Logo

अब उद्योग दर्तादेखि प्रमाणीकरण अनलाइनबाटै, यो वर्ष सफ्टवेयर निर्माण र परीक्षण अर्को वर्षदेखि सेवा

अब उद्योग दर्तादेखि प्रमाणीकरण अनलाइनबाटै, यो वर्ष सफ्टवेयर निर्माण र परीक्षण अर्को वर्षदेखि सेवा



काठमाडौं । अब उद्योग विभागबाट पाइने विभिन्न सेवाहरु अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । विभागले आफ्नो नयाँ सफ्टवेयर निर्माणको प्रक्रिया अघि बढाइसकेकाले आगामी आर्थिक बर्षदेखि विभागबाट प्राप्त हुने सेवाहरु अनलाइनबाटै लिन पाईने भएको हो ।

हालसम्म विभागबाटै हुँदै आएको उद्योग दर्ता, उद्योगको नवीकरण, विदेशी लगानी स्वीकृत गर्नेलगायतका कामहरु अब अनलाइनबाटै हुने भएका हुन् । विभागले हाल आफ्ना सबै सेवाहरु डिजिटल प्ल्याटफर्ममै उपलब्ध गराउनका लागि सफ्टवेयर निर्माणका काम अघि बढाएको छ । गत आर्थिक बर्षमै सफ्टवेयर निर्माणका लागि टेण्डर आह्वान गरेको विभागको सफ्टवेयर बनाउने जिम्मा नेपाली कम्पनीले नै पाएको विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले बताए ।

उनका अनुसार हाल नेपाली सफ्टवेयर निर्माता कम्पनी इन्फोडेभलपरलाई उक्त सफ्टवेयर निर्माणको जिम्मा दिइएको छ । १ करोड ६० लाख रुपैयाँ खर्च गरेर निर्माण गर्न लागिएको सफ्टवेयरमार्फत सेवाग्राहीले विभागमा नपुगिकनै घरबाटै सबै सेवाहरु प्राप्त गर्न सक्ने प्रवक्ता पराजुली बताउँछन् ।

सफ्टवेयर निर्माणका लागि कम्पनीले १ बर्षको म्याद मागेको छ । उक्त मितिसम्म कम्पनीले सफ्टवेयर निर्माण गरी यसको बेटा भर्सन
परीक्षण गर्नेछ । सोही नुसार कम्पनीलाई १ बर्षको समयावधि दिइएको विभागले जानकारी दिएको छ । कम्पनीले उक्त जिम्मा पाएको २ महिना वितिसकेको उनले बताए ।

हालै विभागले आफ्नो नयाँ वेबसाईटप पनि लन्च गरिसकेको छ । सबै प्रकारका जानकारी र सूचना तथा तथ्यांकहरु वेबसाईटबाटै प्राप्त हुन थालेपछि विभागमो सेवाग्राहीको चाप केही कम भएको प्रवक्ता पराजुलीले बताए । उनका अनुसार सबै तथ्यांक तथा सूचनाहरु विभागको वेबसाईटमा पाईने भएपछि सूचना तथा जानकारी लिन आउनेको संख्यो घटेको छ । ‘हाल हाम्रो वेबसाईटमै धेरै जानकारी सम्प्रेषण हुने भएपछि सूचना लिनकै लागि आउने सेवाग्राहीहरु घट्नु भएको छ,’ उनले भने, ‘अब आगामी बर्षदेखि उद्योग दर्तासम्बन्धी सेवाग्राहीहरु पनि घटाउने योजना हाम्रो हो ।’

विभाग डिजिटलाइज्ड भएसँगै उद्योगको प्रमाणपत्र लिने, उद्योग दर्ताका लागि आवेदन दिने, उद्योग नवीकरण, प्रमाणीकरणलगायतका सम्पुर्ण कामहरु अनलाईनबाटै गर्न सकिने उनी बताउँछन् । हाल उद्योग विभागमा झण्झटिलो प्रक्रिया भएको भन्दै स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु दर्ताका लागि विभिन्न गुनासाहरु आउने गरेका छन् । विभाग पूर्ण डिजिटलाइज भए सबै काम अनलाइनमार्फत हुने भएकाले वैदेशिक लगानीका उद्योगहरु भित्र्याउनसमेत सहज हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL