Logo

पीपीएमओमा महासंघको धर्ना जारी, बीमा समितिको धर्ना कार्यक्रम एक हप्ताका लागि स्थगित

पीपीएमओमा महासंघको धर्ना जारी, बीमा समितिको धर्ना कार्यक्रम एक हप्ताका लागि स्थगित



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलवार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको हो । धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका नारा लगाएका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।

आन्दोलनको कार्यक्रम अन्र्तगत ७७ जिल्ला संघहरुले आज आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा (विहान ११ देखि १२) धर्ना दिएका छन् । माग पूरा नभए सम्म एक घण्टे धर्ना कार्यक्रम जारी राखिने महासंघका महासचिव रोशन दाहालले बताए । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ ।

कन्स्ट्रक्शन होलिडेको अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ । अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

यसैबीच नयाँ बीमा निर्देशिका जारी गर्न सरोकारवाला निकायबीच एक कार्यदल गठन भएकाले कुपण्डोलस्थित बीमा समितिको धर्ना कार्यक्रम एक हप्ताका लागि स्थगित गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL