Logo

विदेशमा गएर बिहे गर्ने नेपालीमाथि विदेशी मुद्रा अपचलनको आशंका, राज्य संयन्त्रले थाल्यो अनुसन्धान

विदेशमा गएर बिहे गर्ने नेपालीमाथि विदेशी मुद्रा अपचलनको आशंका, राज्य संयन्त्रले थाल्यो अनुसन्धान



काठमाडौं । पछिल्लो समय नेपालीहरु विदेशमा गएर बिहे गर्ने क्रम बढेसँगै राज्य संयन्त्रले छानविन प्रक्रिया अघि बढाएको छ । नेपालका धनाढ्यहरु उच्च पैसा खर्च गर्दै विदेशमा गएर बिहे गर्न थालेपछि नेपाल राष्ट्र बैंकलगायतका सरकारी संयन्त्रले छानविन प्रक्रिया अघि बढाएका हुन् ।

केही सयम अघि एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले आफ्नो छोराको बिहे संयुक्त अरब इमिरेट्स (युएई) मा गएर गराएका थिए । यसैगरी आजै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि आफ्नो छोराको बिहे युएईमै गराउँदैछन् । केही समय अघि अन्य उद्योगी व्यवसायीहरुले पनि आफ्नो छोरोको बिहे भारतलगायतका मुलुकमा गएर गराएका थिए ।

यसरी बिहे गराउँदा विदेशी मुद्रा अपचल भएको हुनसक्ने भन्दै नेपाल राष्ट्र बैंक लगायतका अन्य सरकारी संयन्त्रले सो विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यस्तै शेखर गोल्छाले आफ्नो छोरोका बिहे युईएमा गराउँदा विदेशी मुद्रा अपचल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । उजुरी परेसँगै यस विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन लागिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकले शोधनान्तर घाटा उच्च रुपमा बढेको, विदेशी मुद्रा संचितीमा गिरावट आएको भन्दै भिजिट भिसा तथा कामदार भिसामा जाँदा डलर सटही सुविधालाई कडाई गरेको छ । तर, पछिल्लो समय नेपालका धनाढ्यहरुले आफ्नो छोराछोरीको बिहे विदेशमा गराउँदा ठूलो मात्रामा विदेशी मुद्रा विदेशिने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कुनै पनि नेपालीले आफ्नो छोराछोरीको बिहे विदेशमा गराउँदा करोडौं रुपैयाँ खर्च हुन्छ, त्यो पैसा उनीहरुले कसरी जुटाउँछन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘यसरी बिहे गर्दा व्यवसायीहरुले विदेशी मुद्रा अपचलन गर्नुका साथै हुण्डी लगायतका कारोबारलाई प्रशय दिएका हुन्छन् ।’

नेपालीहरुले ठूलो पैसा खर्च गरेर विदेशमा गएर बिहे गर्ने क्रम बढेसँगै सो सम्बन्धमा छानविन प्रक्रिया अघि बढाएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । ‘नेपालबाट विदेशमा पैसा लैजान पाइदैन तर उनीहरुले कुन माध्यमबाट लगानी जुटाएर बिहे गरेका छन् सो सम्बन्धमा विस्तृत रुपमा छानविन प्रक्रिया अघि बढाएका छौं,’ उक्त स्रोतले भन्यो, ‘यस विषय राष्ट्र बैंकले सम्बद्ध व्यक्तिहरुलाई पनि वार्निङ दिइसकेका छौं ।

सरकारले पुँजी पलायनलाई रोक्न विदेशमा लगानी गन समेत रोक लगाएको छ । कानूनी रुपमा कुनै पनि नेपालीले नेपालबाट गैरकानूनी रुपमा पैसा लगेर बिहे गर्नुबाहेक विदेशमा आफ्नो कुनै आम्दानीको स्रोत देखाउन सक्दैन । यस्तो अवस्थामा धनाढ्यहरुले के कसरी विदेशमा पैसा लगेर बिहे गरिरहेका छन् यो सम्बन्धमा सरकारले छुट्टै नीति बनाएर कानूनी दायरामा ल्याउनुपर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कुनै पनि व्यक्तिले पैसा छ भन्दैमा कानूनभन्दा माथि गएर कुनै पनि क्रियाकपाल गर्न पाउँदैनन्,’ एक कानुन व्यवसायीले भने, ‘अबका दिनमा यसलाई कडाई गर्ने वा रोक लगाउने हो भने सरकारी तवरबाटै छानविन हुनु जरुरी छ ।’ साथै सो विषयमा राज्यले छुट्टै नीति समेत अबलम्बन गनुपर्ने ती कानुनविद्को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL