Logo

नेपालको आयातमा भारतीयको ‘मनोपोली’, नेपालको १ हजार कन्टेनर बढी सामान बन्दरगाहमै रोकियो

नेपालको आयातमा भारतीयको ‘मनोपोली’, नेपालको १ हजार कन्टेनर बढी सामान बन्दरगाहमै रोकियो



काठमाडौं । भारतीय रेल कम्पनीका मनोपोली कारण नेपालको करिव १ हजार बढी कन्टेनर वस्तु विशाखापट्नम बन्दरगाहमै अड्किएको छ । चीनबाट भन्सार पास गरी सिपिङ कम्पनीमार्फत भारतको विशाखापट्नमसम्म आएका १ हजार कन्टेनर बढी वस्तु पछिल्लो ४ महिनादेखि बन्दरगाहामै अड्किएको व्यवसायीले जानकारी दिएका छन् । नेपालमा खासगरी चीनतर्फबाट आउने सिजनल लत्ताकपडा, खाद्यान्नलगायतका १ हजार बढी कन्टेनर हाल भारतको विशाखापटनम बन्दरगाहमै अड्किएको नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले बताए । उनका अनुसार पछिल्लो ४ महिनादेखि विनाकारण आयातकर्ता व्यवसायीका १ हजार बढी कन्टेनर बन्दरगाहमै अड्किएका हुन् ।

व्यवसायीले सिजनल व्यापारका लागि चीनबाट आयात गरेको १ हजार बढी कन्टेनर वस्तु विशाखापट्नममै अड्किदा व्यवसायीहरु मर्कामा परिरहेको उनले बताए । ‘सिपिङ लाइनकै आन्तरिक कारण भनौं या अन्य कारणले हो नेपाली व्यवसायीको १ हजार बढी कन्टेनर सामान ४ महिनादेखि बन्दरगाहमै अड्किएर बसेको छ,’ उनले भने, ‘कतिपय सामानको त म्याद सकिने बेला भईसकेको छ ।’ चीनबाट आयात गरिएको सामानमा सिपिङ कम्पनीले नै बेवास्ता गरिदिँदा र कार्गाे रेल कम्पनीको आनाकानीका कारण सामान बन्दरगाहामै अड्किएको अनुमान उनको भनाई छ । तर, उनीहरुको आन्तरिक कारणले नेपाली व्यवसायीहरुको वस्तु विग्रिन लागेको उनले बताए ।

किन आएन सामान ?

सिपिङ कम्पनीहरुले चीनको भन्सारबाट पास गरेको सामान नेपालको भन्सार विन्दुसम्मै पुर्याइदिने प्रतिवद्धता गरेका हुन्छन् । यसरी नेपालका लागि आएको सामान भारतका सामुद्रिक बन्दरगाहासम्म जहाजमा आउँछ र त्यसयता नेपालसम्म ल्याउने जिम्मा पनि सिपिङ कम्पनीकै हुन्छ । तर, जहाजबाट ओरालेको सामान स्थलमार्गबाट ल्याउनुपर्ने हुन्छ । जसको काम २ ओटा भारतीय निजी कम्पनी र एउटा सरकारी कम्पनीले रेलमार्फत नेपालसम्म वस्तु ल्याउने गरेका छन् ।

गत असारसम्म नेपालको वीरगंज भन्सारसम्म भारतीय सरकारी रेल कोंकण रेल्वेले नै यस्तो सामान ल्याइदिन्थ्यो । तर, गत असारमा नेपाल र भारतले गरेको रेल सेवा सम्झौता संशोधनपछि यस्तो काम अन्य २ निजी कम्पनीले पनि पाए । अर्थात उक्त संशोधनमा भारतीय निजी कार्गाे रेल कम्पनीले पनि नेपाली वस्तु बोक्न पाउने व्यवस्था गरिदियो । यस्तो भएपछि भारतीय निजी कार्गाे रेल कम्पनी हिन्द टर्मिनल र प्रिस्टीन लजिस्टीकले पनि नेपाली वस्तु भन्सारसम्म पुर्याउने काम गर्न थाले ।

यी २ कम्पनी थपिएपछि भारतीय सरकारी रेलको एकाधिकार तोडिएको थियो । तर, हाल भने यसले अप्ठ्यारो अवस्था सिर्जना गरेको विरगंज एकिकृत भन्सार जाँच चौकी (आईसीपी)का शाखा अधिकृत तर्क जोशी बताउँछन् । उनका अनुसार कोंकण एक्लै हुँदा कोंकणको राज हुन्थ्यो र उसले आफ्नो मनपरी हिसावले सामान ल्याउँथ्यो । तर, हाल नयाँ २ कम्पनी आएपछि कोंकण रुष्ट जस्तै बनेर सामान ओसारपसारमै आनाकानी गर्ने गरेको छ । अन्य २ कम्पनीले आफ्नो जिम्मामा रहेका कन्टेनरहरु ल्याएपनि कोंकणले भने अझै ल्याउन नसकेका कारण पनि धेरैजसो नेपाली वस्तु बन्दरगाहामै रोकिएको अवस्था छ ।

भाउ खोज्दै कोंकण

भारतीय सरकारी रेल्वे कम्पनी कोंकण रेल सेवा सम्झौता संशोधन भएदेखि नै असन्तुष्ट थियो । त्यसमाथि नेपालमा निजी क्षेत्रका रेल कम्पनीले पनि सामान ओसार्न थालेपछि बीचमा कोंकणले रेल सेवा शुल्क २० देखि ३० प्रतिशतसम्म घटाएको थियो । अन्य दुई निजी कार्गाे कम्पनीको व्यापार धराशायी पार्नकै लागि कोंकणले यो हतकण्डा अपनाएपनि त्यो सफल भएन ।

कोंकणले आफ्नो शुल्क घटाएपनि अन्य दुई कम्पनी चलिराखेकाले कोंकणले अब भने नेपालमा वस्तु पुर्याउन आनाकानी गरेको जानकारहरु बताउँछन् । हाल हिन्द टर्मिनलले मरेस्क सिपिङ कम्पनीका कन्टेनर मात्रै ल्याउने गरेको छ । यता प्रिस्टिन लजिस्टिकले पनि आफ्नो जिम्मामा आएका कन्टेनरमात्रै रेलमार्फत नेपालमा ल्याउने गरेको छ । तर, अन्य बाँकी कन्टेनर भने कोंकणले नै ल्याउने गरेको छ । हाल कोंकणले नेपालका लागि पठाउने रेलको संख्यामा कमी ल्याएका कारण नेपाली वस्तु बिशाखापटन्ममै रोकिएको बताइएको छ ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोंकण) लाई एकाधिकार दिइएको थियो । १७ वर्षपछि भारतीय रेलको एकाधिकार तोड्दै गत असार २५ गते नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन गरिएको थियो । रेल सेवा सम्झौता संशोधन भएपछि नेपाली रेल भारतको विशाखापट्नम र हल्दियासम्म चल्न पाउने र भारतीय सरकारी कार्गाे रेलको एकाधिकार तोडिएको बताइएको थियो ।

नेपाल र भारतबीच भएको रेल सेवा सम्झौता संशोधनमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो ।

भन्सार कार्यालय विरगंजका अनुसार हालसम्म तेस्रो मुलुकबाट नेपालमा आउने वस्तुको धेरै हिस्सा विशाखापटनम र कम हिस्सा कलकत्ता बन्दरगाहाबाट हुन्छ । अर्थात नेपाल आउने कन्टेनरको ४० प्रतिशत हिस्सा कलकत्ताबाट हुन्छ भने ६० प्रतिशत हिस्सा बिशाखापटनमबाट हुन्छ । यस्तो बेलामा रेलवे कम्पनी आनाकानी गरिदिँदा र एकैचोटी धेरै सामान आउँदा पनि बन्दरगाहामा कन्टेनरको जाम भएको नेपाल चेम्बर अफ कमर्सको वाणिज्य तथा व्यापार सहजीकरण समितिका अध्यक्ष निरज राई बताउँछन् । सोमबारसम्म विशाखापट्नममा १५ देखि १६ सय कन्टेनर नेपालीका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL