Logo

पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन, एक हप्ताभित्रै प्रतिवेदन

पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन, एक हप्ताभित्रै प्रतिवेदन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो ।

पाँच सदस्यीय उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहेका छन् भने मन्त्रालयका लेखा उपसचिव सदस्यसचिव छन् ।

उक्त समितिलार्ई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालार्ई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उक्त धर्मशालालार्ई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लार्ई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

धर्मशालाका विषयमा छानबिनका लागि युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलार्ई आज शुक्रबार ज्ञापनपत्र दिएको छ । ‘मित्र राष्ट्र भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जास्पद विषय हो,’ उक्त विज्ञप्तिमा उल्लेख छ । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने आश्वासन दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL