Logo

वैदेशिक लगानी प्रतिवद्धतामै सीमित : ३० अर्बको प्रतिबद्धता, भित्रियो १६ अर्ब

वैदेशिक लगानी प्रतिवद्धतामै सीमित : ३० अर्बको प्रतिबद्धता, भित्रियो १६ अर्ब



काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धताअनुरुप लगानी भित्रिन नसकेको देखिएको छ । उद्योगमा आउने वैदेशिक लगानी प्रतिवद्धताको तुलनामा आधा कम भित्रिने गरेको हो ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७७ ७८ को ११ महिना अर्थात गत साउन १ देखि जेठ मसान्तसम्म ३० अर्ब ७० करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएपनि रकम भने जम्मा आधा मात्रै १६ अर्ब २० करोड रुपैयाँ बराबरको मात्रै भित्रिएको छ ।

सरकारले लगानी आकर्षाका विभिन्न उपाय तथा गतिविधिहरु अघि बढाईरहेपनि भनेबमोजिम वैदेशिक लगानी नेपाल भित्र्याउन नसकेको सम्बद्ध विज्ञहरु बताउँदै आएका छन् ।

तर, वैदेशिक लगानी प्रतिवद्धतामा ह्रास आउँदा आउँदै पनि यसबाट भित्रिने पैसामा पनि कमी आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानीमार्फत जम्मा १६ अर्ब २० करोड रुपैयाँ भित्रिएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४ प्रतिशतले कमी हो ।


यसरी बर्षेनि वैदेशिक लगानी प्रतिवद्धतासँगै भित्रिने रकममा पनि गिरावट आईरहँदा नेपालमा वैदेशिक लगानीको भविष्यबारे चर्चा हुनु आवश्यक भएको व्यवसायीहरु बताउँछन् ।

गत आर्थिक बर्षको ११ महिनामा विभिन्न १८२ उद्योगमार्फत भित्रिएको वैदेशीक लगानी प्रतिवद्धताअनुसार रकम भने आएको देखिँदैन । गत आवको सो अवधिमा सबैभन्दा बढि लगानी प्रतिवद्धता पर्यटन र सेवा क्षेत्रमा भित्रिएको देखिन्छ । उद्योग विभागका अनुसार उक्त अवधिभर पर्यटन क्षेत्रमा मात्रै १८ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । यस्तै उक्त अवधिमा सेवा क्षेत्रमा पनि ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

तर कोरोना महामारीको लगातारको प्रभाव र यसले निम्त्याएको बन्दाबन्दीका कारण प्रतिवद्धता अनुसार लगानी नभित्रिएको उद्योग विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले बताए । उनका अनुसार महामारीकै कारण वैदेशिक लगानी प्रतिवद्धतामा संकुचन आएकै थियो ।

त्यसमा पनि यसबाट भित्रिने रकममा भने झन ठुलो संकुचन आएको देखिन्छ । दर्ता भएको उद्योग तथा परियोजनाहरुको निर्माण कार्य अघि बढ्न नसक्नु, निर्माणाधिन आयोजनाको पनि निर्माण रोक्नुलगायतका कारणले वैदेशिक लगानी प्रविद्धतामार्फत भित्रिने रकममा कमी आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL