Logo

कर्णालीका जनताको कृषिमा आकर्षण, पर्यटनमा भने गिरावट

कर्णालीका जनताको कृषिमा आकर्षण, पर्यटनमा भने गिरावट



काठमाडौं । हरेक क्षेत्रबाट पछाडी परेको मानिने कर्णाली प्रदेशमा कृषिसम्बन्धी क्रियाकलापहरु बढिरहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार यस क्षेत्रको कृषि क्रियाकलापमा अघिल्लो बर्षको तुलनामा केही वृद्धि भएको देखिएको हो ।
अध्ययन प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७६/७७ को तुलनामा आर्थिक बर्ष २०७७/७८ मा कर्णालीमा कृषि क्षेत्रले ढाकेको जमिन पनि ४ दशमलव ६८ प्रतिशतले बढेको छ । यस्तै खाद्य तथा अन्य वालीले ढाकेको क्षेत्रफल ४ दशमलव ५२ प्रतिशतले बढेको छ भने फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल ७ दशमलव ४५ प्रतिशतले बढेको छ ।

यसका साथै यस क्षेत्रका नागरिहरुको आकर्षण कृषिमा बढ्दा धान, मकै, गहुँ, कोदोलगायत बालीले ढाकेको क्षेत्रफलमा अघिल्लो बर्षको तुलनामा वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यता जौ बालीले ढाकेको क्षेत्रफलमा गिरावट आउँदा फापर, आलु र भटमासले ढाकेको क्षेत्रफल भने बढेको देखिन्छ । कर्णाली प्रदेशमा तरकारी बालीको क्षेत्रफल १३ हजार ८ सय २७ हेक्टर हुँदा ९ हजार ६ सय ८२ हेक्टर क्षेत्रफल जमिनका स्याउ खेति गरिएको छ ।

यता जमिन मात्रै नबढेर उक्त क्षेत्रमा कृषि उत्पादनमा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार अघिल्लो बर्षको तुलनामा यो क्षेत्रमा धान, मकै, कोदो र फापरको उत्पादन क्रमशः २, ७, ४, ५ प्रतिशतले बढेको छ । यस्तै गहँु र जौको उत्पादन भने क्रमशः ६ र ९ प्रतिशतले घटेको छ ।

यता कृषि क्रियाकलाप बढिरहँदा पर्यटन क्षेत्रमा भने निराशा छाएको अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षको तुलनामा पर्यटक आगमन ८७ प्रतिशतले घटेको छ । जसका कारण गत बर्षभरी कर्णाली प्रदेशमा भारत, चीनलगायत तेस्रो मुलुकबाट जम्मा १ हजार ३ सय ९९ जना मात्रै पर्यटक भित्रिएका थिए । तर, उक्त बर्ष कर्णालीमा पर्यटकस्तरिय होटल तथा लजको संख्यामा भने २१ दशमलव ९१ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

गत बर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कर्णाली प्रदेशको योगदान ४ प्रतिशत मात्रै छ । जसमा कृषि क्षेत्रको ३३ प्रतिशत, उद्योग क्षेत्रको १० र सेवा क्षेत्रको योगदान ५६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL