Logo

विद्युत खपत बढाउन हामीले नै अनुरोध गरेका हौं, अब समस्या नआउने गरि प्रणाली सुधार्छौ : कुलमान घिसिङको विचार

विद्युत खपत बढाउन हामीले नै अनुरोध गरेका हौं, अब समस्या नआउने गरि प्रणाली सुधार्छौ : कुलमान घिसिङको विचार



काठमाडौं । काठमाडौंमा विगत केहिदिनदेखि विद्युत आउने जाने समस्या निम्तियो । उपत्यकामा जाडो बढेपछि एकाएक हामीले सोचेको भन्दा बढी लोड आउँदा विभिन्न स्थानका ट्रान्सर्फरमा र फिडरमा आगो लाग्ने समस्यासमेत देखियो । यो समस्या देशभर नभई काठमाडौंमा मात्रै देखिएको समस्या हो । काठमाडौंमा पनि सबै स्थानमा नभई केही केही स्थानमा मात्रै होे । र, यो विद्युत आपुर्तिका कारणले निम्तिएको समस्या पनि होईन । हामीसँग पुग्नेजति विद्युतको आपुर्ति छ । हाल साँझको बेला मात्रै विद्युतको उच्च माग करिव १७ सय मेगावाट पुगेको छ । भने बिहान साढे १५ सय देखि १६ सय सम्म पुग्ने गरेको छ । त्यो माग हामीले केही विजुली आयात गरिकनै भएपनि पुर्याईरहेका छौं ।

माथिल्लो तामाकोशी आयोजनाबाट विजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जोडिईसकेपछि हामीलाई आपुर्तिमा केही सहज भएको छ । तर, विजुली आयात भने हामीले उच्च माग भएको बेलामा भन्दा पनि कम माग भएको बेलामा मात्रै गर्ने हो । हामी कालीगण्डकी, मस्र्याङ्दी, माथिल्लो तामाकोशी लगायतका जलासययुक्त आयोजनाको पानी विजुलीको माग कम भएको बेलामा जम्मा गर्ने गर्दछौं र उच्च माग भएको बेलामा विद्युत उत्पादन गर्छौैं । उक्त आयोजना बन्द अर्थात पानी जम्मा गरिरहेको बेलामा हामी विजुली आयात गर्ने हो । जसका कारण विद्युतको उच्च माग भएको बेलामा हाम्रै विद्युत खपत गर्ने गरेका छौं ।

यसले विद्युत आपर्तिमा गत बर्षको तुलनामा सहजता ल्याईदिएको छ । तर, काठमाडौंमा जाडो बढेलगत्तै लोड बढ्नु स्वभाविक हो । काठमाडौंमा गत बर्षभन्दा ८० देखि १ सय मेगावाट विद्युतको लोड बढेको छ । यो अचानक नआएर विस्तारै लोड बढ्दै गएपनि पानी परेको एक दिन अगाडी भने हामीले सोचेभन्दा बढी नै लोड थपियो । यसरी लोड थपिएपछि काठमाडौंका निश्चित स्थानमा धान्न नसक्ने अवस्था आएको हो । दिनप्रतिदिन विजुलीको लोड बढ्नु सकारात्मक हो । हामीले प्रतिदिन विजुलीको खपत बढाउनुपर्छ भनिरहँदा विजुलीको लोड बढ्नु स्वभाविकै पनि हो ।

कसरी हुन्छ विद्युत वितरण ?

राष्ट्रिय प्रशारण लाइनको विजुली कुनैपनि स्थानको सबस्टेसनमा जोडिन्छ । काठमाडौंभित्र धेरै स्थानमा यस्ता सबस्टेशन छन् । उक्त सबस्टेशनबाट विभिन्न फिडरहरुमार्फत विभिन्न ठाउँका ट्रान्सफर्मरहरुसम्म उक्त विजुली पुर्याइन्छ । काठमाडौं उपत्यकामा मात्रै करिव ३ हजार ७ सयदेखि ३ हजार ८ सयसम्म ट्रान्सफर्मरहरु छन् । ति ट्रान्सफर्मरहरुबाट उपभोक्ताको घरसम्म विजुली पुगेको हुन्छ । केहिदिन अघि पानी परेको बेलामा घरमा विजुली वितरण पुर्याउन राखिएका ट्रान्सफर्मरमा ओभरलोड भएपछि समस्या आएको थियो । हामीले जडान गरिदिने २ सय केभीको ट्रान्सफर्मरले करिव १ सय ८० किलोवाट जति मात्रै आपुर्ति दिन सक्छ ।

हाल हरेक घरमा एसी, हिटर, ईन्डक्सन राख्न थालेकाले लोड उक्त ट्रान्सफर्मरले धान्न नसक्ने अवस्था आयो । ट्रान्सफर्मर ओभरलोड भएमा कुनै जल्छन र कुनैको एमसीबी ट्रिपिङ भयो । यदि फिडरमै समस्या आएको खण्डमा ८ देखि १५ ओटा ट्रान्सफर्मरमा समस्या आउँछ र त्यही अनुसारका उपभोक्ताले समस्या खेप्नुपर्छ । फिडरभन्दा ट्रान्सफर्मरमा मात्रै ओभरलोड भएको खण्डमा त्यो ट्रान्सफर्मरबाट विजुली पुगेका १० देखि ५० घरसम्म अर्थात हामीले लोड हेरेर विजुली वितरण गरेका हुन्छौं सोही अनुसारको घरमा मात्रै समस्या हुन्छ ।

किन आयो समस्या ?

हामीले लोड आएअनुसार फिडर र ट्रान्सफर्मर थप्ने र अपग्रेड गर्ने काम पनि गरिरहेका हुन्छौं । जसका कारण समस्या आएको स्थानमा ट्रान्सफर्मर र फिडर नयाँ जडान र अपग्रेड गर्नका लागि पनि केही समय लागेकाले धेरै स्थानमा अलि लामो समय बत्ति जाने समस्या आएको थियो । केहि फिडरहरुमा समेत आगलागी भएकाले पनि समस्या आएको थियो । जस्तै सिंहदरबारभित्रको एउटा फिडरमा आगलागी हुँदा त्यो मर्मत गर्नलाई करिव एक दिन नै लाग्यो । यसले अनामनगर र डिल्लीबजार क्षेत्रमै समस्या निम्तियो । यस्तै कतिपय स्थानमा भने ट्रान्सफर्मरबाट घरघरमा पुर्याईएका केवलमा पनि आगलागी भएको थियो । त्यस्ता केबल फेर्नका लागि पनि केही समय लागेको थियो ।

लाईन काटेर ४ देखि ५ घण्टा यसको परिवर्तन गर्नका लागि लाग्छ । ललितपुरको लगनखेल शाखा अन्तर्गतको इमाडोल र त्यस आसपासका क्षेत्रमा ६०, बानेश्वर क्षेत्रका करिव ३०, रत्नपार्क क्षेत्रका केहि स्थानमा र महाराजगंज फिडरका ३० बढी ट्रान्सफर्मरमा समस्या आएको थियो । त्यो काम हामीले तत्काल समस्या समाधान गर्न चाँडोभन्दा चाँडो टिम परिचालन गर्याैं । एकदिन रातभरी र दिनभरी पानी परेकाले परिचालन गरिएको टोली पानीमै भिजेर काम गर्याे । जसका कारण केहि स्थानको समस्या समाधान भयो । हालसम्म समस्या आएका सबै ट्रान्सफर्मरहरु परिवर्तन भईसकेका छन् ।

३ महिनामा डेढ सय ट्रान्सफर्मर फेरियो

यसरी समस्या निम्तिँदै गएका स्थानहरुमा हामीले ट्रान्सफर्मर परिवर्तन गर्दै आएका छौं । लोड बढेअनुसार नयाँ ट्रान्सफर्मर राख्ने क्रममा विगत ३ महिनामा हामीले १ सय ५० बढी ट्रान्सफर्मर परिवर्तन गरिसकेका छौं । हिउँद याममा लोड बढ्ने हुनाले ओभरलोड हुने ट्रान्सफर्मर बर्खायाममा ५० प्रतिशत मात्रै संचालनमा आउँछन् । अर्थात उक्त ट्रान्सफर्मरमा ५० प्रतिशत मात्रै लोड आउने गरेको अवस्था छ । हामीले यस्ता ट्रान्सफर्मर परिवर्तन गर्दा ट्रान्सफर्मर मात्रै नभई फिडरकै लाईन काट्नुपर्ने हुन्छ ।

स्थानीयको अवरोध

हामीले हाल परिवर्तन गरिरहेका ट्रान्सफर्मरहरुमध्ये २ सय केभीएलाई अपग्रेड गरेर ३ सय केभीएको ट्रान्सफर्मर राख्ने हो । त्यो भन्दा पनि बढी लोड आए ३ सय केभीएभन्दा माथिको ट्रान्सफर्मर पोलमा राख्न मिल्दैन । त्यस्तो हुँदा हामीले २ देखि ३ सय मिटरको आसपासमा ट्रान्सफर्मर थप्ने विकल्प हुन्छ । हाल थप्ने कामहरु भईरहेको छ । तर, थप्ने काममा भने उपभोक्ताले नै समस्या निम्त्याईदिनुभएको छ । कहिलेकाहीँ ट्रान्सफर्मर थप्ने स्थान उपभोक्ताको घर वरीपरी परिदिन्छ । सोही अनुसार उपभोक्ताले पोल गाड्न र ट्रान्सफर्मर राख्नै नदिने अवस्था निम्तिएको छ ।

हामीले स्थानीय निकायहरुसँग त समन्वय गर्छाैं तर स्थानीयले धेरै स्थानमा समस्या निम्त्याईदिनुहुन्छ । कतिपय स्थानमा त विरोधै गर्न उत्रिनुपनि हुन्छ । हामी सबै उपभोक्तालाई ट्रान्सफर्मर र पोल राख्दा कुनै समस्या निम्तिदैन भन्ने सन्देश दिन चाहान्छौं । हामीले धेरै ट्रान्सफर्मर थप्नुपर्ने स्थिति छ । सोही अनुसार उपभोक्ताले समस्या बुझिदिए सजिलो हुनेथियो । हामीसँग ट्रान्सफर्मरको समस्या पनि छैन । कतिपय हामीले यहीँ बनेको, बाहिरबाट ल्याएको र मर्मत गरेको ट्रान्सफर्महरु प्रयोग गरिरहेका छौं । यस्तै फिडरमा ओभरलोड आएको खण्डमा हामीले फिडर सेयर गर्ने कामहरु भइरहेको हुन्छ । हामी एक सबस्टेसनबाट आएको फिडरमा ओभरलोड भए अर्काे सबस्टेशनबाट फिडर तान्ने काम पनि गर्छाैं । विद्युत आपुर्तिको कमी हुँदा यस्तो समस्या आएको होकी भन्ने छ । विद्युत हामी जतिपनि दिन सक्छौं । तर केही समयका लागि अर्थात निश्चित समयमा अर्थात अपर्झट आएको विद्युतको माग अत्याधिक हुँदा सिस्टमले धान्न नसकेको अवस्था हो ।

९ ओटा सबस्टेशन थप्दै

दिर्घकालिन रुपमा काठमाडौं उपत्यकामा २ हजार मेगावाट विद्युतको माग आएपनि दिन सकिने गरी ९ ओटा सवस्टेशन थप्दैछौं । हामी मातातिर्थ, चोभार, टेकु, फुटुङ, ठिमी मुलपानी, चाँगुनारायण र बालकुमारीमा सबस्टेशन बनाउँदै छौं । यी सबै सबस्टेशनको टेण्डर भएर काम अघि बढीसकेको छ । यी सबै सबस्टेशन बनिसकेपछि काठमाडौं उपत्यकामा करिव १ हजार मेगावाटको क्षमता धान्न सक्ने संरचना थप हुन्छ । काम पुरा भएमा हाल आउने सबै समस्या अबको २ बर्षभित्रै समाधान हुनेछन् ।

केवल भूमिगत

हामीले काठमाडौं उपत्यकाभित्र १ सय ३२ केभिएका लाईनहरु भुमिगत गर्ने कार्य पनि अघि बढाएका छौं । एशियाली विकास बैंकले चोभारबाट टेकु, थापाथली, बालकुमारी हुँदै भक्तपुर र जाईकामार्फत काम बालाजुबाट महाराजगंज हुँदै राजदरबारसम्म सबै केबल अन्डरग्राउन्डिङ गरिरहेका छौं । हामीले धेरै स्थानमा अन्डरग्राउन्ड केवल सम्पन्न गर्न सकेको भए फिडरमा आउने समस्या न्युनिकरण हुनेथियो । तर, समन्वयका कारण यस्ता कामहरु भनेअनुसार चाँडो सम्पन्न नहुने अवस्था आएको छ । हामीले हाल केवल अन्डरग्राउन्ड गर्ने मुख्य स्थानमा खानेपानी, ढल र सडकसँगको समन्वयमा केहि ग्याप हुँदा गर्न सकिएको छैन । सडक विभागबाट सहमति नभएसम्म हामीले काम अघि बढाउन सक्दैनौं । र खानेपानीसँग पनि समन्वय गर्नैपर्छ । हाल भित्रभित्र मात्रै केही स्थानहरुमा तार भुमिगत गर्ने कार्य भईरहेको छ त्यो पनि सम्पन्नै भने भईसकेको छैन । हाल मुख्य फिडरहरुमा हामीले काम अघि बढाउन सकेका छैनौं ।

काठमाडौं वरीपरी २ सय केभिएको रिङ बनाउने योजना अघि बढाएका छौं । भविष्यमा काठमाडौंमा २ हजारदेखि ३ हजार मेगावाट विद्युतको माग आएको खण्डमा सप्लाई दिन सकिने गरी दिर्घकालिन कामहरु अघि बढीसकेको छ । यो एकदमै जरुरी पनि छ । हामीले कीर्तिपुर, भक्तपुर र ललितपुरमा पनि यस्तो रिङ बनाउने योजना बनाएका छौं । यसले अब आगामी दिनमा काठमाडौंमा जति विजुलीको माग आएपनि धान्न सक्नेछ । केहि समय लागेपनि काम भने हँुदैछ । त्यसैले वितरण ट्रान्सफर्मरमा आएको समस्या ठुलो समस्या होईन । यदि १३२ को ट्रान्समिसन लाईनमा समस्या आयो भने वा विद्युत आपुर्तिमा समस्या आएमा मात्रै ठुलो समस्या हो । ट्रान्सफर्मर त भर्खरै परिवर्तन गर्न सकिन्छ । तर, सबस्टेशनमा समस्या वा ओभरलोड भएमा सबस्टेशन बनाउन, टेण्डर गर्नलगायतका कामहरु गर्न २ बर्ष बढी लाग्छ । (शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले व्यक्त गरेको धारणामा आधारित)

प्रतिक्रिया दिनुहोस्
MBL