Logo

तीजमा सुनको अभाव हुने अनुमान, सुन आयातको दैनिक कोटा १० किलोले बढाउन व्यवसायीको पहल

तीजमा सुनको अभाव हुने अनुमान, सुन आयातको दैनिक कोटा १० किलोले बढाउन व्यवसायीको पहल



काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा नेपालमा सुनको अभाव हुने अनुमान व्यवसायीहरुले गरेका छन् । सरकारले हाल दैनिक २० किलो सुन आयात गर्न पाउने गरी दिएको व्यवस्थाले नधान्ने व्यवसायीहरु बताउँछन् ।

हाल नेपाल राष्ट्र बैंकले नेपालमा दैनिक २० किलो सुन मात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि गत बर्षको कोरोना महामारी र रोकथामका लागि जारी गरिएकोे लकडाउनमा भने अर्थतन्त्रलाई सन्तुलित पार्ने भन्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाईने व्यवस्था गरिएको थियो । लकडाउन खुकुलो हुँदै गएपछि सुनको खपत र माग बढ्यो । व्यवसायीले दैनिक १० किलोको कोटाले तत्कालीन समयको मागलाई नधान्ने बताएपछि कोटा बढाएर प्रतिदिन २० किलो आयात गर्न पाउने व्यवस्था गरिएको थियो ।

सुन व्यवसायीहरुका अनुसार नेपालमा प्रतिदिन औषतमा २५ देखि ३० किलो सुन खपत हुने गरेको छ । वेमौसम अर्थात अफसिजनमा प्रतिदिन १० देखि १५ किलो र मौसम अर्थात सिजनमा सुनको खपत प्रतिदिन ३० देखि ४० किलोसम्म पुग्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सुनका लागि सिजन मानिने महिनामा बिहेको लगन हुने महिना, दशैँ तिहार र तीजलगायतका चाडपर्वहरु पर्दछन् । लगनको महिनाहरु बैशाख, मंसिर, माघ, फागुन महिना र चाडपर्वको महिनामा साउन, असोज र कार्तिम महिना पर्दछन् ।

यी महिनाहरुमा अन्य महिनाको तुलनामा बढि नै सुनको व्यापार हुने गर्दछ । यस्तो बेला कहिलेकाही प्रतिदिन सुनको खपत देशभर ४० किलोसम्म पुग्ने अध्यक्ष शाक्य बताउँछन् । तर, नेपालमा दैनिक २० किलोमात्रै आयात हुने सुनले यी महिनाहरुमा मागअनुसार आपुर्ति नहुने गुनासो बढ्दै गएको छ । त्यसैले महासंघले अब सिजनअनुसार सुन आयात गर्ने कोटा वृद्धि हुनुपर्ने माग विभिन्न निकायमा राखेको अध्यक्ष शाक्य बताउँछन् । ‘हाल सरकारले २० किलो प्रतिदिन मात्रै सुन आयात गर्न दिन्छ जसले अफसिजनलाई त राम्रै धानेको छ,’ उनले भने, ‘तर यही रेशियोले लगन र चाडपर्वको सिजनमा भने धान्दैन त्यो बेलामा कोटा बढाउनुपर्ने हुन्छ ।’

यसका लागि महासंघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा पहल गरिरहेको उनको भनाई छ । यस्तै नजिकिँदै गएको तीज पर्वमा पनि दैनिक ३० किलो खपत हुने अनुमान गरिएको छ । हालकै कोटाअनुसार सुन आयात भएको खण्डमा तीजमा सुनको ठुलो अभाव हुने उनी बताउँछन् । यो अभावलाई टार्न महासंघले नेपाल राष्ट्र बैंकसँग मौद्रिक नीतिमा व्यवस्था गर्न पहल गरेको उनले जानकारी दिए । ‘हालकै आयात कोटाले तीजको खपत धान्दैन यसका लागि हामीले दैनिक ३० किलो सुन आयात गर्न पाउनुपर्ने माग राखेका छौं,’ उनले भने, ‘हाल मौद्रिक नीति सार्वजनिकमा ढिलाई भएकाले यो निर्णय आउन समय लागेको छ, सम्भवतः हाम्रो माग पुरा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL