Logo

चितवनमा वर्षाले एक करोड इँट्टा नष्ट, बेमौसीमा वर्षाले व्यवसायीको करोडौं लगानी डुब्यो

चितवनमा वर्षाले एक करोड इँट्टा नष्ट, बेमौसीमा वर्षाले व्यवसायीको करोडौं लगानी डुब्यो



काठमाडौं । वर्षाले चितवनका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ ।

माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् ।

कोभिड १९ अघि १८ उद्योग सञ्चालनमा थिए । अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन् । सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा रहेका थिए । पानीले सबै इँट्टा नष्ट भएका छन् । “सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँट्टा नष्ट भएका छन् ।” यसबाट करोडौँ रुपैयाँ नोक्सानी भएको उनको दाबी छ ।

आफ्नो बिके इँट्टा उद्योगका १५ लाख काँचो इँट्टा नष्ट भएको उनले जानकारी दिनुभयो । इँट्टा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताए । “आत्मनिर्भर इँट्टा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेका छन् ।” सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उनको भनाइ छ ।

इँट्टा पकाउन प्रयोग हुने कोइला बाहेक अन्य कच्चा पदार्थ यहीँ पाइन्छ । केही जनशक्ति भारतबाट ल्याइन्छ । ठूलो सङ्ख्यामा नेपालीले स्वदेशमै रोजगारी पाएका छन् । पूर्वी चितवनको खैरहनीस्थित लालपुरमा रहेको मनकामना इँट्टा उद्योगमा रहेका १० लाख काँचो इँट्टा नष्ट भएका छन् । उद्योगका सञ्चालक पुष्प पियाले वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताए । एक हजार काँचो इँट्टा बनाउन मजदूरलाई मात्रै एक हजार २०० दिनुपर्ने भन्दै उनले माटो, बालुवालगायत सामग्री खरिद गर्दा ठूलो लगानी हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL