Logo

कोरोना इफेक्ट : फिल्म हल र रात्रिकालीन व्यवसाय माघ १५ सम्म बन्द गर्ने सरकारको निर्णय

कोरोना इफेक्ट : फिल्म हल र रात्रिकालीन व्यवसाय माघ १५ सम्म बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले फिल्म हल र रात्रिकालीन व्यवसायमा रोक लगाउने निर्णय गरेको छ । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई यी क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए । यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको र ती पालना गर्नुपर्ने मन्त्री कार्कीले बताए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग हो

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । मन्त्री कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए ।

उनले भने, “नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण-विस्तार रोक्न आग्रह गर्दै आएको छ ।” नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
MBL