Logo

राष्ट्र बैंक स्वायत्त निकाय कि अर्थ मन्त्रालयको शाखा, मौद्रिक नीति परिमार्जन गर्न अर्थमन्त्रीलाई लगानीकर्ताको दबाब किन ?

राष्ट्र बैंक स्वायत्त निकाय कि अर्थ मन्त्रालयको शाखा, मौद्रिक नीति परिमार्जन गर्न अर्थमन्त्रीलाई लगानीकर्ताको दबाब किन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी बजार शुद्धीकरणको लागि मार्जिन कर्जाको अधिकतम सीमा तोकिदिएसँगै सो विषयमा बहस शुरु भएको छ । राष्ट्र बैंकले ल्याएको उक्त नीति साना लगानीकर्ताको हितमा भएपनि त्यसले बजारका मुख्य खेलाडी (ठूला लगानीकर्ता)लाई भने बढी असर गर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

laxmi

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीमा पदबहाली गरेसँगै सेयर बजार शुद्धिकरण गर्दै साना लगानीकर्ताको हितमा हुनेगरी काम गर्ने बताएका थिए । सोहीअनुरुप उनले श्वेतपत्र जारी गर्दा नै पुँजी बजारको नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेशी बनाउनुपर्ने बताएका थिए । उनले साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वास्थ्य बजार विकास गर्दै लैजानुपर्ने समेत शर्माले आफ्नो श्वेतपत्रमा उल्लेख गरेका थिए । सोहीअनुरुप उक्त नीतिलाई सहयोग गर्नेगरी राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जामा कडाई गर्दै सीमा नै तोकिदियो । जसले गर्दा ठूला लगानीकर्तामार्फत बजारमा हुने बबल रोक्न सहयोग पुग्ने र साना लगानीकर्तामा पनि पहुँच विस्तार हुने सम्बद्ध सरोकारवालाहरुले प्रतिक्रिया दिएका थिए ।

तर, राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा स्वघोषित लगानीकर्ता संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी भने उक्त व्यवस्था नै खारेज गर्नुपर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिन मन्त्रालय पुगेका छन् । राष्ट्र बैंकको उक्त व्यवस्थासँगै बजारमा मुख्य लगानीकताहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, बजारमा आफ्नो अस्तित्व देखाउनका लागिमात्रै सेयर बजारमा स्वाघोषित लगानीकर्ता संघसंस्थाका स्वघोषित नेताहरु भने अर्थ मन्त्रालयमा फोटो खिचाउन पुगेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

‘राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो उसले सरकारको नीतिलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउँछ तर यो स्वायत्त निकाय हो अर्थमन्त्रालयको शाखा होइन,’ सम्बद्ध अर्थविद्हरु बताउँछन्, ‘राष्ट्र बैंकले ल्याएको नीति परिमार्जनको लागि लगानाीकर्ताहरु अर्थमन्त्रालयमा धर्ना दिन जानु सरासर गलत हो ।’ साथै स्वायत्त निकायको रुपमा रहेको राष्ट्र बैंकले पनि कसैको दबाब वा प्रभावमा परेर आफुले ल्याएको नीति तुरुन्तै परिमार्जन गर्छ भने त्यसले राष्ट्र बैंकको अस्तित्व माथिनै प्रश्न खडा हुने उनीहरुको भनाई थियो ।

डिम्याट खातालाई आधार मान्ने हो भने अहिले बजारमा ४० लाख लगानीकर्ता छन् । ती लगानीकर्ताको हित संरक्षणका लागि भन्दै आफुखुसी विभिन्न ५ ओटा संघसंस्था खुलेका छन् । तर, ती लगानीकर्ता संघसंस्थामा १ हजार जना पनि लगानीकर्ता नरहेको र उनीहरुले लगानीकर्ताको हकहितमा लागि विभिन्न निकायमा गएर ज्ञापनपत्र बुझाउनु वा फोटो खिचाउनुले कुनै अर्थ नराख्ने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । साथै उनीहरु बजारको विस्तार र विकासको लागि भन्दा पनि निहित स्वार्थका लागि संघसंस्था खोलेर चलखेल गर्दै आएको समेत उनीहरुको आरोप थियो ।

यसैगरी मौद्रिक नीति सार्वजनिकसँगै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले उक्त नीतिले सेयर बजारमा असर गर्ने धारणा सार्वजनकि गरेका थिए । तर उनीहरुले पनि मार्जिन प्रकृतिको कर्जा सेयर बजारमै पुनः लगानी गर्नुभन्दा पनि उद्योग व्यवसाय विस्तार गर्नका लागि भने खुला गरिनुपर्ने बताएका छन् । सोहीअनुरुप सेयर बजारका ठूला लगानीकर्ता समेत रहेका उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका सल्लाहकार समितिका सदस्य शशीकान्त अग्रवाल भने सेयर धितो राखेर पुनः सेयर बजारमै लगानी गर्न सीमा तोकिएपनि त्यसरी लिएको कर्जाबाट उद्योग व्यवसाय विस्तारका लागि सीमा तोक्न नहुने बताउँछन् । ‘सेयर धितो राखेर कर्जा लिन सीमा तोकिने हो भने यसले थप उद्योग व्यवसाय विस्तार गर्न समस्या पर्छ’ उनले भने, ‘यदि कसैले सेयर धितो राखेर पुनः सेयर बजारमै लगानी गर्नका लागि कर्जा लिन्छ भने त्यसमा कडाई गर्नु उचित होला तर कुनै लगानीकर्ताले आफुसँग भएको सेयर धितामा कर्जा लिएर अन्य उद्योग व्यवसाय विस्तार गर्छ भने त्यसलाई खुला छाडिनु पर्छ ।’

अहिले विश्वमै सबैभन्दा बढी पुँजी जुटाउने क्षेत्र सेयर बजार भएको भन्दै त्यसमा लगाम लगाउँदा उद्योग व्यवसाय विस्तार गर्न कठिनाई हुने उनको तर्क थियो । ‘केही व्यक्तिले गल्ती गर्यो भन्दैमा सबैलाई एउटै नियम लगाउनु ठिक होइन,’ उनले भने, ‘बरु राष्ट्र बैंकले कुनै संयन्त्र बनाएर सेयर धितोमा लिएको कर्जा कहाँ प्रयोग भैरहेको छ भनेर नियमन गर्नुपर्छ, यदि कसैले सीमा भन्दा बढी सेयर धितो कर्जा लिएर उद्योग व्यवसाय खोल्छु भनेर पुनः सेयर खरिदमै लगानी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

नेपाल राष्ट्र बैंकले पनि यदि कुनै व्यक्तिले आफ्नो पैसाले सेयर खरिद गरेको छ सो सेयर धितोमा राखेर उद्योग व्यवसाय खोल्छु भनेमा त्यसमा रोक नलगाईने बताएको छ । ‘हामीले कुनै व्यक्तिले बैंक वित्तीय संस्थाबाट सेयर धितोमा ऋण लिएर पुनः सेयरमै लगानी गरेका छन् भने त्यसलाई तोकिएको सीमा भित्र झार्नु भनेको हो,’ राष्ट्र बैंक उच्च स्रोतले जानकारी दियो ।

राष्ट्र बैंक स्रोतका अनुसार कुनै व्यक्ति वा लगानीकर्ताले आफ्नै पैसा लगानी गरेर किनेको सेयर धितो राखेर उद्योग व्यवसाय खोल्ने प्रयोजनका लागि कर्जा लिन चाहन्छन भने त्यसमा रोकतोक लाग्ने छैन । साथै यस विषयमा छलफल भैरहेको र केही दिनमा आउने राष्ट्र बैंकको एकिकृत निर्देशनले थप प्रष्ट पार्ने समेत केन्द्रीय बैंक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL