Logo

अर्बौ उठाएर भागेको आरोप लागेका ग्रीनलाइन संचालक अग्रवालले भने : भागेका होइनौं, तनाव व्यवस्थापनका लागि केही समय बाहिर थियौं

अर्बौ उठाएर भागेको आरोप लागेका ग्रीनलाइन संचालक अग्रवालले भने : भागेका होइनौं, तनाव व्यवस्थापनका लागि केही समय बाहिर थियौं



काठमाडौं । मदिरा आयातकर्ता एवं विक्रेता अमित अग्रवाल आफुहरु भागेको नभई तनाव व्यवस्थापनका लागि केही समय बाहिर रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग ठूलो रकम ऋण लिएर भागेको आरोप लागेका व्यवसायी अग्रवालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालीन समयमा आइपरेको तनावका कारण आफ्नौ सबै परिवार केही समय भारत गएको दाबी गरे ।

नेपालमा ३ दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएको अभिअमि, भिन्याट, ग्रीनलाईन सेन्टर प्रालिलगायतका संचालक अग्रवालले नेपाली बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर भागेको आरोप लागेको थियो ।

अग्रवालले आफु ऋण तिर्न नसकी भागेको नभई पछिल्लो समय व्यवसायमा आएको मन्दी र समस्यासँगै बैक तथा वित्तिय संस्थाको दबाब र विभिन्न व्यक्तिको धम्की तथा दबाबका कारण पारिवारिक रुपमा असहज अवस्थाको सृजना भएको र त्यसको व्यवस्थापनका लागि केही समय भारत गएको बताए । त्यस्तो दबाब र धम्कीका कारण आफु र आफ्नो परिवार डिप्रेसनको सिकार भएको पनि उनले बताए ।

‘हामीलाई ३ अर्ब बढी ऋण रहेको विभिन्न व्यक्ति र संस्थासँग रकम उठाएर भागेका जस्ता आरोप लागेका छन् । ती सबै आरोप झुटा हुन । मेरो बैंक तथा वित्तिय संस्थासँग करीब ८० करोड ऋण दायित्व रहेको छ भने व्यक्ति तथा अन्य संस्थासँग करीब २५ करोड ऋण रहेको छ । यस्तै हाम्रो सम्पत्ति ऋण दायित्व भन्दा अहिले पनि धेरै छ । यसैले हामीले सबै ऋण तिर्न कुनै गाह्रो छैन्,’ उनले भने ।


उनले आफु भारतमा रहँदा बिरामी परेको सो कारण नेपाल फर्कन ढिलाई भएको भन्दै अब सबै ऋण तथा दायित्व सेटल गरेर पुनः व्यवसाय सञ्चालन गर्न पहल गरिरहेको पनि बताए । ‘अब उपचार गरेर नेपाल फर्किएको र पुनः व्यापार व्यवसाय संचालन गरी बैंकको किस्ता र ब्याज तिर्ने प्रतिवद्धतासमेत जनाउँछु,’, अग्रवालले भने ।

‘कोरोना महामारीका कारण व्यापार व्यवसायमा सुस्तता आउँदा बैंकको किस्ता र ब्याज बुझाउन केहि ढिलाई भएको पक्कै हो,’ उनले भने, ‘तर, हाम्रा केही प्रतिस्पर्धी साथीहरुले नराम्रो हल्ला फिँजाई बदनाम गर्न खोजे ।’ उनले बैंकको कर्जा लिएर नतिरी भाग्ने योजना नभएको पनि बताएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आफ्नो ज्यान सुरक्षाको लागि प्रशासनमा निवेदन दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL