Logo

महिला उद्यमीको अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट शुरु हुँदैं, ७९ स्टलहरु रहने

महिला उद्यमीको अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट शुरु हुँदैं, ७९ स्टलहरु रहने



काठमाडौं । महिला उद्यमी महासंघ नेपालले पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको प्रथम भर्चुअल व्यापार मेला भदौं १७ (बिहीबार) बाट शुरू गर्ने भएको छ ।

laxmi

महिला उद्यमीहरू र महिलाहरूले संचालन गरेका व्यवसायहरूले बजारीकरणमा धेरै चुनौतीहरूको सामना गरिरहेको अवस्थामा महांसघले भाद्र १७ देखि २१ गते २०७८ अनलाइन भर्चुअल व्यापार मेलाको आयोजना गर्ने भएको हो ।

विगत ४ वर्षदेखि महिला उद्यमी महासंघ नेपालले सफलतापूर्वक अन्तर्राष्ट्रिय महिला ब्यापार मेला काठमाडौंमा सञ्चालन गर्दै आएका थिए । तर, यो वर्ष कोरोना महामारीका कारण भेला गर्न नमिल्ने भएकाले भर्चुअल मेला गर्न लागिएको हो ।

महिला उद्योगीहरूले विश्वब्यापी रुपमा निरन्तर उद्यम व्यवसायमार्फत् घरायसी आम्दानी तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएका छन् । पछिल्लो समय अनलाइन प्लाटर्फममा स्थानहरू उपलब्ध गराँउदै तथा विगतलाई निरन्तरता दिँदै स्थानीय तथा सामूहिक प्रयासमा यस वर्ष ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वद्धन गर्ने गरी मेला हुनेछ । उक्त मेलाले अनलाइन बजारीकरणको लागि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीहरूबीच सम्बन्धको स्थापना र सञ्जालिकरण निमार्णका लागि प्रोत्साहन गर्ने, नयाँ उत्पादन, सेवा तथा प्रविधिहरुलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने बताइएको छ ।

त्यसैगरी उत्पादन र क्रेताहरूको एक बिस्तृत दायरामा ल्याई एउटै प्लेटर्फमबाट लाभ लिने, व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयका लागि उत्कृष्ठ अनलाइन अवसरहरुको खोजी गर्ने र वुमेन इन बिजनेस ई पोर्टलको माध्यमबाट भर्चुअल एक्सपोमा प्रदर्शित महिला उद्यमीहरु उत्पादनहरुको बजारीकरणलाई निरन्तरता दिने महासंघले जनाएको छ ।

मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामानहरू, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरू, हाते कागजका वस्तुहरू, काष्ठजन्य वस्तुहरू जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरूका स्टलहरू हुनेछन् ।

मेलामा जम्मा ७९ स्टलहरु रहनेछन । तीमध्ये ५७ महिला उद्यमीहरूका स्टल र २२ जिल्ला महिला उद्यमी संघहरुलाई प्रतिनिधित्व गर्ने स्टल रहनेछन । जसमा दुईवटा स्टलहरू अग्नि पीडित र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीहरुलाई सीप प्रदान गर्ने संस्थालाई प्रयोजन गरिएको छ ।

व्यापार मेलाले सामान्य रुपमा प्रभावशाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुलाई उत्पादन बिक्रीका लागि पर्याप्त अवसरहरु प्रदान गर्न, सञ्जाल निर्माण गर्न तथा सीप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढावा दिन एक प्लेटफर्मको रुपमा काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL