Logo

डेढ अर्ब उठाएर भाग्ने अग्रवालको विस्तृत विवरण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन, मुचुल्का उठाउन सीईओको दौडधुप

डेढ अर्ब उठाएर भाग्ने अग्रवालको विस्तृत विवरण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन, मुचुल्का उठाउन सीईओको दौडधुप



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंकसँग ऋण लिएर भागेका ग्रीनलाईन सेन्टरका संचालक अमित अग्रवाल र अभिषेक अग्रवालको विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित बैंकलाई निर्देशन दिएको छ । दाजुभाईद्वय अग्रवालले ५ वाणिज्य बैंकबाट १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर भागेको समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले उनीहरुले लिएको ऋणको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सम्बद्ध बैंकहरुका अनुसार उनीहरुलाई इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी कर्जा दिएको बुझिएको छ । इन्भभेष्टमेन्टले अग्रवाललाई २५ करोड रुपैयाँभन्दा बढी कर्जा दिंदा मेगा बैंकले २५ करोड, एभरेष्ट बैंकले २२ करोड, ग्लोबल आईएमई बैंकले १९ करोड रुपैयाँ कर्जा दिएको बुझिएको छ । यसैगरी नेपाल बंगलादेश बैंकले पनि उनीहरुलाई कर्जा दिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । तर बैंकहरुले उनीहरुलाई एकिन रुपमा के कति कर्जा दिएको छन् भने विस्तृतमा जानकारी आईसकेको छैन ।

यता बैंकहरुले पनि अग्रवाल दाजुभाईलाई के-कति कर्जा दिएको हो भन्ने विषयमा खुलाउन चाहेका छैनन् । बैंकहरुले धितोको आधारमा भन्दा पनि व्यवसाय र स्टकको आधारमा प्लेज अर्थात हाईपोजेटिकल कर्जा दिएका कारण समस्यामा पर्न सक्ने सम्बद्ध स्रोतको भनाई रहेको छ ।

अग्रवाल दाजुभाई भागेसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकहरु उनीहरुको सम्पत्ति खोजी गर्दै मुचुल्का उठाउँदै हिडेका छन् । सोहीक्रममा मंगलबार ग्लोबल आईएमई, एभरेष्ट र मेगा बैंकले मुचुल्का उठाएका थिए । अग्रवालहरुको स्टोर्सहरुमा पुगेर सुचना टास गरेको इन्भेष्टमेन्ट बैंकले पनि मुचुल्का उठाइसकेको बुझिएको छ ।

अग्रवाल दाजुभाईले ज्ञानेश्वरमा १७ आना जग्गामा बनेको घर, सोही स्थानको १७ आना जग्गा, कालीमाटीको घर, विभिन्न स्थानमा रहेका अपार्टमेन्टको फ्ल्याट, रामकोटको ४० आनाभन्दा बढी जग्गा धितो राखेर कर्जा लिएको बुझिएको छ । तर उनीहरुले उक्त धितोको आधारमा मल्टिपल कर्जा लिएका कारण कुनै पनि धितो एउटै बैंकले लिलाम गर्न सक्ने अवस्था नरहेको सम्बद्ध स्रोतको भनाई रहेको छ ।

अग्रवाल दाजुभाई नेपालबाट भागेसँगै सहकारी, मिटरब्याजी र उनीहरुको जग्गा खरिदका लागि बैना दिएका व्यक्तिहरु पनि सम्पर्कमा आउन थालेका छन् । उनीहरु करिव आधादर्जन सहकारीमार्फत विना धितो करोडौ रकम ऋण लिएको बुझिएको छ भने मिटरब्याजीसँग पनि करिव ५० करोड रुपैयाँ हाराहारीमा उठाएको उनीहरु निकट स्रोतले जानकारी दिएको छ ।

यसैगरी उनीहरुले ठगी गर्ने नियतले बैंकमा धितोमा रहेको घर र जग्गा फुकुवा गरेर सस्तोमा दिन्छु भन्दै एउटै घर वा जग्गा देखाएका ३।४ जनासँग बैंना लिएको बुझिएको छ । त्यसरी उनीहरुले करिव १ दर्नन व्यक्तिसँग करोडभन्दा माथिका दरले घर तथा जग्गाको बैना उठाएको उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL