Logo

कोभिडले बढायो खोपको आयात, धेरै आयात हुने सूचीको नवौं स्थानमा

कोभिडले बढायो खोपको आयात, धेरै आयात हुने सूचीको नवौं स्थानमा



काठमाडौं । कोरोना संक्रमण रोकथामको लागि भन्दै सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन थालेसँगै खोपको आयातमा नेपालको अर्बौ रुपैयाँ विदेशिएको छ । सरकारले भारत, चीन, अमेरिकालगायत देशबाट कोरोनाविरुद्धको खोप खरीद गरिरहेको छ । जसको असर नेपालको आयात व्यापारमा पनि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा मात्रै नेपालले २० अर्ब ४६ करोढ ६३ लाख रुपैयाँ बराबरको खोप आयात गरेको छ ।

अघिल्ला बर्षहरुमा प्रतिबर्ष १ देखि २ अर्बको बीचमा आयात हुने गरेको यस्तो खोप गत आर्थिक बर्षभरी भने ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको पुगेको थियो । तर, चालु आवको ६ महिनामा मात्रै नेपालले गत आवको तुलनामा १३ अर्ब बढीको खोप आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले पछिल्लो ६ महिनामा ७ हजार रुपैयाँ भन्सार राजस्व उठाउँदै २ लाख २० हजार ९४० किलो खोप आयात गरेको हो ।

यस्तो खोपको आयात अघिल्लो आर्थिक बर्ष २०७६-७७ मा जम्मा २ अर्ब १३ करोड ५३ लाख रुपैयाँ बराबरको मात्रै भएको विभागको तथ्यांकमा उल्लेख छ । जुन गत आर्थिक बर्षमा झण्डै ५ अर्बले बढेर ७ अर्ब ६७ करोड रुपैयाँ बढि पुगेको थियो । यस्तै त्यसको अघिल्लो बर्ष अर्थात आव २०७५-७६ मा भने नेपालले जम्मा १ अर्ब ९५ करोड रुपैयाँ बराबरको खोप आयात गरेको थियो ।

यसरी सन २०१९ को अन्त्यबाट विश्वभर सुरु भएको कोरोना नेपालमा तीव्र फैलियो । विश्वका अन्य देशहरुले कोरोनाविरुद्ध एन्टीबडी उत्पादन गर्ने खोप आविस्कार गरेर विभिन्न देशमा पठाउन थाले जसमा नेपाल पनि एक हो । यसरी नेपालमा आयात भएको खोप कतिपय अनुदानमा, सहयोगमा र कतिपय नेपालले खरिद पनि गरेर ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालले पछिल्लो २ बर्षमा अत्याधिक खोप आयात गर्दा हालसम्मकै धेरै अर्थात २० अर्ब रुपैयाँ बढीको खोप चालु आवको ६ महिनामा आयात भएको देखिएको हो । सरकारले सबै नेपालीलाई कोरोना खोप लगाउने उद्धेश्यले विभिन्न राष्ट्रहरुबाट खोप आयात गरिरहेको छ । जसका कारण यो बर्ष खोप नेपालमा धेरै आयात हुने वस्तुको सूचीको नवौं स्थानमा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाविरुद्धको ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप विभिनन देशहरुबाट प्राप्त भएको छ । नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनामध्ये ५३ प्रतिशतले कम्तिमा एक मात्रा र ४२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म २ करोड ९३ लाख ५ हजार मात्रा खोप लगाइकिएको मन्त्रालयको तथ्यांक छ । यस अवधिमा नेपालले चीन, बेल्जियम, भारत, नेदरल्याण्ड, आयरल्याण्ड, इन्डोनेसियालगायतका देशहरुबाट खोप आयात गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL