Logo

लकडाउन खुलेसँगै मौलायो हुण्डी : नेपाल भित्रने रेमिटान्स विदेशमै होल्ड, नेप्सेबाट बाहिरिएको पैसा आयात र ‘सेन्सेक्स’मा प्रवेश

लकडाउन खुलेसँगै मौलायो हुण्डी : नेपाल भित्रने रेमिटान्स विदेशमै होल्ड, नेप्सेबाट बाहिरिएको पैसा आयात र ‘सेन्सेक्स’मा प्रवेश



काठमाडौं । कोरोना संक्रमणपछि लकडाउन खुलेसँगै देशमा हुण्डी कारोबार मौलाएको छ । लकडाउनका कारण लामो समयसम्म बन्द जस्तै रहेको हुण्डी कारोबार लकडाउन खुला भएर केही सहज भएसँगै पुनः फस्टाएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय हुण्डी कारोबार बढेसँगै देशमा भित्रने रेमिटान्समा उच्च गिरावट आउनुका साथै बैंकिङ प्रणालीबाट समेत पैसा बाहिरिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार लामो समयपछि देशमा भित्रने रेमिटान्समा १८.१ प्रतिशतले गिरावट आएको छ । केही वर्ष यता देशमा बढ्दै गएको रेमिटान्स वृद्धिदर कोरोना भएर लकडाउन भएको अवस्थामा समेत रेमिटान्स कम्पनी र राष्ट्र बैंकको आँकलनभन्दा बढी भित्रिएको थियो ।

तर, लकडाउन खुलेसँगै चाडपर्वको समयमा देशमा भित्रने रेमिटान्समा गिरावट आउनु सोचनीय विषय बनेको सम्बद्ध रेमिट कम्पनीहरु बताउँछन् । ‘विगतका वर्षहरुको ट्रेण्ड हेर्ने हो भनेपनि यो सिजनमा देशमा भित्रने रेमिटान्स वृद्धिदर बढ्दो छ,’ एक रेमिट कम्पनीमा प्रमुख कार्यकारी अधिकृतले भने, ‘लकडाउनका कारण हुण्डी कारोबारीहरु बन्धक अवस्थामा थिए तर, अहिले लकडाउन खुलुलो भएसँगै उनीहरु बढी सक्रिय भएका छन् जसका कारण देशमा भित्रने रेमिटान्समा उच्च गिरावट आएको छ ।’

पछिल्लो समय देशभित्र र बाहिर दुबैतर्फबाट क्यापिटल फ्लाइट हुन थालेको समेत सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ । देशबाट क्यापिटल फ्लाइटको जोखिम बढेसँगै गत हप्तामात्रै राष्ट्र बैंकले अमेरिकी डलरको नगद सहटी २ सयमा झारेको छ भने गृह मन्त्रालयले पनि विदेश भ्रमणमा जाने कामदारले बोक्नुपर्ने न्यूनतम डलरको सीमा १ हजारबाट घटाएर २५० र ५ सयमा झारेको छ ।

विशेषगरी खाडीलगायतका मुलुकमा कामको लागि जाने कामदारले समेत भिजिट भिसामा जाने र त्यसरी जाने कामदारले १ हजार ५ सयसम्म डलर बोकेर जान पाउने हुँदा त्यसरी बाहिरिएको डलरको दुरुपयोग भएको राष्ट्र बैंक र गृह मन्त्रालयको निष्कर्ष रहेको छ । साथै कतिपयले राहदानी र टिकट देखाएर डलर सहटी गर्ने तर त्यसरी सटही गरेको रकम आफु विदेश नगईकनै नेपालभित्रै दुरुपयोग गर्ने क्रम समेत बढेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसरी हुन्छ विदेशमै रेमिटान्स होल्ड

हुण्डी कारोबारीले रेमिटान्स पठाउने र पाउने देश दुबैमा आफ्नो एजेण्ट राखेर पैसा संकलन गर्दै आएका छन् । उदाहरणका लागि नेपालमा कतारबाट रेमिटान्स पठाउनुपर्ने छ भने हुण्डी कारोबारीले ती देशमा रहेका कम्पनी तथा कामदारसँगको सहकार्यमा सम्बन्धित देशमा पैसा संकलन गरेर राख्ने तर त्यसरी संकलन गरेको रकम नेपाल नपठाई क्यापिटल फ्लाइट गर्दै आएका छन् । तर कामदारलाई भने विदेश पठाउनु पर्ने पैसा नेपालबाटै उनीहरुको आफन्तलाई दिँदै आएका छन् ।

साथै हुण्डी कारोबारीले व्यवसायीसँगको मिलेमतोमा वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्स सम्बन्धित देशमै संकलन गरेर सुन तस्कर जस्ता कार्यमा प्रयोग गर्दै आएको समते सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ । साथै नेपालमा पछिल्लो समय होटल, गेष्ट हाउस, कतिपय ट्राभल कम्पनीहरु र कतिपय रेमिट कम्पनीकै एजेण्टहरु हुण्डी कारोबारीको अखडा बन्दै आएको छ । विशेषरी सुन्धारा, भोटेवहालका गेष्ट हाउस र टिकेटिङका नाममा खुलेका कतिपय ट्राभल एजेन्सीहरु हुण्डी कारोबारीको मुख्य खकडा भन्दै आएका छन् ।

चीनसँगको व्यापारमा हुण्डी कारोबार

विशेषगरी चीनसँग हुने आयात व्यापारमा समेत हुण्डी कारोबार हुँदै आएको तथ्य सार्वजनिक भएको छ । चीनबाट सामान आयात गर्ने व्यापारीहरुले न्यून विजकीकरण गरेर सामान आयात गर्ने र त्यसरी सामान आयात गर्दा थप रकम हुण्डीमार्फत पठाउने गरेको सम्बद्ध आयातकर्ताहरु नै बताउँछन् । ‘अहिले आयातकर्ताहरुले भन्सार छली गर्न न्यून विजकीकरण गरेर सामान आयात गर्छन,’ चीनबाट सामान आयात गर्ने एक आयातकर्ताले भने, ‘विलविजकबाट आयात भएको सामानको भुक्तानी बैंकिङ प्रणालीमार्फत टीटी वा एलसी खोलेर गर्छन त्यसमा नपुग रकम भने हुण्डीमार्फत भुक्तानी गर्दै आएका छन् ।’ केही समय अघि राष्ट्र बैंकले चिनियाँ पर्यटकबाट हुने आम्दानी र सामान आयात गर्दा समेत वीच्याटबाट गैरकानूनी रुपमा पैसार बाहिरिएको भन्दै त्यसमा कडाई गरेको थियो । तर, राष्ट्र बैंकले कडाई गरेपनि सो क्रम भने नरोकिएको सम्बद्ध आयातकर्ताहरुनै बताउँछन् ।

नेप्सेबाट बाहिरिएको पैसा आयात र ‘सेन्सेक्स’मा

पछिल्लो समय सबैको टाउको दुखाईको विषय बनेको छ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आएको गिरावट । नेप्से परिसुचक छोटो समयमा ११ सय विन्दुबाट उकालो लागेर ३२ सयको विन्दु पार गरेर पुनः गिरावट आउँदै २६ सयभन्दा तल्लो विन्दुमा झरेसँगै कतिपय लगानीकर्ता क्लब हाउसलगायत सामाजिक संजालमा विरोधन उत्रनुका साथै आन्दोलन तथा आमरण अनसनका कार्यक्रम समेत घोषणा गरेका छन् ।

तत्कालीन समयमा नेप्सको उच्चतम विन्दु १८८१ बाट गिरावट आउँदै १०९० को बिन्दुमा झरेको नेप्से परिसुचक विश्वभर फैलिएको कोरोना महामारीका कारण देशमा पूर्ण रुपमा लकडाउन भएसँगै उच्च रुपमा बढ्न पुगेको थियो । लगानीका अन्य क्षेत्र नहुँदा उद्योगी व्यवसायीले समेत आफुसँग भएको रकम नेप्सेमै लगानी गरेका थिए । तर, पछिल्लो समय लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसायका अन्य क्षेत्र समेत खुलेका कारण त्यसरी उद्योगी व्यापारीले नेप्सेमा गरेको लगानी निकाल्दै आयात व्यापारमा प्रवेश गराएका छन् । जुन पछिल्लो समय राष्ट्र बैंकको आयातको तथ्याङ्क र आयातका लागि खोलिएको एलसी र टीटीले समेत पुष्टि गर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी पछिल्लो समय नेप्सबाट बाहिरिएको रकम बम्बे स्टक एक्सचेञ्ज (बीएससी सेन्सेक्स)मा समेत प्रवेश भएको सम्बद्ध सेयर लगानीकर्ताहरु बताउँछन् । ‘लामो समयदेखि नेपाली सेयर बजारमा दोहोरो नागरिकताधारी (भारत र नेपाल दुबैको नागरिकता भएका) व्यक्तिको संलग्नता हुँदै आएकोमा पछिल्लो समय अझै हावी हुने क्रम बढेको छ,’ एक ठूला सेयर लगानीकर्ताले भने, ‘त्यस्ता व्यक्तिले नेप्से बढ्दा भारतबाट पैसा ल्याएर यता लगानी गर्छन ‘बीएसी सेन्सेक्स’ बढ्दा नेपालबाट पैसा भारत लगेर भारतीय सेयर बजारमा लगानी गर्दै आएका छन् ।’ नेपालबाट भारतमा स्थलमार्गबाट पैसा लिएर जानसमेत सहज भएको र हुण्डीमार्फत पनि नेपाल–भारत दुबैतर्फ अर्बौं रुपैयाँ पठाउने गरेको सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ । नेप्से परिसुचकले ३२ अंक पारेर गरेर ओरालो यात्रा तय गरसँगै दोहोरो नागरिकताधारीले नेपालको सेयर बजारबाट निकालेर ३० देखि ४० अर्ब रुपैयाँ भारती सेयर बजारमा प्रवेश गराएको अनुमान सम्बद्ध लगानीकर्ताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL