Logo

कम तौल र गुणस्तरका वस्तु बजारमा छ्यापछ्याप्ती, सेल्सबेरीको ठगी धन्दा पत्ता लागेपछि सबैतिर अनुगमन गर्दै विभाग

कम तौल र गुणस्तरका वस्तु बजारमा छ्यापछ्याप्ती, सेल्सबेरीको ठगी धन्दा पत्ता लागेपछि सबैतिर अनुगमन गर्दै विभाग



काठमाडौं । नेपाली उपभोक्ता सधै बजारमा विभिन्न ढंगले ठगिइरहेका हुन्छ । धेरैजसो वस्तुमा गुणस्तर र तौलमा ठगिइरहेका नेपाली उपभोक्तमा चाडपर्वको मौसम शुरु भएसँगै थप ठगीमा पर्ने गरेका विगतका तथ्यहरुले नै पुष्टि हुने गरेको छ । चाडपर्वको समयमा भीडभाड हुने, उपभोक्ता पनि चाडपर्वको रौनकमा रमाउने भएकाले व्यवसायीले यही समयमा थप ठगी गर्ने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

यो वर्षको चाडपर्वको सिजन शुरु भएसँगै तोकिएका भन्दा कम तौलका वस्तुहरु छ्यापछ्याप्ती पाईन थालेका छन् । उपभोक्ताले प्रयोग गर्ने खाद्य वस्तुदेखि अन्य वस्तुहरु समेत पछिल्लो समय तोकिएभन्दा विभिन्न नाप तथा परिमाणमा बजारमा भेटिएको छ । सरकारले बजारमा खरीद विक्रीका लागि राखिएका वस्तुहरुको निश्चित नाप, गुणस्तर तथा परिमाण हुनुपर्ने व्यवस्था गरेको छ । तर, केही उत्पादकहरु भने त्यो व्यवस्थाभन्दा बाहिर गई भिन्न परिमाणमा वस्तुहरु बेचिरहेको पाइएको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बताउँछ । विभागका प्रवक्ता शिवराज सेँढाईका अनुसार ऐनले गरेको व्यवस्थाभन्दा बाहिर गई केही वस्तुहरु उत्पादन गरिरहेको पाईएको छ ।

यस्तै कम्पनी तथा उत्पादकहरुलाई निगरानी गरिरहेको र सोहीअनुसार कारबाही गरिने उनले बताए । विभागले पछिल्लो समय बजार अनुगमन गर्दा, खाद्यान्न, पेय पदार्थ, मिनरल वाटरलगायत वस्तुहरुको तोकिएको परिमाणभन्दा कम वा बढी पाईन थालेकाले यसैमा केन्द्रित रहेर अनुगमन गरिरहेको छ ।

विभागले आइतबार मात्रै सपिङ कम्पनी सेल्सबेरीले नै चिनी कम परिमाणमा बेचिरहेको पाएपछि सिल लगाएको छ । १ किलो चिनीको प्याकेट पुनः तौलेर जाँच गर्दा जम्मा ९८० ग्राम भेटियो । अर्थात १ किलो पुग्न २० ग्राम कम तौल भएका चिनीका प्याकेटहरु भेटिएपछि विभागले त्यहाँको चिनी सिल गरी ३ दिनभित्र विभागमा हाजिर हुन पत्र काटिएको छ । यस्तै समस्या चिनीमा मात्रै नभई अन्य साना तथा खुद्रा पसलहरुमा पनि भेटिन्छ । अर्थात धेरै पसलेहरुले चिनी, दाललगायतका वस्तुहरु बोरामा ल्याउने र त्यसलाई पोका पार्दै बेच्ने गर्दछन् । जसमा उल्लेख गरिएको तौलभन्दा कम तौल हुन्छ, उपभोक्ताले पत्तै पाउँदैनन् ।

यस्तो ठगीबारे विभागमा पनि उजुरी आइरहेको र यसलाई तीव्र अनुगमन गर्न जरुरी रहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । उपभोक्ता मञ्चका महासचिव सत्रुघ्नप्रसाद देव पनि विभागले उचित अनुगमन नगर्दा बजारमा प्रत्येक दिन उपभोक्ता ठगिइरहेको गुनासो गर्छन् । उनका अनुसार खानेपानीदेखि अन्य पेय पदार्थमा पनि परिमाण घटाएर प्याक बनाउने र सोहीअनुसार बजारमा बढी मूल्यमा बेच्ने प्रचलन बढ्दो छ ।

यसको पछिल्लो उदाहरणका रुपमा विभिनन मिनरल वाटर कम्पनीलाई लिन सकिन्छ । उनीहरुले कानुनमा तोकेको परिमाणभन्दा कम परिमाणमा खानेपानीको बोतल बनाई बजारमा पठाइरहेको उनी बताउँछन् । उनका अनुसार स्ट्यान्डर्ड नाप र तौल मोहरबन्द नियमावलीले हल्का ग्याँसयुक्त पेयपदार्थसँगै मिनरल वाटरको परिमाणबारे स्पष्ट व्यवस्था गरेको छ ।

जसमा मिनरल वाटरको १००, १५०, २००, २५०, ३००, ५००, ७५० एमएलको बोतलमा मात्रै पानी विक्री गर्न पाईने भएपनि पछिल्लो समय केही कम्पनीहरुले ८ सय, ३५०, ४ सय एमएलमा उत्पादन गरिरहेका छन् । यी कम्पनीहरुले कानुनभन्दा बाहिर गई कम परिमाण वा बढि परिमाणमा वस्तु उत्पादन गरी बजामार पठाउँदा उपभोक्ता मारमा पर्ने अधिकारकर्मी देव बताउँछन् । ‘विभागले यी कम्पनीलाई कारबाही गरी तोकिएको दण्ड दिनुपर्छ’, देव भन्छन ।

प्रतिक्रिया दिनुहोस्
MBL