Logo

सुरक्षा थ्रेट महसुस गरिरहेका अग्रवाल भन्छन- व्यापार व्यवसाय दुईचार दिनमै खुल्छ, ढुक्क हुनुस कसैको एक रुपैयाँ डुब्दैन

सुरक्षा थ्रेट महसुस गरिरहेका अग्रवाल भन्छन- व्यापार व्यवसाय दुईचार दिनमै खुल्छ, ढुक्क हुनुस कसैको एक रुपैयाँ डुब्दैन



काठमाडौं । नेपालको मदिरा व्यापारमा एकछत्र राज गरेका मदिरा आयातकर्ता एवं विक्रेता अमित अग्रवाल शुक्रबार आफु र आफ्नो परिवारमाथि लागेका आरोपहरुबारे उत्तर दिन उपस्थित भएका थिए । नेपालमा ३ दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएको अभिअमि, भिन्याट, ग्रीनलाईन सेन्टर प्रालिलगायतका संचालक अग्रवालले नेपाली बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर भागेको आरोप लागेको थियो ।

एकाएक सञ्चालनमा रहेको व्यापार व्यवसाय बन्द गरेर, घरको ढोकामा ताल्चा ठोकेर र ऋणका कारण तनाव झेल्न नसकेर आत्महत्या गर्नेसम्मको परिस्थितिसमेत आएको भन्दै पत्र लेखेर उनको परिवार करीब एक महिनाअघि वेपत्ता भएको थियो । नेपालमा महँगा मदिराको व्यापारमा दाजुभाई अभिषेक अग्रवाल र अमित अग्रवालले एउटा छुट्टै पहिचान बनाएका थिए र त्यहीबाट नाम र दाम कमाएका थिए । यस्तोमा एक्कासी वृद्ध बाबु ओमप्रकाश अग्रवालको नाममा पत्र लेखेर वेपत्ता भएको करीब एक महिनापछि अग्रवाल परिवार बारेका विभिन्न शंका उपशंकाहरुलाई चिर्दै अमित अग्रवालले आफुहरु सात पुस्तादेखि नेपालमै रहेको र देश छाडेर कतै नभाग्ने स्पष्ट पारे ।

आफुहरु भागेको नभई तनाव व्यवस्थापनका लागि केही समय बाहिर रहेको बताए । बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग ठूलो रकम ऋण लिएर भागेको आरोप लागेका व्यवसायी अग्रवालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालीन समयमा आइपरेको तनावका कारण आफ्नो सबै परिवार केही समय भारत गएको दाबी गरे ।

शुक्रबार पत्रकार सम्मेलनमा उपस्थित भएका अग्रवाल धेरै हदसम्म दृढ देखिएका थिए । आफुसँग ऋणभन्दा बढी सम्पत्ति भएको दाबी गर्दै अग्रवालले आफुले दुई तीन दिनमै पुनः व्यवसाय शुरु गर्ने बताए । ‘अहिले स्टक सिल गरेका र स्टोरमा ताला लगाएका बैंकहरुसँग कुरा भइरहेको छ । जहाँसम्म लाग्छ हामी दुई तीन दिनमै पुनः व्यवसायमा फर्कन्छौं’, उनले दृढताका साथ बताए ।

‘कोभिडका कारण सरकारले मदिराजन्य व्यवसायमा लामो समयसम्म रोक लगाएको र व्यवसायमा समस्या उत्पन्न हुँदा तथा बैंक तथा वित्तिय संस्थासँग लिएको ऋण समयमा तिर्न नस्केका कारण बैंकले तालाबन्दी गरिदिएका तथा ब्यक्तिगत ऋणको समस्यालगायतका अनपेक्षित परिस्थितिले गर्दा डिप्रसनको स्थिति आएको तथा तनावमा रहदै आएकोमा सोको उपचार गर्न देशबाहिर गएको अवस्थामा विभिन्न समाचार आउँदा थप अवस्था विग्रियो’, अग्रवालले भने ।

अग्रवालले आफु ऋण तिर्न नसकी भागेको नभई पछिल्लो समय व्यवसायमा आएको मन्दी र समस्यासँगै बैक तथा वित्तिय संस्थाको दबाब र विभिन्न व्यक्तिको धम्की तथा दबाबका कारण पारिवारिक रुपमा असहज अवस्थाको सृजना भएको र त्यसको व्यवस्थापनका लागि केही समय भारत गएको बताए । त्यस्तो दबाब र धम्कीका कारण आफु र आफ्नो परिवार डिप्रेसनको सिकार भएको पनि उनले बताए ।

‘हामीलाई ३ अर्ब बढी ऋण रहेको विभिन्न व्यक्ति र संस्थासँग रकम उठाएर भागेका जस्ता आरोप लागेका छन् । ती सबै आरोप झुटा हुन । मेरो बैंक तथा वित्तिय संस्थासँग करीब ८० करोड ऋण दायित्व रहेको छ भने व्यक्ति तथा अन्य संस्थासँग करीब २५ करोड ऋण रहेको छ । यस्तै हाम्रो सम्पत्ति ऋण दायित्व भन्दा अहिले पनि धेरै छ । यसैले हामीले सबै ऋण तिर्न कुनै गाह्रो छैन्,’ उनले भने । उनले आफु भारतमा रहँदा बिरामी परेको सो कारण नेपाल फर्कन ढिलाई भएको भन्दै अब सबै ऋण तथा दायित्व सेटल गरेर पुनः व्यवसाय सञ्चालन गर्न पहल गरिरहेको पनि बताए । ‘अब उपचार गरेर नेपाल फर्किएको र पुनः व्यापार व्यवसाय संचालन गरी बैंकको किस्ता र ब्याज तिर्ने प्रतिवद्धतासमेत जनाउँछु,’, अग्रवालले भने ।

‘कोरोना महामारीका कारण व्यापार व्यवसायमा सुस्तता आउँदा बैंकको किस्ता र ब्याज बुझाउन केहि ढिलाई भएको पक्कै हो,’ उनले भने, ‘तर, हाम्रा केही प्रतिस्पर्धी साथीहरुले नराम्रो हल्ला फिँजाई बदनाम गर्न खोजे ।’ उनले बैंकको कर्जा लिएर नतिरी भाग्ने योजना नभएको पनि बताएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आफ्नो ज्यान सुरक्षाको लागि प्रशासनमा निवेदन दिएको पनि बताए ।

‘व्यवसायिक वा विभिन्न व्यक्तिहरु कानूनविपरीत मलगायत मेरा परिवारका सदस्यहरुलाई मानसिक तनाव दिने, भौतिक प्राक्रमण गर्ने अनाधिकृत तवरले मेरो सम्पत्तिहरु कब्जा गर्ने धम्की दिने साथै दुख हैरानी दिन विभिन्न अनावश्यक मुद्दामामिला गरेकाले मलयागत मेरो घरपरिवारका सदस्यहरुको जीउधनमा गम्भीर खतरा उत्पन्न हुने अवस्था भएकोले नेपालको संविधान एव प्रचलित कानूनले प्रदान गरेका सम्मानपूर्वक बाच्न पाउने हक स्वतन्त्रताको हक, व्यापार व्यावसाय गर्न पाउने हको सुरक्षा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन दर्ता गरेको व्यहोरा जानकारी गराउँदछु’, अग्रवालले यसो भनिरहँदा उनले सुरक्षा थ्रेट भने महसुस गरेको बुझ्न सकिन्थ्यो ।

बैंकहरुको ऋण किस्ता र अन्य साथीभाई एवं साहुहरुको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताउँदै अग्रवालले भनेष्ण्‘बैंक तथा साहुहरुलाई समेत संयमित भई कार्य गर्नदिनुहुन अनुरोध गर्दछु। केवल मलाई मेरो जिऊ ज्यानको सुरक्षा र सहज तरिकाले व्यवसाय गर्ने वातावरणको आवश्यक्ता परेको छ। मर्नु वा बाँचन जे जे परेपनि म आफनै देश नेपालमा गर्न चाहन्छु’, अग्रवालले दृढताका साथ भने । अग्रवालले आफुहरुको लगानी रहेको सागर डिस्टिलरीले उत्पादन थालिसकेको बताउँदै बजारमा थप उत्पादनहरु ल्याएर स्वदेशी उत्पादनलाई नै बढावा दिने योजना रहेको समेत सुनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL