदस्य व्यापारीहरु रैथाने भएकाले यस्तो कर्तुतमा नलाग्ने उनको भनाई छ । तर, पछिल्लो समय बढ्दै गएका सटर व्यापार र नयाँ उम्रिएका साना व्यापारीले भने यस्ता कर्तुत गर्ने गरेको सम्बद्ध व्यापारीहरु बताउँछन् । साथै एकातिर विदेश जानको लागि तयारी गर्ने विदेशको प्रक्रिया हुँदासम्म एउटा सटरमा सामान राखेर व्यापार सुरु गर्नेहरुबाटै ठूला व्यापारी तथा उद्योगीहरु ठगिने क्रम बढेको समेत ती व्यवसायीको भनाई थियो । सामान्यतया कुनै नयाँ व्यापारीले डिलरबाट सामान उठाउँछ । त्यो वस्तु समयमै विक्री पनि गर्छ र पुनः सामान उठाउँछ, त्यो पनि बेच्छ । विस्तारै डिलरवाला वा होलसेलरसँग घनिष्टता बढ्दै गएपछि उसले निश्चित अवधिको चेक दिएर ठूलो परिमाणमा सामान लिन्छ र चेकको डेट सकिने बेलामा खबर गर्न जाँदा पसलवाला नै हुँदैन ।

पछिल्लो समय विस्तारै यो समस्या डिलरवालादेखि होलसेलरसम्म बढ्न थालेको छ । कम्पनीबाट सामान उठाउने डिलर र डिलरबाट सामान उठाउने होलसेलरले पनि यस्तो अपराध गर्दा उद्योगी र ठुला व्यवसायीहरु मर्कामा परेको गुनासो ठूला व्यापारीहरुको छ । यस्ता व्यापारीबाट ठगिएका ठूला व्यापारीहरु प्रहरीसम्म पुगेपनि प्रहरीले आफै मान्छे खोज्नु वा ट्र्याक गर्नु भन्ने जवाफ दिने गरेका छन ।

यता प्रहरीकहाँ पनि यस्ता घटनाको उजुरी आउने गरेको छ । तर, प्रहरीले पैसा खाएर वा नतिरेर भागेका आरोपीलाई ठगी कसुरमा उजुरी लिने गरेको छ । जसअनुसार गत आर्थिक बर्षभर नेपालमा यस्ता ठगीका घटनाविरुद्ध २ सय ७० बढी उजुरी दर्ता भएको नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक टेकप्रसाद राई बताउँछन् । उनका अनुसार यस्ता घटनाको उजुरी आउने वित्तिकै प्रहरीले सम्बन्धित क्षेत्र वा स्थान हेरेर सोहीअनुसार अनुसन्धानसहित अभियुक्तलाई पक्राउ गर्ने गरेको छ ।

काठमाडौं महानगरमा भने भने धेरैजसो पसल अर्थात सटर छोडेर भागेको, भाडा नतिरि भागेकोलगायतका उजुरी आउने गरेको काठमाडौं महानगरपालिका प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । उनका अनुसार महानगरपालिकाको दायरामा खासगरी घरबहाल सम्बन्धि उजुरी तथा गुनासो आउने भएकाले सटरको भाडा नतिरेर भागेका मुद्दाहरु आउने र फछ्र्यौट पनि हुने गरेका छन् ।

यस्तो घटनाको विश्लेषण तथा मुद्दा हेर्ने काम भने महानगरपालिकाको न्यायिक समितिले हेर्ने गर्दछ । तर, गत आर्थिक बर्षभर न्यायिक समितिमा घरबहालसम्बन्धी २ सय ४२ मुद्दा आएका थिए । त्यसमध्ये ९० प्रतिशत बढी मुद्धाहरु सटर वा कोठा छोडेर भागेकोसम्बन्धी रहेको समितिका एक अधिकारीले बिजखबरलाई बताए । उनका अनुसार कोरोनापछि धेरैजसो यस्ता समस्याहरु बढेको पाइएको छ । तर, केही केहीले भने योजना नै बनाएर यस्ता क्रियाकलाप गरेको पाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL