Logo

शहरी सौन्दर्यमा अवरोध बन्दै काठमाडौंका आकाशेपुल, व्यापारिक स्वार्थको परिणाम भोग्दै महानगर

शहरी सौन्दर्यमा अवरोध बन्दै काठमाडौंका आकाशेपुल, व्यापारिक स्वार्थको परिणाम भोग्दै महानगर



काठमाडौं । करिव ८ बर्षअघि नै काठमाडौं महानगरपालिकाले होर्डिङबोर्डरहित काठमाडौंको घोषणा गरेको थियो । त्यसयता नै महानगरपालिकाले खुल्ला स्थानमा, घरका ठुला भित्ताहरुमा, छतमा राखिएका होर्डिङ बोर्डहरु, भित्तामा टाँसिएका पर्चापम्पलेट, भित्तेलेखनलगायत हटाउने, उप्काउने र मेट्नेजस्ता कार्य गर्दै आएको छ ।

laxmi

यसका लागि काठमाडौं महानगरपालिकाले ‘विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति २०७०’ कार्यान्वयन गर्नेगरी नीतिगत व्यवस्थापन नै गरेको थियो । जसमा काठमाडौंको शहरी सौन्दर्यलाई जोगाउन अनावश्यक रुपमा राखिएका पर्चा, पम्पलेट, होर्डिङबोर्डलगायत तत्काल हटाउने निर्णय गरेको थियो । त्यसयता करिवकरिव महानगरपालिकामा देखिने गरेका ठुला र अनधिकृत विज्ञापन बोर्डहरु हटिसकेका छन् । तर, शहरी सौन्दर्यलाई चुनौती दिदैं काठमाडौंमा बनेको अधिंकाश पुराना आकाशेपुलमा भने अहिले पनि विज्ञापन भइरहेको छ । मध्य काठमाडौंका आकाशेपुलहरुमा विज्ञापन देखिरहन्छन् । काठमाडौंले विज्ञापनरहित काठमाडौंको घोषणा गरिसकेपछि पनि आकाशेपुलमा विज्ञापन अझै रहनुको कारणबारे सबैलाई प्रश्न उब्जन सक्छ । विगतमा व्यापारिक स्वार्थमा भएका सम्झौताले अहिले काठमाडौं महानगरलाई नै गिज्याइरहेको छ ।

कतिओटा आकाशेपुलमा विज्ञापन छन् ?

हाल काठमाडौंको मध्य भाग अर्थात रत्नपार्क वरिपरि मात्रै ९ ओटा आकाशेपुल संचालनमा छन् । तीमध्ये ६ ओटा पुराना आकाशे पुल काठमाडौं महानगरपालिकाले आफै बनाएको हो भने अन्य आकाशेपुल निजी कम्पनी इन्नोभेटिभ कन्सेप्ट प्रालिले बनाएको हो । निजी कम्पनीले यति मात्रै नभएर चक्रपथमा पर्ने (हाल भत्काईएका)कलंकी र नयाँ बसपार्कका २ आकाशेपुल पनि निर्माण गरेको थियो । कम्पनीले उपत्यकामा कुल ६ ओटा आकाशेपुल बनाएको छ । सोही कम्पनीले नै आफुले बनाएका पुलमा विज्ञापन राख्दै आएको छ ।

कम्पनीले २०५८ सालमै आकाशेपुल बनाउने र आकाशेपुलमा केहि व्यवसाय नै गरेर लगानी उठाउनेगरी सम्झौता गरेको थियो । कम्पनीले आफ्नो म्याद नसकिँदासम्म त्यो सरकारको जिम्मामा आउँदैन र त्यहाँसम्म उसले आफ्नो मनपरी गरिरहन पाउने सम्झौतामा उल्लेख गरिएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्य बताउँछन् । कम्पनीको म्याद २५ बर्षको हुन्छ । हालसम्म २० बर्ष सकिएको र बाँकी ५ बर्ष कम्पनीले यसैगरी विज्ञापन राख्ने उनले बताए ।

२०७० मा आएको विज्ञापन होर्डिङ बोर्ड नियमन नियमावलीले भने पुराना पुललाई नसेमेट्ने हुनाले पनि आकाशेपुलमा विज्ञापन देख्नुपर्ने अवस्था आएको काठमाडौं महानगर प्रहरी प्रमुख (एसपी) धनपति सापकोटा बताउँछन् । उनका अनुसार काठमाडौंमा हाल नयाँ बनिरहेका बाहेकका आकाशेपुलमा पुरानै सम्झौता अनुसार विज्ञापन देखिँदै आएका छन् । यी विज्ञापनलाई नयाँ नियमावलीले नसमेट्ने उनले बताए ।
नयाँ बन्ने आकाशे पुल कस्ता ?

काठमाडौं उपत्यकामा बढ्दो सवारीचाप र जनसंख्याका बाबजुद फुटपाथ भने घट्दै गइरहेका छन् । यसले सडकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई बाटो काट्न अप्ठ्यारो हुने गरेको छ । जसका कारण बेलाबेलामा यसकै कारण पनि उच्च रुपमा सवारी जाम हुने, दुर्घटना हुने गरेको काठमाडौं महानगरपालीकाको अनुमान छ । तर, त्यस्ता स्थानमा आकाशेपुल वा अन्डरपास बनाउँदा सवारीसाधन सडकमा निरन्तर चल्न पाउने र पैदलयात्रुलाई पनि सडक पार गर्न अप्ठ्यारो नहुने बताउँछन् प्रहरी प्रमुख सापकोटा । उनका अुनसार यसअघिका आकाशेपुलहरु कंक्रिटका पुरै पुल नै ढाक्नेगरी बनाईएका छन् ।

जसका कारण सडकबाट पुलमा हेर्दा पुलमा के भईरहेको छ भन्नेसम्म जानकारी हुँदैन । अर्थात पुलमा लुटपाट वा अवैधानीक काम भईरहेको कुरा तलबाटै नदेखिने भएपछि यस्ता आकाशेपुलमा अवैधानीक काम बढि नै हुने र सुरक्षा खतरा पनि हुने गरेको छ । तर, अब बन्ने आकाशेपुल भने पारदर्शी र स्टिलका हुने उनी बताउँछन् । ‘पुराना पुलहरु पुरानो डिजाईनका भए यीनीहरुले एकातिर सुरक्षा खतरा बढाएका छन् भने अर्काेतिर शहरलाई नै कुरुप बनाईदिएका छन्,’ उनले भने, ‘अब बनिरहेका र बन्ने पुल भने शहरी सौन्दर्यलाई डिस्टर्व नगरी पुलमाथि हुनेगरेको क्रियाकलाप तलैबाट देखिने बन्नुपर्छ ।’

पछिल्लो समय बानेश्वर, कोटेश्वर, चावहिललगायतका क्षेत्रमा यस्तै पुलहरु बनिरहेका छन् । महानगरपालिकाले कंक्रिट पुलहरुको सट्टा स्टिलका पुलहरु नै बनाउने गरी कामको जिम्मेवारी विभिन्न निजी कम्पनीहरुलाई दिईरहेको छ । यस्ता नयाँ बन्ने पुलमा अब विज्ञापनसमेत हुनेछैनन् ।

समस्या पुराना पुल

काठमाडौंको मुटुमै रहेका पुराना ९ पुलहरुले पनि यो क्षेत्रको सौन्दर्यमा खलल पुर्याईरहेको देखिन्छ । यी पुलहरु बनाउने बेलादेखि नै व्यापारिक प्रयोजनलाई केन्द्रमा राखेर बनाईएकाले यी पुलहरु प्राय दुर्गन्धित, फोहोर, अव्यवस्थित र भीडभाडयुक्त हुनेगरेका छन् । निजी कम्पनीले आफ्नै लागतमा बनाएका यी पुलहरुमार्फत पसल कवल चलाएर र विज्ञापन टाँसेर आम्दानीसमेत गर्ने गरेका छन् । उक्त आम्दानीबाट महानगरपालिकाले निश्चित राजश्व आउने भएपनि शहरी वातावरणमा भने खलल पुर्याईरहेको जानकारहरु बताउँछन् । जसको सबैभन्दा बलियो उदाहरण हो न्युरोड जाने बाटो अगाडिको आकाशे पुल ।

यो पुलमुनी सार्वजनिक शौचालयसमेत बनाईएको छ । निजी कम्पनीले आफ्नो स्वार्थका कारण र आम्दानीको स्रोतका रुपमा आकाशे पुललाई नै लिएपछि शहरी कुरुपतासँगै वातावरण नै धुमिल हुन पुगेको देखिन्छ । उक्त आकाशे पुलमुनि बनाईएको सार्वजनिक शौचालय बाहिर हिँड्ने पैदलयात्रुहरु नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । यता अन्य स्थानमा बनाईएका आकाशे पुलमाथि पनि सामान बेच्न राख्ने गर्नाले मानिसलाई आवतजावनमा समस्या उत्पन्न भएको छ भने महानगरीय प्रहरीलाई उनीहरुलाई धपाउँदै दिन जान्छ ।

व्यापारिक प्रयोजनलाई बढी ध्यानमा राखेर बनाईएका यस्ता पुलमुनि र माथि व्यवसाय गर्नेले सम्बन्धित कम्पनीलाई १० देखि ५० हजार रुपैयाँसम्म मासिक बुझाउनुपर्ने सम्बन्धित आकाशेपुलमा व्यवसाय गर्ने व्यवसायीहरु बताउँछन् । यस्ता पुलबाट भएको आम्दानीबाट निजी कम्पनीले काठमाडौं महानगरपालिकालाई कर पनि बुझाउने गरेका छन् । तर, महानगरले यस्ता पुल हटाएर नयाँ स्टिलका पुल राख्न चाहेपनि पुरानो सम्झौता नसक्ने अवस्था रहेको देखिन्छ ।

आजभन्दा २० बर्षअघि नै गरेको सम्झौताका आधारमा यस्ता पुल भत्काउँदा पुल संचालन गरिरहेका कम्पनीले सम्झौताअनुसार क्षतिपूर्ति दाबी गर्न सक्छन् । चक्रपथ विस्तारका क्रममा कलंकी र नयाँ बसपार्ककका पुलहरु भत्काईँदा पुल बनाउने निजी कम्पनीले सर्वाेच्चमा उजुरी गरेका छन् । हाल पुल भत्काउने सडक विभाग र पहिले पुल बनाएको कम्पनीबीच मुद्दा चलिरहेको काठमाडौं महानगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL