Logo

हिमालय एयरलाइन्सको स्पष्टोक्ति-‘सुविधा दिएका छौं, महँगो भाडा लिएका छैनौं’

हिमालय एयरलाइन्सको स्पष्टोक्ति-‘सुविधा दिएका छौं, महँगो भाडा लिएका छैनौं’



काठमाडौं ।  हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ । नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा असुली गरेको र होटल क्वारेन्टिनको समेत महङ्गो शुल्क लिएको भन्दै सर्वत्र विरोध आइरहेका बेला एयरलाइन्सले यस्तो बताएको हो । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सो सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

laxmi

‘हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्जालमा एयरलाइन्सले काठमाडौंदेखि दमामसम्मको उडानका लागि उच्च हवाइ भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको झुटो जानकारी र रिपोर्ट लेखिएर आरोप प्रत्यारोप लगाइएको जानकारी भएको छ । हिमालय एयरलाइन्सले अफवाह र आरोपहरूलाई सम्बोधन गर्दै मिडियामा प्रकाशित भएका समाचार तथा रिपोर्टहरू उचित तथ्य र प्रमाणीकरण बिना निराधार छापिएको हो भन्नेबारे स्पष्टीकरण गर्न चाहन्छौं ।’

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो । जसमा अपरिहार्य भाडा अन्तर्गत हवाई भाडा, प्रवासमा क्वारेनटाइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधासहित समावेश गरिएको थियो । सोही निर्देशिकाको पालनामा, हाम्रो एयरलाइन्सले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधाहरु सहितको बन्डल भाडा सुरु गरेको हो ।’

कम्पनीको बन्डल भाडामा भित्रको खर्चहरू : एयरलाइन्स आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खाना, डिनर सामेल) र दमाम आइपुग्दा गरिने २ पीसीआर परीक्षणको सुविधासमेत रहेको जनाएको छ ।

साउदी अरब सरकारको निर्देशिकाअनुसार, यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेन्टिन होटलमा बस्नुपर्ने नियम अनिवार्य भएकोले नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको कम्पनीले जनाएको छ । यसमा दमाामका लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्क ६०% र हवाई भाडा ४०% मात्र रहने समेत कम्पनीले स्पष्ट पारेको छ ।

हिमालय एयरलाइन्सले हवाई उडान सुचारु भएपश्चात साउदी अरबको दमाममा साप्ताहिक दुईवटा उडानहरू सञ्चालन गर्दै आइरहेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिन थालेपछि गरिएको निषेधाज्ञाअघि यस एयरलाइन्सले सेप्टेम्बर १, २०१७ सालदेखि दमाममा नियमित १० प्रत्यक्ष उडान सेवा प्रदान गर्दै आइरहेको थियो ।

भर्खरै उडानहरू पुनः सुरु भएपछि, दमाम, साउदी अरब उडान गर्ने यात्रुहरूको बहाव बढेकाले जुलाई ११, २०२१ देखि चार साप्ताहिक उडान सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL