Logo

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो



काठमाडौँ । जडीबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं. २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा पहिलो पटक नाफा कमाउन र त्यो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो ।

laxmi

कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवम् आधुनिकीकरणबाट अहिलेको अवस्थामा आइपुगेको र यसले आउँदा दिनमा समेत नाफा बढाउनाका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाँड्न सक्ने अवस्थामा पुग्ने बताइएको छ । कम्पनीले आव २०७६७७ मा खुद नाफाबाट सात लाख रुपैयाँ बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो ।

न्यून जनशक्ति र साधन तथा स्रोतलाई अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन ुसञ्चोु लगायत अन्य उत्पादनका सामग्रीको बिक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी सबल बन्दै गएको बताइएको छ । नियमित लेखापरीक्षण, प्रविधिको प्रयोग तथा वितरण प्रणालीमा गरिएको सुधारले कम्पनीको क्षमता विस्तार भएको र बजारमा राम्रो प्रदर्शनी गरिएको जनाइएको छ ।

‘नियमित लेखापरीक्षण गरी त्यसको प्रतिवेदन समयमै महालेखा परीक्षकको कार्यालयमा पेस गरिएको, लेखा प्रणालीलाई सुधार गरी सफ्टवेर निर्माण गरिएको, विगत २८ वर्षदेखि हुन नसकेको साधारण सभा सम्पन्न भएको र प्रत्येक वर्ष नियमित साधारण सभा समयमै सम्पन्न गरिएकाले स्थापनाको पुरानो शेयर संरचनालाई सुधार तथा परिमार्जन गर्ने दिशामा कम्पनी अग्रसर छ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पुँजी वृद्धिका लागी सर्वसाधारणलाई शेयर निष्कासन गर्ने तयारी गरेको छ । यस कम्पनीमा अहिले नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।

सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको २०७८ को सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदनमा पनि यस कम्पनीले आव २०७७/७८ मा एक करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको विज्ञप्तिमा भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL