Logo

२६ दिनमा साढे ३५ अर्बको स्वदेशी लगानी स्वीकृत, विदेशी लगानी प्रतिबद्धता भने ह्वात्तै घट्यो

२६ दिनमा साढे ३५ अर्बको स्वदेशी लगानी स्वीकृत, विदेशी लगानी प्रतिबद्धता भने ह्वात्तै घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउन २६ गतेसम्म मात्रै नेपालमा ३५ अर्ब बढीको स्वदेशी लगानी स्वीकृत गरिएको छ । उद्योग विभागले साउन १ गतेदेखि २६ गतेसम्म विभिन्न २० परियोजनामार्फत आएको ३५ अर्ब ४८ करोड १९ लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

laxmi

यो गत आर्थिक बर्षको पहिलो महिना साउन २६ गतेसम्मको तुलनामा करिव ११ अर्बले बढी हो । गत आर्थिक बर्षको साउन २६ गतेसम्म उद्योग विभागले ३० परियोजनामार्फत आएको २४ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ लगानी स्वीकृत गरेको थियो । यो बर्षको पहिलो महिना उद्योग विभागमार्फत आएका २० परियोजनामध्ये ६ ओटा पर्यटनसम्बन्धी, ५ ओटा उत्पादनमुलकसम्बन्धी, उर्जा र सेवामुलकसम्बन्धी ४÷४ ओटा र सूचना प्रविधिसम्बन्धी एउटा परियोजना छन् ।

यी परियोजनाहरुमध्ये सबैभन्दा बढी लगानी प्रतिवद्धता भने उर्जामुलक क्षेत्रका परियोजनामार्फत आएको छ । गएको २६ दिनमा उर्जामुलक क्षेत्रका ४ परियोजनामार्फत २५ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यस्तै यस अवधिमा पर्यटन क्षेत्रका ६ परियोजनामार्फत ७ अर्ब १० करोड, उत्पादनमुलक क्षेत्रका ५ परियोजनामार्फत २ अर्ब ३० करोड र सेवामुलक क्षेत्रका ४ परियोजनामार्फत १९ करोड ४० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै यस अवधिमा सूचना तथा प्रविधि क्षेत्रको एउटा परियोजनामा भने सबैभन्दा कम ३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । नेपालमा गएको २६ दिनमा दर्ता भएका परियोजनाले १ हजार ६ सय ६९ जनालाई रोजगारी दिन सकिने प्रतिवद्धता विभागसामु जाहेर गरेका छन् । जिल्लागत रुपमा हेर्दा यस अवधिमा सबैभन्दा बढी लगानी दोलखामा गएको देखिन्छ । यो जिल्लामा एउटा उर्जामुलक परियोजना अघि बढाउनका लागि १६ अर्ब ४५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको हो । यस्तै मनाङमा पनि एउटा परियोजनाका लागि ५ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

कस्ता कस्ता परियोजनामा आयो लगानी ?

उद्योग विभागको तथ्यांकलाई मान्दा पछिल्लो २६ दिनको अवधिमा मात्रै नेपालमा होटल रेष्टुरा संचालन गर्नेदेखि मिल चलाउनेसम्मका उद्योग दर्ता भईसकेका छन् । जसमध्ये ठुलो र मझौला मानिएका हालै दर्ता भएका केहि उद्योगलाई भने यहाँ समेटिएको छ ।

विभागको तथ्यांकलाई नियाल्दा यसै महिना ८ गते होटल ईस्टर्न नेपाल प्रालि विभागका दर्ता भएको थियो । झापाको मेचिनगरमा निर्माण गर्न लागिएको उक्त होटलको कुल लगानी १ अर्ब ६९ करोड रुपैयाँ तोकिएको छ । यस होटलमा लजिङका लागि ९२ ओटा बेड हुनेछन् भने रेस्टुराँका लागि २ सय ५० बढी सिटको व्यवस्था गरिएको बताईएको छ । यस्तै गत १५ गते भोजपुरमा निर्माण हुनेगरी एक जलविद्युत कम्पनी पनि दर्ता भएको छ । ठुलो लगानीभित्र परेको कम्पनीले आफ्नो कुल पुँजी ७७ करोड ६४ लाख रुपैयाँ तोकेको छ । कम्पनीले ४.१० मेगावाट विजुली उत्पादन गर्ने बताएको छ ।

सोही दिन अन्य ३ ठुला उद्योग विभागमा दर्ता भए । जसमध्ये २ अर्ब ४० करोडको बुढानिलकण्ठ हेरिटेज, १६ अर्ब ४५ करोडको तामाकोशी पाँचौ जलविद्युत आयोजना र २ अर्ब ५१ करोडको आयुष्मान होटस्ल लिमिटेड रहेका छन् । उक्त ३ परियोजनामध्ये पहिलो काठमाडौंकै बुढानिलकण्ठमा, दोस्रो दोलखामा र तेस्रो झापाको मेचिनगरमा निर्माण हुनेछन् ।

यस्तै त्यसकै भोलीपल्ट अर्थात गत १६ गते पुनः २ मझौला आकारका परियोजना पनि स्वीकृत भएका छन् । जसमा काठमाडौंमा निर्माण हुने युवान होटल र अर्को फ्लोर मिल रहेका छन् । १६ गते दर्ता भएको स्वस्तिक फ्लोर मिलले सुनसरीको ईटहरीमा आफ्नो प्लान्ट स्थापना गरी बार्षिक ६ हजार ६ सय मेट्रिक टन मैदा, २ सय ४० मेट्रिक टन सुजी, ३ हजार १ सय ६० मेट्रिकटन आँटा र २ हजार मेट्रिक टन चोकर उत्पादन गर्नेछ ।

यता १८ गते दर्ता भएको अर्को ठुलो उद्योग जानकी पोलीकेमले आफ्नो कुल लगानी १ अर्ब ५० करोड राखेको छ । उक्त कम्पनीले पनि मोरङको कटहरीमा आफ्नो प्लान्ट स्थापना गरी बार्षिक १५ हजार मेट्रिक टन पीभीसी कार्पेट, १ हजार मेट्रिक टन पीभीसी प्ल्यांकलगायत उत्पादन गर्ने बताएको छ ।

यस्तै गत १९ गते मनाङ जिल्लामा निर्माण हुने गरी ठुलो लगानीको एक उर्जामुलक उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार कार्बनलेस ईनर्जी फण्ड नामक कम्पनीले ३०.४० मेगावाट विजुली उत्पादन गर्नेछ । यस्तै अरुण भ्याली हाईड्रोपावर कम्पनीले बुदुम खोला जलविद्युत परियोजना अघि बढाउन लगानी थप गरेको छ । २ अर्ब ५३ करोड रुपैयाँ थप गरेको कम्पनीले सोलुखुम्बुको महाकुलुङमा जलविद्युत परियोजना अघि बढाउने छ जसमार्फत १४।५ मेगावाट विजुली उत्पादन हुनेछ ।

यस्तै २६ गते विभागमा दर्ता भएको मझौला आकारको ईटा उद्योगले बार्षिक २ करोड ८० लाख इटा बनाउने प्रतिवद्धता जाहेर गरेको छ । १८ करोड रुपैयाँ कुल लगानी राखेको टाइम इटा उद्योग प्रालिले चितवनको राप्ति नगरपालिकामा इटा भट्टा खोली उक्त इटा उत्पादन गर्ने भएको हो । यी ठुला र मझौला उद्योगबाहेक यस अवधिमा विभागमार्फत खरीढुंगा उद्योग, कार्गो कम्पनी, निर्माण कम्पनी, साना जलविद्युत आयोजनालगायतमा सानो लगानीसमेत आएको विभागको तथ्यांकमा उल्लेख छ ।

विदेशी लगानी कति ?

यसै अवधिमा विदेशी लगानी हेर्ने हो भने ज्यादै न्यून छ । उद्योग विभागको तथ्यांकलाई हेर्दा पछिल्लो २६ दिनमा जम्मा २ ओटा परियोजनामार्फत १० करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता आएको छ । जसमध्ये एउटा सूचना प्रविधिको परियोजना छ भने अर्को अन्तरराष्ट्रिय कार्गो सेवा संचालन गर्ने सम्बन्धी छ । यी दुबै परियोजना सानो लगानीको वर्गमा आएका हुन् । गत बर्षको यहि अवधिमा भने ३४ परियोजनामार्फत ५ अर्बै ५३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL