Logo

सरकारी नीतिको प्रभाव, पाँच महिनामै दोब्बरले बढ्यो स्वदेशी लगानी

सरकारी नीतिको प्रभाव, पाँच महिनामै दोब्बरले बढ्यो स्वदेशी लगानी



काठमाडौं । नेपालमा पछिल्लो समय स्वदेशी लगानी प्रतिबद्धतामा उत्साहजनक वृद्धि देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको ५ महिनामा १ खर्ब ५२ अर्ब रुपैयाँ बढीको स्वदेशी लगानी स्वीकृत भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि मंसिर मसान्तसम्म नेपालमा १२ हजार ३ सय २१ परियोजनामार्फत उक्त लगानी स्वीकृत भएको हो । यो लगानी गत आर्थिक बर्षको यही अवधिको तुलनामा दोब्बरले बढी हो । गत आवको यही अवधिमा नेपालमा जम्मा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो ।

पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै जाँदा र सरकारले विभिन्न वस्तुहरुको आयातमा कडाई गरिरहँदा नेपालमै वस्तुहरुको उत्पादनको लहर बढ्दो छ । गत बर्षको यहि अवधि अर्थात २०७७ साउनदेखि मंसिर मसान्तसम्म उद्योग विभागले जम्मा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्रै स्वदेशी लगानी प्रतिवद्धता स्वीकृत गरेको थियो । यो बर्ष गत बर्षको तुलनामा झण्डै दोब्बर बढीको लगानी प्रतिवद्धता हो । चालु आर्थिक बर्षको बजेटमा सरकारले फलामजन्य पदार्थमा एमएस बिलेटको आयात दुरुत्साहन र स्पन्ज आईरनको आयातमा सहुलियत दिएपछि यस्ता उद्योगहरुमा लगानी बढेको छ ।

सरकाले बजेटमा नेपालमा उत्पादन सम्भव भएका धेरैजसो वस्तुको आयात भन्सारदर बढाएर नेपालमै उत्पादन गर्न प्रोत्साहन गर्ने निित अख्तियार गरेको थियो । यस्तै सरकारले निजी क्षेत्रलाई दिएको लगानी सुरक्षाको आश्वासनलाई पनि निजी क्षेत्रले सकारात्मक रुपमा लिँदा नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी बढिरहेको सम्बन्धित उद्योगीहरु बताउँछन् ।

तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्ष उत्पादनमुलक क्षेत्रका २३ परियोजनामार्फत नेपालमा जम्मा ५ अर्ब ५९ करोड रुपैयाँ मात्रै स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । चालु आवको ५ महिनामा भने उत्पादनमुलक क्षेत्रका ५९ परियोजनामार्फत ३९ अर्ब २८ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ । यो गत आवको तुलनामा झण्डै ३३ अर्बले बढी हो । स्वदेशी लगानीकर्ताहरु उत्पादनमुलक क्षेत्रमा बढी आकर्षित हुँदा यो क्षेत्रमा लगानी प्रतिवद्धता पनि बढेको सम्बन्धीत उद्योगीहरु बताउँछन् ।

यस अवधिमा नेपालमा सावुनदेखि डायपर र तारदेखि एमएस बिलेटसम्म उत्पादन गर्ने उद्योगहरु विभागमा दर्ता भएका छन् । यस्तै यसै अवधिमा फलामजन्य उद्योगका मात्रै ४ ओटा उद्योग दर्ता भएका छन् । यस्तै १० ओटा तेल प्रशोधन गर्ने उद्योगहरु पनि दर्ता भएको विभागको तथ्यांकमा देखिन्छ । यस अवधिमा टाईल, कागज, गुट्खा, पाईप, दालमोठ, च्युरा, चामल, सिरिन्ज, औषधिलगायतका वस्तुहरु उत्पादन हुने उद्योगहरु पनि उत्तिकै दर्ता भएको देखिन्छ । यस्तै यस अवधिमा सिमेन्टको क्लिंकर, गार्मेन्ट, दुईपांग्रे सवारीसाधन, फाईबर, कुखुराको दाना, जुस, पानी, प्लास्टिकका सामग्री, रासायनीक मलगायत वस्तुहरु उत्पादन गर्ने वस्तुका उद्योग पनि दर्ता भएको विभागको तथ्यांकमा छ ।

पछिल्लो समय उत्पादनमा निजी क्षेत्रको ध्यान जाँदा यसले एकातिर नेपालमा भएको वैदेशिक मुद्रा नेपालमै बस्ने र व्यापारघाटा घटाउन योगदान पुर्याउने बताईन्छ । चालु आवको ५ महिनामा उत्पादनमुलक बाहेक उर्जामुलक क्षेत्रमा ७६ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ । यो क्षेत्रका १७ परियोजनामार्फत ७६ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस्तै सेवामुलक क्षेत्रमा १७ अर्ब ६४ करोड, पर्यटन क्षेत्रमा १५ अर्ब ९४ करोड, सूचना तथा प्रविधि क्षेत्रमा १ अर्ब २० करोड र कृषि तथा वन पैदावार क्षेत्रका उद्योगमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

सरकारले चालु आर्थिक बर्षको प्रतिस्थापन बजेटमार्फत स्पञ्ज आईरतमा शून्य भन्सार दर र एमएस बिलेटमा ४ दशमलव ७५ प्रतिशत भन्सार दर कायम गरेको छ । यसका कारण नेपालमा एमएस बिलेटको उत्पादनमा बढावा दिईएको छ भने विदेशबाट आउने यस्ता एमएस बिलेटलाई निरुत्साहित गरिएको छ ।

यस्तै हालै नेपाल राष्ट्र बैंकले अनावश्यक अत्याधिक आयात हुने मदिरा, चुरोट, खैनी, स्याम्पु, फर्निचरलगायतका वस्तुहरुको आयातमा पनि कडाई गरेको छ । यस्तै नीतिका कारण नेपालमा उत्पादनमुलक उद्योगहरु खुल्ने क्रम लगातार बढिरहेको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा २९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । विभागका अनुसार पछिल्लो ५ महिनामा विभिन्न देशबाट नेपालमा लगानी गर्नेगरी ७ हजार ७ सय ७५ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । तर, त्यसको तुलनामा झण्डै ५ गुणा बढी १ खर्ब ५२ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL