Logo

नेपालको जनसंख्याभन्दा बढीमा पुगेकै हो त इन्टरनेटको पहुँच ? यस्तो छ सरकारी तथ्यांक

नेपालको जनसंख्याभन्दा बढीमा पुगेकै हो त इन्टरनेटको पहुँच ? यस्तो छ सरकारी तथ्यांक



काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जनसंख्याभन्दा बढीको पहुँचमा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको (व्यवस्थित सूचना प्रणाली) एमआईएस प्रतिवेदन अनुसार नेपालभरका ३ करोड ९ लाख ५४ हजार जनासम्म यो सेवा पुगेको छ ।

प्राधिकरणले सन २०११ देखि २०३१ सम्मको जनसंख्या वृद्धिलाई अनुमान गरी हालको जनसंख्या ३ करोड बढी भएको अनुमानसहित उक्त तथ्यांक सार्वजनिक गरेको हो । हाल नेपालको जनसंख्या ३ करोड २ लाख २९ हजार ९ सय ६६ भएपनि ब्रोडब्याण्ड इन्टरनेटको पहुँच भने जनसंख्याभन्दा बढी अर्थात ३ करोड ९ लाख ५४ हजार १४५ जनासम्म पुगेको छ ।

प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताको संख्या भने एउटा सब्सक्राईबर बराबर ४ जना अर्थात एक घरमा कम्तीमा ४ जनाको आधारमा गणना गर्ने गरेको छ ।

प्राधिकरणको तथ्यांकमा हालसम्म टेलिफोन सेवाको पहँुच १२९ प्रतिशत जनसंख्यासम्म पुग्दा ब्रोडव्याण्ड इन्टरनेट सेवाको पहँुच १०२ प्रतिशतसम्म पुगेको हो ।

१ महिनामै थपिए ३२ लाख सेवाग्राही

प्राधिकरणले जारी गरेको प्रतिवेदनअनुसार गत जेठदेखि असार महिनासम्म मात्रै ब्रोडब्याण्ड इन्टरनेट चलाउने प्रयोगकर्ता करिव ३२ प्रतिशतले बढेका छन् । जेठ महिनासम्म २ करोड ७७ लाख ६ हजार ७ सय ११ जना रहेका ब्रोडब्याण्ड प्रयोगकर्ता असारमा बढेर ३ करोड ९ लाख बढि पुगेका हुन् ।

यस अवधिमा नेपाल टेलिकमले मात्रै आफ्नो इन्टरनेट सेवा प्रयोगकर्ता २८ लाख ६० हजार जनाले बढाएको छ । गत जेठमा नेपाल टेलिकमको मोबाईल, फिक्स्ड (वायर र वायरलेस) सेवाबाटा ब्रोडब्याण्ड इन्टरनेट चलाउनेको संख्या १ करोड ३८ लाख ६८ हजार थियो । असारमा भने उक्त प्रयोगकर्ता बढ्दै १ करोड ६७ लाख २९ हजार पुगेका हुन् ।

यस अवधिमा टेलिकमले आफ्ना फोरजी ग्राहक मात्रै २० लाखले बढाएको छ । यस्तै एनसेलले भने यो अवधिमा २ लाख ३८ हजारले बढाउँदा इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले भने १ लाख ३३ हजारले मात्रै बढाएका छन् । हाल एनसेलले उपलब्ध गराउने इन्टरनेट प्रयोग गर्नेको संख्या ७५ लाख ५ हजार पुग्दा आइएसपीको सेवा प्रयोग गर्ने ६५ लाख ५२ हजार जना पुगेका हुन् ।

फोरजी प्रयोगकर्ता करोडनजिक

पछिल्लो समय बढी चर्चामा रहेको फोरजीका सेवाग्राही पनि करोड नजिक पुगेका छन् । प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार गत असार मसान्तसम्म फोरजी सेवा प्रयोग गर्नेको संख्या ९९ लाख ५४ हजार ११९ पुगेको छ । यो गत जेठ महिनाको तुलनामा २२ लाख ८९ हजार जनाले बढेका छन् । गत जेठमा नेपालमा फोरजी सेवा प्रयोग गर्नेको संख्या ७६ लाख ६४ हजार थियो ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता बढेका छन् । गत जेठ महिनामा २७ लाख ७ हजार रहेका टेलिकमका फोरजी प्रयोगकर्ता असारसम्म पुग्दा बढेर ४७ लाख ४४ हजार पुगेका हुन् । यस्तै असारसम्म एनसेललका फोरजी प्रयोगकर्ता ५० लाख ४२ हजार पुग्दा स्मार्ट टेलिकमका फोरजी प्रयोगकता १ लाख ६६ हजार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL