Logo

उर्जा क्षेत्रमा लगानी खस्किदा घट्यो लगानी प्रतिवद्धता, वैदेशिक लगानीमासमेत गिरावट

उर्जा क्षेत्रमा लगानी खस्किदा घट्यो लगानी प्रतिवद्धता, वैदेशिक लगानीमासमेत गिरावट



काठमाडौं । चालु आर्थिक बर्ष २०७८÷७९ को पहिलो महिनामा उद्योग क्षेत्रमा लगानी खुम्चिएको छ । उद्योग विभागका अनुसार ठूला,साना तथा मझौला उद्योग गरी ३९ उद्योग तथा परियोजनामा पहिलो महिनामा २८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६ अर्ब ९७ करोड रुपैयाँले कम हो ।

गत आर्थिक बर्षको यहि अवधिमा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत भएको थियो । यो लगानी प्रतिवद्धता विभिन्न २९ उद्योग तथा परियोजनामार्फत आएको थियो । उद्योग विभागका अनुसार चालु आवको पहिलो महिनामा गत आवको तुलनामा उर्जामुलक क्षेत्रमा लगानी प्रतिवद्धता कम आउँदा लगानी प्रतिवद्धतामा कमी आएको जस्तो देखिएको हो । गत आवको पहिलो महिनामा उर्जा क्षेत्रमा मात्रै ३१ अर्ब बढीको लगानी प्रतिवद्धता आएको थियो । चालु आवमा उक्त क्षेत्रमा जम्मा साढे ८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी लगानी प्रतिवद्धता उत्पादनमुलक क्षेत्रका परियोजनामा आएको छ । विभागका अनुसार चालु आवको पहिलो महिनामा यो क्षेत्रका विभिन्न १९ परियोजनामार्फत १८ अर्ब २७ करोड ४३ लाख रुपैयाँ बढी लगानी प्रतिवद्धता आएको छ । गत बर्ष सोही अवधिमा यो क्षेत्रका जम्मा ६ परियोजनामार्फत २ अर्ब मात्रै लगानी प्रतिवद्धता आएको थियो । यस्तै चालु आवको पहिलो महिनामा धेरै लगानी प्रतिबद्धता आएको दोस्रो क्षेत्रमा भने उर्जामुलक क्षेत्र रहेको छ ।

चालु आवमा प्रतिवद्धता आएका उद्योगहरुमार्फत ३ हजार ६ सय १५ जनाले रोजगारी पाउने बताईएको छ । चालु आवको पहिलो महिनामा उत्पादनमुलक क्षेत्रका ठुला उद्योगहरु नेपाल पल्स एण्ड पेपर्स इन्डिस्ट्रज, सिद्धिलक्ष्मी फुड्स प्रालि, निकिता आयल एण्ड रिफाईनरी, सारस वेभरेजमार्फत लगानी प्रतिवद्धता आएको हो । यस्तै अन्य ठुला लगानीका उद्योगहरु भने उर्जामुलक क्षेत्रमा बढी छन् ।

विदेशी लगानी पनि घट्यो

चालु आर्थिक बर्षको पहिलो महिनामा गत आवको सोही अवधिको तुलनामा वैदेशिक लगानी प्रतिवद्धतामा समेत गिरावट आएको देखिन्छ । उद्योग विभागका अनुसार चालु आवको पहिलो महिनामा ५ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जुन, गत आवको सोही अवधिको तुलनामा ४१ करोड ६३ लाख रुपैयाँले कम हो । गत आवको पहिलो महिनामा ५ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

चालु आवको पहिलो महिनामा कृषि तथा वन पैदावार, सूचना, प्रविधि, उत्पादनमुलक, सेवा र पर्यटन गरी ५ क्षेत्रका ३४ परियोजनामार्फत उक्त लगानी प्रतिवद्धता आएको छ । तर गत आवको सोही अवधिमा भने पर्यटन र सेवा गरी २ क्षेत्रका ३३ उद्योगमार्फत लगानी प्रतिवद्धता आएको थियो ।

गत आवको तुलनामा चालु आवको पहिलो महिनामा पर्यटन र सेवा क्षेत्रमार्फत भित्रिने लगानी प्रतिवद्धतामा गिरावट आएको देखिन्छ । चालु आवमा पर्यटन क्षेत्रमार्फत २ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । तर, गत आवमा भने यो क्षेत्रमा ४ अर्ब ४० करोड १३ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

यस अवधिमा साना २०, मझौला १३ र ठुला १ परियोजनामार्फत वैदेशिक लगानी प्रतिवद्धता आएको छ । ठुला लगानीको परियोजनामार्फत आएको प्रतिवद्धता भने पर्सा जिल्लामा होटल निर्माण गर्ने गरी आएको हो । जसमा ५ करोड ५ हजार रुपैयाँ वैदेशिक लगानी रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL