Logo

कुलमानलाई एउटा मुसाले दिएको हैरानी : एकहप्ता विद्युत प्रणाली अवरुद्ध, करोडौं क्षति, अझै एक हप्ता खटनुपर्ने

कुलमानलाई एउटा मुसाले दिएको हैरानी : एकहप्ता विद्युत प्रणाली अवरुद्ध, करोडौं क्षति, अझै एक हप्ता खटनुपर्ने



काठमाडौं । विजुली र कुलमान घिसिङ अहिले पयार्यवाची शब्द भएका छन् । नेपाल विद्युत प्राधिकरण भन्नेबित्तिकै धेरैले त्यसका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्झन्छन । बिजुली गयो भने पनि कुलमान गयो भन्ने धेरेको थेगो भएको छ । नेपालको विद्युत प्रणालीमा सुधार ल्याएर लोडसेडिङ हटाएसँगै सबैको हाईहाई कमाएका घिसिङलाई अघिल्लो हप्तादेखि बुढानीकण्ठ क्षेत्रका स्थानीयले दिनहुँ सम्झिरहेका छन् । जसको कारण थियो एउटा मुसा । गत हप्ता बुधबार बिहानदेखि काठमाडौंको उत्तरमा पर्ने बुढानीलकण्ठ र टोखा क्षेत्रमा एकाएक विद्युत प्रणाली अवरुद्ध भयो । लामो समयदेखि लोडसेडिङको अनुभव नगरेका उपभोक्ताले करिव ३ दिन दुःख खेप्नुपर्यो ।

laxmi

कोल्डस्टोरमा फ्रिज नचलेर मासु विग्रियो,साना ठुला उद्योगीको उत्पादन बन्द भयो भने सर्वसाधारणले आफ्नो घरका सामान्य मेशिन नचलेर सास्ती खेप्नुपर्योे । यी सबै समस्याको प्रमुख कारण थियो एउटा मुसो । गत बुधबार बिहान करिव ५ बजे बुढानीलकण्ठस्थित चपली सबस्टेशनको प्यानलमा मुसा छिरेपछि पावर सट भई १० एमभीए क्षमताका २ ओटा ट्रान्सफर्मर पड्किए । यसरी मुसा छिरेर ट्रान्सफर्मर नै पड्किँदा नेपाल विद्युत प्राधिकरणले हालसम्मकै गम्भीर सास्ती खेप्नु परिरहेको छ भने प्राधिकरण्को करोडौंको क्षति भएको छ । हुन त प्राधिकरणले अहिले यसबाट कति क्षति भयो भन्ने विवरण सार्वजनिक गरेको छैन् । तर, यसबाट प्राधिकरणलाई करोडौं रुपैयाँको क्षति भएको अनुमान छ ।

अहिले उक्त क्षेत्रमा विद्युत आपुर्ति गराउन प्राधिकरणले चावहिल र बालाजुको लाइन ल्याएर काम चलाइरहेको छ । सिंगल फेजका २ ट्रान्सफर्मर पड्केपछि र सबस्टेसनको ठुलो ट्रान्सफर्मरमै असर परेकाले हाल प्राधिकरणले भक्तपुरबाट ६८ टनको १३२ केभिए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान सुरु गरिसकेको छ । उक्त ट्रान्सफर्मर जडान गर्न प्राधिकरणलाई करिव अझै १ हप्ताको समय लाग्ने महाराजगंज वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले एउटा मुसाका कारण ठुलो दुखः व्यहोर्नुपर्यो । हाल बुढानीलकण्ठको पश्चिम क्षेत्र पासीकोट र टोखा क्षेत्रमा प्राधिकरणले बालाजु धर्मस्थली ट्रान्समिसनबाट लाईन ल्याएर काम चलाइरहेको छ भने पासीकोट पूर्व क्षेत्रमा चावहिलको लाइन महाराजगंजमा जोडेर काम भइरहेको छ । यसरी काम चलाईरहँदा लाइन टाढा हुने भएकाले त्यस क्षेत्रका स्थानीयले लो भोल्टेजको समस्या सामना गर्नुपरिरहेको छ ।

कहिले बत्ती नआउने, आएपनि लो भोल्टेजमा आउँदा त्यसले न पानी तान्ने मेशिन चलाउन मिल्ने न फ्रिज चलाउन मिल्नेलगायतका समस्या स्थानीयले भोग्नुपरेको छ । तर, प्राधिकरण महाराजगंज वितरण केन्द्रले भने गत शनिबारदेखि उक्त क्षेत्रमा निरन्तर विद्युत प्रणाली सुचारु गरिसकेको जानकारी दिएको छ । तर, उक्त क्षेत्रमा विद्युत प्रणाली पूर्ण रुपमा संचालनमा ल्याउन भने अझै एक हप्ता लाग्ने केन्द्र प्रमुख श्रेष्ठले बिजखबरलाई जानकारी दिए । ‘हामीले भक्तपुरबाट ठूलो ट्रान्सफर्मर ल्याएर सोमबारदेखि जडान सुरु गरेका छौं,’ उनले भने, ‘यसको जडानमै करिव १ हप्ता लाग्ने र १ हप्तापछि चार्ज भएर विद्युत प्रणाली चुस्त रुपमा सुचारु हुनेछ ।’

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति हाल अस्थिर छ । उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL