Logo

सेयर बजारमा ‘बाउन्स ब्याक’ कि ‘डेड क्याट बाउन्स’ ?, यसो भन्छन् लगानीकर्ता

सेयर बजारमा ‘बाउन्स ब्याक’ कि ‘डेड क्याट बाउन्स’ ?, यसो भन्छन् लगानीकर्ता



काठमाडौं । सोमबार र मंगलबार उच्च अंकले घट्न पुगेको नेप्से परिसुचक मंगलबार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार बजार खुलेदेखि नै उकालो यात्रा तय गरेको नेप्से अन्तिममा ६० अंक बढेर वृद्धि हुन पुगेको छ ।

मंगलबार बजार उच्च अंकले बढेपनि बजार बाउन्स ब्याक भएको हो वा डेड क्याट बाउन्स भएको हो भन्नेमा लगानीकर्ताहरु अन्यौलमै रहेका एक ठूला लगानीकर्ताले बताए । ‘धेरै लगानीकर्तामा दशैं पछि बजार बढ्छ भन्ने थियो तर आईतबार सामान्य अंकले बढेको बजार सोमबार र मंगलबार उच्च अंकले घट्न पुग्यो,’ ती लगानीकर्ताले भने, ‘जसले गर्दा लगानीकर्ताको मनोविज्ञान खस्किन पुगेको थियो ।’ साथै बैंकले निक्षेपमा उच्च ब्याज बढाउँदा कर्जामा पनि ब्याज बढ्ने डरले लगानीकर्ताको मनोवल खस्किन पुग्दा बजारमा नकारात्मक असर परेको थियो ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा कडाई गरेपछि लगानीकर्ताले केही राहत महशुस गरेका छन् । तर राष्ट्र बैंकले पनि अघिल्लो महिना दिँदै आएको ब्याजमा १० प्रतिशतसम्म थप गरेर लिन पाउने गरी गरिदिएको नयाँ ब्यवस्थाले यस अघिनै कतिपय बाणिज्य बैंकको मुद्दती निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याज दिएका कारण त्यसले खासै ठूलो प्रभाव नपार्ने समेत ती लगानीकर्ताको तर्क थियो । जसका कारण केही समयमा लागि लगानीकर्ताले ब्याजदरमा केही सहानुभुति पाएपनि दीर्घकालमा ब्याजदर बढ्ने ती लगानीकर्ताको भनाई थियो ।

‘पछिल्लो समय नेप्सेमा जुन जुन कम्पनीको सेयर घटेका छन् बढ्दा पनि तिनै कम्पनीको सेयर मुल्य मात्रै बढाइरहेका छन्,’ अर्का एक लगानीकर्ताले भने, ‘यसले बजारमा हेल्दी ग्रोथभन्दा गेम्लिङ मात्रै भइरहेको देखाउँछ ।’ नेप्सेकै तथ्याङ्क हेर्ने हो भने पनि यस अघि जुनजुन कम्पनीको सेयर मुल्यमा उच्च गिरावट आएको थियो बुधबार ९आज० सोही कम्पनीको सेयर मुल्य सर्किट लागेर बढ्न पुगेको छ ।’ यस पटक सेयर बजारमा लगानीकर्ताले बजारमा कम सेयर भएका फाइनान्स, माईक्रोफाइनान्स, विकास बैंक र जलविद्युत समुहका कम्पनीको सेयरमा मात्रै खेलेका कारण मंगलबारको बढाई बजारमा भएको बाउन्स ब्याक हो वा डेट क्याट बाउन्स हो भन्नेमा दुविधा रहेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

‘अहिले बजार बढ्नको लागि स्ट्रोङ विन्दु चाहिँ हो तर अझै बैंकिङ समुहमा हिट नहुँदा अझै घट्छ कि भन्ने पनि छ,’ सेयर बजारका विश्लेषक विष्णु बस्यालले भने, ‘अन्ततः बजार बढ्ने हो तर अझै १÷२ सय विन्दु घटेर बढ्छ वा यहिँ बिन्दुबाट उकालो यात्रा तय गर्छ भन्नेमा अझै दुविधा छ ।’ बजारको सुन्दरता घटबढमा भएपनि नेपालका लगानीकर्ताहरुको ओभर रियाक्सनले गर्दा समस्या निम्त्याएको उनको तर्क थियो । ‘बजार बढ्दा जसरी बढेको थियो घट्दा पनि त्यसरी नै घटेको हो त्यसमा अन्यथा लिने ठाउँनै छैन,’ उनले भने, ‘तर सेयर बजार प्रतिको नियमक निकायको अल्पकालिन नीतिका कारण लगानीकर्ताहरु थप दुविधामा परेका छन् ।’
पछिल्लो समय बजारमा हकप्रदको हल्लाका कारण राम्रा बोनस दिनेभन्दा पनि नराम्रा कम्पनीहरुको सेयर मुल्य उच्च रुपमा वृद्धि हुन पुगेको थियो । विशेषगरी जलविद्युत, फाइनान्स, विकास बैंक र लघुवित्त कम्पनीमा हकप्रदको हल्ला चलाएर मुल्य बढाइएको थियो । जुन वेला राम्रा कम्पनीहरुको मुल्य बढ्न सकेन ।

तर, बजारमा घट्दा लगानीकर्ताको सेन्टिमेन्टका कारण सबै समुहका सबैजसो कम्पनीको सेयर मुल्यमा गिरावट आएको छ । तर पछिल्लो समय जुन कम्पनीको मुल्य उच्च रुपमा घट्न पुगेको थियो पुनः तिनै कम्पनीको मुल्यमा मात्र लगानीकर्ताले खेलेका कारण बजारले सकारात्मक सन्देश भने नदिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै बजार बढेको अवस्थामा पनि कारोबार रकम नबढ्नुले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको सम्बद्ध लगानीकर्ताहरुको भनाई छ । मंगलबार बजार ६० अंकले बढ्दा २ अर्ब ६७ करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL