Logo

अर्थ मन्त्रालयबाट चार अर्ब अन्तशुल्क स्टिकरको माग, बजेट अभावमा ५० करोड मात्रै छपाई गर्दै सुरक्षण मुद्रण केन्द्र

अर्थ मन्त्रालयबाट चार अर्ब अन्तशुल्क स्टिकरको माग, बजेट अभावमा ५० करोड मात्रै छपाई गर्दै सुरक्षण मुद्रण केन्द्र



काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले पहिलो चरणमा ५० करोड पिस अन्तशुल्क स्टिकर छपाई गर्ने तयारी गरेको छ । दुईवटा मेशिन ल्याई काभ्रेस्थित बनेपाको आइटी पार्कमा जडान गरिसकेको केन्द्रले सोही मेशिनमार्फत आगामी बर्षसम्म ५० करोड स्टिकर छाप्ने योजना बनाएको हो । खासगरी बैंक नोट, चेकबुक, हुलाक टिकट, पासपोर्टलगायत नेपालमै सुरक्षण तरिकाले छपाई गरी वितरण गर्नका लागि केन्द्रको अवधारणा ल्याइएको थियो ।

laxmi

केन्द्रलाई पूर्ण क्षमतामा अर्थात तोकिएका सबै कागजपत्र छपाईका लागि १ देखि डेढ सय ओटा मेशिन आवश्यक पर्ने भएपनि हालसम्म २ ओटा मेशिन मात्रै खरिद गरिएकाले अन्तशुल्क स्टिकर मात्रै छापिने केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए ।

उनका अनुसार अन्तशुल्क स्टिकर पनि आवश्यक जति छाप्नसक्ने क्षमता अझै बनिसकेको छैन । ‘अर्थमन्त्रालयबाट करिव ४ अर्ब पिस अन्तशुल्क स्टिकरको माग छ त्यो हामी पुर्याउन सक्दैनौं,’ उनले भने, ‘हामीसँग हाल २ ओटा प्रिन्टिङ मेशिन मात्रै भएकाले यसले करिव ५० करोड पीस स्टिकर छाप्ने क्षमता राख्दछ ।’ केन्द्रलाई सबै प्रकारका कागजपत्र छपाई गर्नका लागि ३३ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने भएपनि अर्थमन्त्रालयले प्रत्येक बर्ष थोरै थोरै गरी बजेट छुट्याउँदै आएको छ ।

केन्द्रले आर्थिक बर्ष २०७६÷७७ मा ५७ करोड २६ लाख रुपैयाँ बजेट पाएको थियो भने त्यसको पछिल्लो बर्ष २०७७÷७८ मा ७९ करोड ४ लाख रुपैयाँ बजेट पाएको थियो । यस्तै चालु आर्थिक बर्षका लागि केन्द्रले १ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बजेट पाएको थियो । हालसम्म केन्द्रले बनेपाको आईटी पार्कमा प्रशासनिक भवनको मर्मत, हाइ भोल्टेजको विजुली जडान, प्रिन्टर खरिद, वाल लगाउनेलगायतका कामहरु सम्पन्न गरिसकेको छ । यसपटक भने केन्द्रलाई प्रिन्टिङ प्रेस राख्नकै लागि ३ ओटा भवन बनाउनुपर्ने छ । जसमध्ये एउटा भवनको काम अघि बढिसकेको छ ।

तर, बजेट अभावकै कारण अन्य कामको टुंगो नलागेको उनले जानकारी दिए । ‘प्रेसलाई पुर्ण क्षमतामा संचालनमा ल्याउनका लागि ३३ अर्ब रुपैयाँको बजेट आवश्यक हुन्छ १ सय देखि १ सय ५० ओटा मेशिनहरु आवश्यक हुन्छन्, हाल सरकारले जम्मा डेढ अर्व रुपैयाँ मात्रै निकासा गरिदिएको छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘ यसपटक त्यो रकमले जतिसम्म भ्याउँछ त्यति मात्रै काम गर्ने हो । त्यसपछि बजेट थपिँदै जाँदा काम विस्तारै अघि बढ्दै जानेछन् ।’

उनका अनुसार मागअनुसार अन्तशुल्क स्टिकर छाप्नका लागि ८ ओटा मेशिन आवश्यक पर्छन । केन्द्रसँग हाल २ ओटा मात्रै छन् । त्यसबाट केन्द्रले बार्षिक ५० करोड स्टिकर मात्रै छाप्न सक्छ । तर, यसका लागि अर्थ मन्त्रालयले रकम विनियोजन गरेको छैन । यसको कच्चा पदार्थ खरिदका लागि अर्थमन्त्रालयले रकम विनियोजन गरेको खण्डमा मात्रै ५० करोड अन्तशुल्क स्टिकर छपाई हुने उनले बताए ।

अन्तशुल्क स्टिकरको माग प्रत्येक बर्ष बढ्दै गएको छ । तर, माग धान्ने क्षमता केन्द्रसँग छैन । त्यसको छपाईका लागि हाल दक्ष जनशक्तिको पनि अभाव छ । केन्द्रले ३२ जना कर्मचारी दरबन्दीका लागि स्वीकृति पाएको छ । सोहीअनुसार पदपूर्तिको सूचना निकालेर कर्मचारी राख्ने काम अघि बढिरहेको केन्द्रले जनाएको छ । त्यसपछि पनि उनिहरुलाई तालिम दिने काम गरिन्छ । मेशिन पुर्णरुपमा संचालनमा ल्याउनका लागि पनि दक्ष जनशक्तिलाई केहि समय लाग्नेछ । यसरी कर्मचारी भर्ति, तालिमदेखि अन्य व्यवस्था मिलाउन करिव १ बर्ष लाग्ने छ र आगामी बर्षदेखि मात्रै केन्द्रले अन्तशुल्क स्टिकर छाप्नेछ । पछिल्लो २ बर्षदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अन्तशुल्क स्टिकर छाप्दै आएको छ । त्यसअघि ग्लोबल टेण्डरमार्फत विदेशी प्रिन्टर कम्पनीहरुले नेपालको अन्तशुल्क स्टिकर छाप्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL