Logo

उत्पादनमुलक क्षेत्रमा लगानी र आयातको अन्तरकथा : साढे ५ बर्षमा उद्योगमा साढे २ खर्ब लगानी, ७३ खर्बको वस्तु आयात

उत्पादनमुलक क्षेत्रमा लगानी र आयातको अन्तरकथा : साढे ५ बर्षमा उद्योगमा साढे २ खर्ब लगानी, ७३ खर्बको वस्तु आयात



काठमाडौं । नेपाली अर्थतन्त्र पछिल्लो समय बढ्दो आयात व्यापारका कारण संकटोन्मुख अवस्थामा पुगेको छ । वार्षिक बजेटभन्दा आयातको आकार ठूलो हुँदै जाँदा अर्थतन्त्र संकटमा पर्ने आर्थिक विश्लेषकहरुले बताइरहेका छन् । बढ्दो आयातको व्यापार र घट्दो स्वदेशी उत्पादनका कारण नेपालको वैदेशिक मुद्रा संचितिमा संकुचन आएको छ ।

जसका कारण शोधनान्तर स्थितिमा कमजोर बन्दै गएको देखिन्छ । जुनसुकै सरकारले पनि केही वर्षदेखि उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर नेपालमै वस्तु उत्पादन गरी विदेशी वस्तु आयातलाई निरुत्साहन गर्नुपर्ने जोड दिँदै आएका छन् । सोमबार मात्रै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई पनि आयात र व्यापारमा भन्दा उत्पादनमुलक उद्योगका क्षेत्रमा लगानी २ गुणाले बढाउन निर्देशन दिएका थिए । उनको आशय पछिल्लो समय बढीरहेको आयात र यसले अर्थतन्त्रमा निम्त्याएको संकटमा केन्द्रित थियो ।

अर्थमन्त्री शर्माले कृषि, पर्यटन, उत्पादनमुलक क्षेत्रमा लगानीलाई प्रोत्साहन गरी नेपालमै वस्तु उत्पादनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए । अर्थमन्त्री शर्मा हरेकजसो कार्यक्रमहरुमा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । यसअघिका अर्थमन्त्री विष्णु पौडेल, डा. युवराज खतिवडा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाई स्वदेशी उत्पादनमा विशेष जोड दिनुपर्ने बताउँदै आएका थिए । तर, पछिल्ला दिनमा नेपालमै उत्पादन बढाउने सरकारी योजना र प्रतिबद्धताबीच पनि लगानी भने सोहीअनुसार भएको देखिँदैन ।

के छ लगानीको अवस्था ?

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा उत्पादनमुलक क्षेत्रमा ४० अर्ब ५७ करोड २५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो प्रतिवद्धता गत आर्थिक बर्षभरीको तुलनामा २१ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक बर्षभरी विभागमा उत्पादनमुलक क्षेत्रमा १९ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । यस्तै त्यसको अघिल्लो आव अर्थात आव २०७६÷७७ मा पनि उत्पादनमुलक क्षेत्रमा १९ अर्ब ६२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ । पछिल्लो साढे ५ बर्षमा नेपालको उत्पादनमुलक क्षेत्रमा मात्रै २ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ बराबरको लगानी स्विकृत भएको छ । यो कुल लगानीको झण्डै साढे १९ प्रतिशत हो । नेपालमा पछिल्लो साढे ५ बर्षमा कुल १२ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आउँदा त्यसमा सबैभन्दा बढी हिस्सा उर्जामुलक क्षेत्रको छ । तर, उत्पादनमुलक क्षेत्रको लगानी भने जम्मा साढे १९ प्रतिशत मात्रै हुनुले पनि यो क्षेत्रमा निराशाजनक अवस्था देखिन्छ ।

पछिल्लो साढे ५ बर्षमा उत्पादनमुलक क्षेत्रका ५ सय ८१ परियोजनामार्फत भित्रिएको लगानीबाट ५० हजार ९ सय ७० जनाले रोजगारी पाउने उल्लेख गरिएको छ । चालु आवकै कुरा गर्दा पनि उत्पादनमुलक ६४ परियोजनामार्फत आएको लगानी प्रतिवद्धतामार्फत ७ हजार ४ सय ८८ जनाले रोजगारी पाउने बताईएको छ । चालु आवको पछिल्लो ६ महिनामा उद्योग विभागमा कुल १ खर्ब ८६ अर्ब रुपैयाँ लगानीमध्ये दोस्रो स्थानमा उत्पादनमुलक क्षेत्र परेको छ ।

पछिल्लो ६ बर्षको तथ्यांकलाई हेर्दा आर्थिक बर्ष २०७४÷७५ मा उत्पादनमुलक क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागका अनुसार उक्त बर्ष नेपालमा ७७ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता उत्पादनमुलक क्षेत्रमा मात्रै आएको थियो । त्यसको अघिल्लो बर्ष आव २०७३÷७४ मा भने उक्त क्षेत्रमा जम्मा ४३ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । आव २०७५÷७६ मा अघिल्लो आवको तुलनामा उत्पादनमुलक क्षेत्रमा लगानी घटेर ५१ अर्ब १३ करोडको मात्रै भएको थियो । यसरी तथ्यांक हेर्दा पछिल्लो साढे ५ बर्षमा उत्पादनमुलक क्षेत्रमा आउने लगानी प्रतिवद्धतामा तीव्र उत्तारचढाव आएको देखिन्छ । यसरी उत्पादनमुलक क्षेत्रमा लगानी प्रतिवद्धता आएपनि प्रतिवद्धताअनुसार लगानी नआउँदा भने वस्तु उत्पादन हुन नसकेको विज्ञहरु बताउँछन् ।

घटेन वस्तु आयात

उत्पादनमुलक क्षेत्रमा लगानीका लागि विभिन्न पहल भएपनि लगानी नआउँदा स्वदेशी उत्पादनमा लगातार गिरावट आउने गरेको छ । जसको प्रत्यक्ष असर वस्तु आयातमा पर्ने गरेको देखिन्छ । नेपालमै वस्तु उत्पादन न्यून हुँदा विदेशी वस्तुहरुको भर पर्नुपर्ने वाध्यता छ । भन्सार विभागको तथ्यांकलाई केलाउँदा पछिल्लो साढे ५ बर्षमा नेपालले ७३ खर्ब ८५ अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमा सबैभन्दा बढी वस्तु आयात गत आर्थिक बर्ष भएको देखिन्छ ।

नेपालले गत आर्थिक बर्षभरी १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ बढीको वस्तु विभिन्न देशबाट आयात गरेको थियो । नेपालले चालु आवको पछिल्लो ६ महिनामा मात्रै ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । चालु आवमा वस्तु आयात यही रफ्तारमा बढे बर्षभरी २० अर्ब बढीको वस्तु आयात हुनसक्ने आँकलन गरिएको छ । अघिल्लो आर्थिक बर्ष २०७६÷७७ मा नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो । यसअघिका वस्तु आयातका तथ्यांक केलाउँदा नेपालले हरेक बर्ष बजेट रकम बराबरको वस्तु आयात गर्ने गरेको देखिन्छ ।

किन बढेन वस्तु उत्पादन ?

नेपाल राष्ट्र बैंकले पनि उत्पादनमुलक क्षेत्रलाई सन्तुलित बनाउन र निरन्तरता दिनका लागि विभिन्न सहुलियत कर्जाहरुको व्यवस्था गरिदिएको छ । यसरी व्यवस्था गरिएका कर्जाहरुमा पहुँचवालाहरुको हालीमुहालीका कारण सम्बन्धित क्षेत्रसम्म उक्त सहुलियतपुर्ण कर्जाहरु पुग्न पाउँदैनन् र भनेबमोजिम उत्पादनमुलक क्षेत्रमा काम हुन सकेको छैन् । यसले नेपालमा वस्तु उत्पादनलाई भन्दा आयात र व्यापारलाई प्रोत्साहन गर्ने गरेको देखिन्छ ।

उपल्लो ओहोदाका पदाधिकारीहरुले भाषण गरेर मात्रै उत्पादनमुलक क्षेत्रमा लगानी बढाई वस्तु उत्पादन नबढ्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय नेपालमा उत्पादिन वस्तुहरुले छिमेकी देश भारत र चिनियाँ वस्तुहरुसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । नेपालम उत्पादित वस्तुहरुको लागत बढेर आकाशिएको छ जुन चिन्ताको विषय बनेको छ । यसरी वस्तु उत्पादनमा लागत बढ्दा विदेशी वस्तुहरुभन्दा महंगो हुनेभएपछि पनि आयात बढेको र स्वदेशी वस्तुको खपत र उतपादन नै घटेको उनले बताए । ‘पछिल्लो समय नेपालमा उत्पादित वस्तुको लागत आकाशिएको छ, जसलाई नियन्त्रण नगरे शतप्रतिशत वस्तु आयात गरेरै खपत गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘निजी र सरकारी निकायहरुको समन्वयमा वस्तु लागत घटाउने र प्रतिस्पर्धी बनाउने उपायको खोजीको आवश्यक परेको छ ।’

यस्तै नेपालमा उद्योग क्षेत्रमा लगानी गरेपशचात भएको आम्दानीमा सरकारले आँखा गाडेकाले पनि उद्योगीहरु उत्पादनबाट पलायन भएर व्यापारतर्फ लागेको उनको भनाई छ । सरकारले उद्योगीहरुबाट कच्चा पदार्थको आयातदेखि उत्पादिन वस्तु विक्री गर्दासम्म कर लिँदा नेपालमा उत्पादित वस्तु महंगो हुन्छ । यसले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैन र उद्योगीहरु पलायन हुने सम्भावना बढेर गएकोे उनले बताए । उद्योग विभागमा लगानी प्रतिवद्धता आएपनि सोहीअनुसार लगानी नभित्रिनाले नेपालमा उत्पादन उद्योगहरुमा ठूलो गिरावट आईरहेको देखिन्छ । सरकारले नीतिगत कदम चालेर उत्पादनमुलक उद्योगलाई बैंकिङ सहायता, करछुटलगायतका बिषयमा गहन भएर लागेमा मात्रै नेपालमा वस्तु उत्पादन बढाउन सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL