Logo

कर्मभूमि समाज र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेबारे छलफल

कर्मभूमि समाज र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेबारे छलफल



काठमाडौँ (फागुन ४, २०७८)ः उद्यमशीलता विकासमा काम गर्दै आएको कर्मभूमि समाज र युवा तथा साना व्यवासायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेसम्बन्धमा छलफल भएको छ । सम्भावित उद्यमी पहिचान, अभिमुखीकरण र सीप विकास, व्यावसायिक योजना विकास तथा वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो ।

laxmi

‘युवा उद्यमशीलता ः आजको आवश्यकता’ नामक कार्यशाला गोष्ठीका क्रममा दुई संस्थाबीच उक्त छलफल भएको हो । कर्मभूमि समाजको ‘गरिखाने अभियान’ले बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि उद्यमको पहिचान, सीप विकास, व्यवसायिक योजना विकास तथा बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियत कर्जा प्राप्त गर्न निःशुल्क सहयोग पु¥याउँदै आएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लघु तथा साना उद्यम विकासमार्फत् स्वरोजगारी प्रवद्र्धन गर्न सहकारी तथा वित्तीय संस्थामार्फत् प्रति ऋणी २ लाख देखि ५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँदै आएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सहकारी र वित्तीय संस्थालाई ४ प्रतिशतमा यस्तो कर्जा थोकमा उपलब्ध गराउँछ र व्यक्तिगत तवरमा ऋणीले ८ प्रतिशतमा कर्जा प्राप्त गर्न सक्छ । ऋणको नियमित किस्ता भुक्तानीपछि ऋणीले ब्याजबापत् तिरेकोमध्ये ६० प्रतिशत रकम ब्याज अनुदानबापत् ऋणीलाई नै फिर्ता दिने हुँदा प्रभावकारी ब्याजदर ३.२ प्रतिशत मात्र हुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले युवाले अवसरको खोजी गर्न र चिन्न सक्ने बनाउन उनीहरूलाई पर्याप्त व्यवसायिक र प्राविधिक सीप प्रदान गर्नुपर्नेमा जोड दिदैं युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सहकारीमार्फत् लगानी गर्दा तिनै सहकारीका सदस्यहरूभन्दा बाहिर वित्तीय पहुँच पुग्न नसकेको औंल्याए । राज्यमन्त्री श्रेष्ठले उद्यमशीलता विकासमा काम गर्ने संस्थाहरूले सहकार्यमार्फत् नवप्रवर्तन र प्रविधिलाई समेत प्रवद्र्धन गर्दै उद्यमशीलता विकासमा सिनर्जी (बृहद् प्रभाव) पैदा गर्नुपर्नेमा जोड दिए ।

छलफलमा कर्मभूमि समाजका अध्यक्ष विनोद चौधरीले कर्मभूमि समाजले स्वरोजगार बनाउने स–साना उद्यम व्यवसाय विकासमा सहयोग गर्दै आएकोमा कोषसँगको सहकार्य फलदायी हुने बताए । आम युवाहरूसँग भएको आइडिया (सोच)लाई परियोजनाको रूपमा विकास गर्न उनीहरूलाई अभिमुखीकरण, सीप विकास तालिम, व्यवसायिक योजना विकास, लगानीको खोजी तथा बजार पहुँच विकासमा हामीले सघाउँदै आएका छौं,’ उनले भनेयो, ‘उद्यमशीलता विकासका लागि धेरै नीतिगत व्यवस्थाहरू भएपनि मानसिकतामा परिवर्तन ल्याएर साँच्चिकै काम गरौं भनेर उत्प्रेरित नभएसम्म त्यसले परिणाम दिन सक्दैन ।’

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाले मुलुकमा उद्यमी सिर्जना गरी उत्पादन विकास गराएर मात्र नहुने भन्दै सँगै उपभोग बढाउन मूल्य श्रृंखला र बजार पहुँचमा पनि काम गर्न आवश्यक रहेको बताए । ‘हाम्रो उद्देश्य आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने हो, त्यसका लागि बजार केन्द्रहरू विकास गरी उत्पादन उपभोक्तासम्म पु¥याउनुपर्छ ।’ उनले उद्यमीलाई पहिचान दिनुपर्नेमा जोड दिदैं साँच्चिकै काम गर्न चाहाने कोही पनि बेरोजगार बस्नुनपर्ने उल्लेख गर्नुभयो । ‘वास्तवमा, सााँच्चिकै काम गर्न चाहाने हो भने कोही पनि बेरोजगार बस्नुपर्दैन तर हाम्रा युवामा सस्तो र सजिलो पैसाको खोजीमा देखिन्छन् । यो मानसिकता परिवर्तन गरी सानोतिनो स्वरोजगारमूलक व्यवसाय गरी त्यसलाई विस्तार गर्दै जानुपर्छ,’ उनले भने ।

कोषले यस वर्ष १२,००० जनालाई स्वरोजगार बनाउने, १२०० व्यवसायीहरूको बीमा गर्ने र १,९७३ व्यवसायीलाई ब्याज अनुदान प्रदान गर्ने लक्ष्य रहेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताउनुभयो । उनले उद्यमशीलता विकासका लागि युवाहरूलाई सीपमूलक तथा क्षमता विकास तालिम, वित्तीय पहुँच विस्तारमार्फत् कोषको लक्ष्य अनुसार उद्यमीहरू सिर्जना गर्न कर्मभूमि समाजसँग सहकार्य गर्न सकिने बताए । कोषले सहकारी र वित्तीय संस्थामार्फत् गरेको लगानीको ऋण असुलीदर ९५ प्रतिशत रहेको छ । यस आर्थिक वर्ष (२०७८–७९) मा कोषको बजेट १२ करोड ५६ लाख रुपैयाँ रहेको जानकारी दिदैं अधिकारीले कोषको लगानी स्रोतको प्रमुख आधार विपन्न वर्ग कर्जा भएको बताए । कार्यक्रममा कर्मभूमि समाजका सीईओ योगराज कँडेल शर्माले प्रस्तुतीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्रका लागि मुलुकमा बलियो उत्पादनको आधार निर्माण गर्न उद्यमशीलता विकासको अपरिहार्यतामा जोड दिदैं आगामी दिनमा कोषसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL