Logo

इन्टरनेटमा चाडपर्व अफर : वर्ल्डलिंक, टेलिकमदेखि सुविसुसम्मले ल्याए छुट र उपहार योजना

इन्टरनेटमा चाडपर्व अफर : वर्ल्डलिंक, टेलिकमदेखि सुविसुसम्मले ल्याए छुट र उपहार योजना



काठमाडौं । नेपालमा पछिल्लो समय इन्टरनेटको उपयोग बढ्दो छ । अझ भन्ने हो भने यसको प्रयोग अत्यावश्यकजस्तै पनि भएको छ । बढ्दै गएको डिजिटलाइजेसन र इलेक्ट्रोनिक डिभाइसको प्रयोगले पनि यसको उपयोगितालाई बढावा दिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार नेपालभर जनसंख्याको आधारमा १ सय २ प्रतिशत बढीको पहुँचमा इन्टरनेट सुविधा पुगिसकेको छ । जसमा फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डलाई प्रमुख माध्यमको रुपमा राखिएको छ । यसरी नेपालमा ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या गत असार मसान्तसम्म ३ करोड १० लाख ८३ हजार जना पुगेको छ ।

यस्तै पछिल्लो समय यसको उपयोगिताको वृद्धिदरलाई हेर्दा पनि तीव्र वृद्धि भइरहेको देखिन्छ । यसलाई मानिसहरुले अत्यावश्यकीय आवश्यकताको रुपमा लिईदिँदा गत बर्षको साउनमा ७६ प्रतिशत जनतासम्म मात्रै पुगेको इन्टरनेटको पहँुच एक बर्षको अवधिमा १ सय २ प्रतिशत पुग्न सफल भएको मान्न सकिन्छ ।

सोही आधारलाई मनन् गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरुले पनि यसको विस्तारलाई विशेष ध्यान दिने गरेका छन् । उनीहरुले ग्राहकलाई आकर्षित गर्नका लागि विभिन्न मौका हेरेर प्याकेज, अफर, स्किमलगायत सार्वजनिक गरिरहेका हुन्छन, जसमार्फत धेरैभन्दा धेरै नेपालीलाई इन्टरनेटको पहूँचमा पार्न सकियोस । पछिल्लो समय बढ्दै गएको दशैंको रौनकलाई मध्येनजर गर्दै नेपालका ठुला (प्रयोगकर्ताका आधारमा) इन्टरनेट सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरेका छन् । इन्टरनेटका ग्राहकलाई आफुतिर आकर्षित गर्नका लागि कम्पनीहरुले यस्ता स्किमहरु सार्वजनिक गरेको देख्न सकिन्छ ।

वर्ल्डलिंकको ‘दशैंको बहार डबल उपहार’

प्रयोगकर्ताका आधारमा सबैभन्दा बढी प्रयोगकर्ता भएको र ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक हो । गत असार मसान्तसम्म कम्पनीका ग्राहक ५ लाख ११ हजार ६ सय ८१ पुगेका छन् । कम्पनीले अझै ग्राहकहरुलाई आकर्षित तुल्याउन दशैं तिहारको मौका पारी ‘दशैंको बहार डबल उपहार’ नामक अफर सार्वजनिक गरेको छ ।

उक्त अफरअन्तर्गत कम्पनीका नयाँ ग्राहकले इन्टरनेट जोड्न चाहेको खण्डमा १ सय एमबीपीएस गतिको इन्टरनेट बार्षिक १९ हजार ५ सय पर्नेछ । यस्तै कम्पनीले दशैंलाई मध्यनजर गर्दै ४०, ६०, ८० र १ सय एमबीपीएस गतिको ६ महिने र १२ महिने प्याकेज सार्वजनिक गरेको हो ।

जसको मूल्य ६ महिने प्याकेजमा क्रमशः ७ हजार ९ सय, ८ हजार ६ सय, १० हजार १ सय र ११ हजार ५ सय तोकेको छ । यस्तै यही प्याकेजहरुको १२ महिनाका लागि मूल्य भने क्रमशः १३ हजार २ सय, १४ हजार ४ सय, १६ हजार ८ सय र १९ हजार २ सय रुपैयाँ तोकिएको छ । यी प्याकेजमा १ देखि ३ ओटासम्म टिभीसमेत चलाउन मिल्ने सुविधा दिईएको छ । यी मुल्यहरु २०, ३०, ४० र ५० एमबीपीएस गतिको मूल्य हुन् । कम्पनीले दशैंको मौकामा पुरानै मूल्यमा स्पीड थप गरेर इन्टरनेट प्रदान गर्न लागेको हो ।

नेपाल टेलिकम

नेपाल टेलिकमको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या २ लाख ९० हजार २३ जना छन् । कम्पनीले एउटैमा ३ अर्थात फाईबर टु दी होम (एफटीटिएच)मार्फत इन्टरनेट, भिडियो र भ्वाइस सेवा दिईरहेको भएपनि यसमा ग्राहक आकर्षित गर्न दशैंका लागि भन्दै छुट्टै प्याकेज ल्याएको छैन । तर कम्पनीले प्रदान गर्ने मोबाईल ब्रोडब्याण्डका लागि भने चाडपर्व लक्षित ‘फेस्टिबल अफर’ सार्वजनिक गरिसकेको छ । कम्पनीले उक्त अफर असोज २१ गतेदेखि कात्तिक २ गतेसम्म र तिहार, न्हुँदया र छठका लागि कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध गराउने छन् ।

जसमा, डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु ६९ मा उपलब्ध हुनेछ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

सुविसुको दक्षिणा अफर

नेपालका इन्टरनेट सेवाप्रदायकमध्ये तेस्रो स्थानमा परेको सुविसुका इन्टरनेट प्रयोगकर्ता २ लाख १० हजार ५ सय १३ जना छन् । कम्पनीले यीबाहेक अन्य ग्राहकलाई आकर्षित गर्नकै लागि ‘दक्षिणा अफर’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अफरअन्तर्गत ५० एमबीपीएस गतिको इन्टरनेटलाई बर्षमा १३ हजार ९ सय ९९ रुपैयाँमै लिन पाईने छ । यो प्याकेजमा जडान शुल्क, डिभाईसको मूल्य र भ्याट पनि जोडिएको छ । यसको रकम इसेवामार्फत भुक्तानी गरे १ हजार रुपैयाँ क्यासब्याक पनि पाईने कम्पनीले जानकारी दिएको छ ।

भायानेटको ‘बडादशैंमा बडा स्पिड बढा टिभी’

अन्य सवाप्रदायकजस्तै भायानेटले पनि बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एम आइ एन्ड्रोइड टिभीमा भारी छुटसहतिको बडा स्पीड, बडा टिभी अफर सार्वजनिक गरेको छ ।
कम्पनीको उक्त अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सकिनेछ । साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशत सम्म छुट पाउन सक्नेछन् ।

टेकमाइन्डको फेस्टिभ अफर

चितवनको भरतपुरमा मुख्य कार्यालय भएको टेकमाईन्डले पनि दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको फेस्टिभ अफर नामको अफरमा २५ एमबीपीएस गतिको इन्टरनेट १० हजार ५ सय रुपैयाँ तिरेर बर्षभरीका लागि जडान गर्न सकिने छ । जसमा १ सय मिटर ड्रप वायर, राउटरको मूल्य र भ्याट समावेश गरिएको छ । पछिल्लो समय बजारमा राम्रो पकड जमाउने प्रयासमा रहेको प्रभु डिजिटल, सिजी नेटलगायत र बजारमा राम्रै उपस्थिति रहेको क्लासिक टेकले भने दशैंकै लागि भन्दै कुनै अफर सार्वजनिक भईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL