Logo

ग्यासको खपत घटाउन भारतमा आइओसीले ल्यायो ‘सोलार चूल्हो’, नेपाल आयल निगम के गर्दैछ ?

ग्यासको खपत घटाउन भारतमा आइओसीले ल्यायो ‘सोलार चूल्हो’, नेपाल आयल निगम के गर्दैछ ?



काठमाडौं । पछिल्लो समय नेपाललगायत विश्वभर पेट्रोल, डिजेल, ग्यास, मट्टीतेलदेखि प्राय सबै इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपालमा अहिले पेट्रोल १९९ रुपैयाँ लिटर, डिजेल–मट्टीतेल १९२ रुपैयाँ लिटर र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० रुपैयाँ पुगेको अवस्था छ । इन्धनमा भएको मूल्यवृद्धिले समग्र बजार महँगिएको छ । सर्वसाधारण दैनिक छाक टार्ने चिन्तामा पुगेको अवस्था छ ।

महँगी जति उकालो लागेपनि नेपाल सरकारले जनतालाई कुनै राहत दिएको छैन् र राहत दिने कुनै कार्यक्रम पनि ल्याउने देखिदैन् । अन्तराष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा पनि मूल्य बढेको ओठे जवाफ दिएर सरकार ढुक्कले निदाएको देखिन्छ । नेपालमा इन्धनको बढ्दो आयात र खपतका कारण अर्थतन्त्र झन् समस्यामा पर्दै गएको अवस्था छ । तर, सरकारले इन्धनको दीर्घकालीन विकल्पका लागि प्रयाससमेत गरेको देखिदैन् ।

नेपालले पेट्रोलियम पदार्थ आयात गर्दै आएको भारतको प्रमुख तेल कम्पनी इन्डियन आयल कर्पोरेशन (आइओसी)ले भने भारतमा इन्धनको बढ्दो खपत घटाउन पहल थालेको छ । भारतीय सरकारी कम्पनीका रुपमा रहेको आइओसीले बुधबार घरभित्र खाना पकाउन प्रयोगको लागि ‘सोलार चूल्हो’ सार्वजनिक गरेको छ । जुन रिचार्ज गर्न सकिन्छ । यो सौर्य ऊर्जाबाट चल्ने चुलोलाई भान्सामा राखेर प्रयोग गर्न सकिन्छ । खरिद खर्चबाहेक मर्मतसम्भार लागतसमेत नरहेको र यसलाई जीवाश्म इन्धन (ग्यास, मट्टीतेल) को विकल्पका रूपमा हेरिएको छ । अर्थात् सोलार चुलोका लागि न त इन्धन न त दाउरा नै चाहिन्छ । बुधबार भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले आफ्नो सरकारी निवासमा एउटा कार्यक्रम आयोजना गरेका थिए, जहाँ यस चुल्हामा पकाएको खाना खुवाइएको थियो । यो चुलोको नाम ‘सूर्य नूतन’ राखिएको छ ।

घाममा राख्नु पर्दैन

चूल्हो सार्वजनिक कार्यक्रममा आईओसीका निर्देशक (आर एन्डडी) एसएसभी रामकुमारले यो चुल्हा सूर्यको किरणमा राख्न नपर्ने भएकाले सोलार कुकरभन्दा फरक रहेको बताए । फरीदाबादमा आइओसीको अनुसन्धान र विकास विभागद्वारा विकसित सूर्य नूतन, छतमा माउन्ट गरिएको एक प्यानलमार्फत सौर्य ऊर्जाद्वारा संचालित हुन्छ । यो चुलोले पैसा मात्र बचाउने छैन, प्रदूषणको समस्याबाट पनि छुटकारा दिनेछ ।

एउटा परिवारका लागि तीन पटकको खाना बनाउन सकिने

सूर्य नूतन चलाउन पनि निकै सहज छ । यसको केबल छतमा राखिएको सोलार प्लेटमा जोडिएको हुन्छ । सोलार प्लेटबाट उत्पादित उर्जा केबलबाट चुलोमा पुग्छ । यही ऊर्जाले चूल्हो चल्छ । सोलार प्लेटले पहिले सौर्य ऊर्जालाई थर्मल ब्याट्रीमा भण्डारण गर्छ । यो ऊर्जा राति पनि खाना पकाउन प्रयोग गर्न सकिन्छ । यस चूल्होबाट चारजनाको परिवारका लागि तीन पटकको खाना सजिलै तयार गर्न सकिन्छ ।

मूल्य कति ?

अहिले सूर्य नूतनको प्रोटोटाइप मात्रै सार्वजनिक भएको छ । भारतका ६० स्थानमा यसको परीक्षण गरिएको छ । आगामी दिनमा यो चुलोको व्यावसायिक उत्पादन सुरु हुँदैछ । सूर्य नूतनको मूल्य १८ हजारदेखि ३० हजारसम्म रहने बताइएको छ । सरकारी अनुदानपछि पछि यसको मूल्य १० हजारदेखि १२ हजारसम्ममा आउन सक्ने बताइएको छ । यस चुलोको आयु १० वर्ष रहने र एकपटक चूल्हो खरीदमा बाहेक अर्को कुनै पनि खर्च नहुने बताइएको छ ।

के गर्दैछ नेपाल आयल निगम ?

नेपालमा पेट्रोलिम पदार्थको आयात, भण्डारण र विक्रिको एकाधिकार रहेको नेपाल आयल निगम अहिले बढ्दो घाटाका कारण संकटमा छ । विश्वका धेरै देशहरुले पेट्रोलियमको खपत न्यूनीकरण गर्न वैकल्पिक व्यवस्थाहरु अघि बढाईरहेपनि नेपालले भने त्यस्तो योजना अझै अघि सारेको छैन । नेपालमा भारतीय सरकारी कम्पनी ईन्डियन आयल कर्पाेरेशन(आइओसी)बाट पेट्रोलियम खरिद गरेर विक्री वितरण गरिररहेको नेपाल आयल निगमले समेत कुनै योजना अघि बढाएको देखिँदैन । निगमले पछिल्लो १ बर्षदेखि विद्युतीय सवारी साधन र चुल्होको अधिकतम प्रयोग गर्नुपर्ने बताउँदै आएको छ ।

विश्वबजारमा उच्च मूल्य वृद्धि भएपछि निगमले हाल मासिक ४ अर्ब ७० करोड रुपैयाँ बराबर घाटा व्यहोरेर पेट्रोलियम विक्री वितरण गरिरहेको छ । त्यसमा पनि सबैभन्दा ठूलो हिस्सा नै खाना पकाउने ग्यास(एलपीजी)को छ । एलपीजीमार्फत मात्रै निगमले मासिक २ अर्ब २८ करोड रुपैयाँ घाटा व्यहोरिरहेको निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउँछन् ।

उनका अनुसार निगमले भारतबाट २ हजार ५ सय ५१ रुपैयाँमा खरिद गरेको ग्याँस नेपालमा १८ सय रुपैयाँमा बेच्नुपर्ने बाध्यताले निगमको घाटामा सबैभन्दा ठुलो योगदान यसैको छ । त्यसैले पनि यसको खपत सकेसम्म घटाउने नेपाल सरकारदेखि निगमको समेत योजना रहेपनि झनयसको खपत बढेको उनी बताउँछन् । पछिल्लो एक बर्षमा मात्रै ग्यासको खपत १७ देखि २० प्रतिशतले बढेको उनको भनाई छ ।

यस्तै पछिल्लो ३ महिना अर्थात चैत, बैशाख र जेठ महिनामा मात्रै भारतबाट क्रमशः ३५, ४५ र ४८ मेट्रिकटन ग्यास आयात भएको छ । यसरी ग्यास खपत बढेपछि नेपाली अर्थतन्त्रमा आयातको हिस्सा थप बढ्न समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परिसकेको छ । ग्यासको खपत घटाउनेगरी विभिन्न नेताहरुले भाषण पनि गर्छन् । केहि संस्थाहरुले त विद्युतीय चुल्होसमेत वितरण गर्दै आएका छन् । तर, घरायसी ग्राहकलाई विद्युत महशुलमा उचित छुट नदिएसम्म यसको प्रवद्र्धन नहुने र निगमले घाटाको व्यापार गरिराख्नुपर्ने उनी बताउँछन् ।
उपभोक्तालाई विद्युतीय चूल्हो प्रयोगमा प्रोत्साहन गर्ने गरी निगमले पनि योजना बनाएको र नेपाल विद्युत प्राधिकरणलाई सकेसम्म सहयोग गर्ने उपाध्याय बताउँछन् । तर, आईओसीले ल्याएजस्तो सोलार चुल्हो नै बेच्नेलगायतका योजना भने हालसम्म निगमले बनाएको छैन । चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) मा नेपालले ५९ अर्ब १६ करोड ६ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ८९ हजार ७ सय १६ मेट्रिक टन खाना पकाउने ग्याँस आयात गरेको छ ।

यसमार्फत नेपालले ११ अर्ब ३ करोड रुपैयाँ राजश्वसमेत उठाएको छ । पछिल्लो समय नेपालमा ग्रामीण र दूरदराजमा पनि ग्याँसका सिलिण्डर पुगेपछि यसको खपत झन बढेको प्रवक्ता उपाध्यायले बताए । उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोगमा बढावा नदिएसम्म ग्यासको खपत नघट्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL