Logo

निर्माण व्यवसायीहरूलाई यथाशक्य चाँडो कोभिड खोप दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको प्रतिबद्धता

निर्माण व्यवसायीहरूलाई यथाशक्य चाँडो कोभिड खोप दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको प्रतिबद्धता



काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीहरूलाई यथाशक्य चाँडो कोभिड—१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग विहिवार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपङक्तिमा खटिने निर्माण व्यवसायीहरूका लागि खोप अनिवार्य भएको बताए ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डललाई राज्यमन्त्री श्रेष्ठले भौतिक पूर्वाधारको क्षेत्रमा खटिएका व्यवसायीहरूले यसअघि नै खोप पाइसक्नुु पर्ने थियो भने । राज्यमन्त्री श्रेष्ठले असोज महिनासम्ममा एक तिहाइ जनता र आगामी चैत्र सम्ममा देशका सबै नागरिकलाई कोभिड विरुद्धको खोप दिइने जानकारी दिए ।

निर्माण उद्योगले देशको कुल बजेटको ६० प्रतिशत खर्च गरिरहेको जानकारी गराउँदै महासंघ अध्यक्ष सिंहले आ–आफ्नो साइटहरुमा निर्माण व्यवसायीहरूले कोभिडको उच्च जोखिमकाबीच अग्रपङक्तिमा अहोरात्र खटिदै काम गर्दै आएको जानकारी गराए।

विकास निर्माणका कार्यहरू नियमित संचालन गरी देशको अर्थतन्त्रलाई चलायमान बनाई राख्न पनि निर्माण उद्योगमा आबद्ध देशभरका व्यवसायीहरूलाई खोप अनिवार्य भएको अध्यक्ष सिंहले बताए । महासंघ प्रतिनिधिमण्डले अघिल्लो बजेटमा उल्लेख भए बमोजिम निर्माण आयोजनाहरूको म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषय सम्बोधन गरिदिन स्वास्थ्य राज्यमन्त्री समक्ष आग्रह गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलमा उपाध्यक्षद्वय एडी लामा, टेकबहादुर सेठी, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्यसमिति सदस्य यज्ञप्रसाद खतिवडा, कार्यालय प्रमुख प्रेमसिंह ऐर, उपनिर्देशक आसित अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL